२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव

वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव


काठमाडौं—मुलुककै जेठो वीर अस्पतालको नेतृत्व अब १२ औं तहको प्रमुख विशेषज्ञसहित ८ सय ३१* जनाको पुल दरबन्दी स्वीकृत भएको छ । २१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको जनशक्ति थप गरेको हो ।

‘स्वास्थ्य मन्त्रालय वा अन्तर्गत कायम रहेको प्रमुख विशेषज्ञ १२  औं तहको १ पदलाई पुल दरबन्दी कायम गरी वीर अस्पतालमा खटाउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘वीर अस्पतालमा साविकको ६८७ दरबन्दी कायम रही पुल दरबन्दी थप ८३१ हुनेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको दुई जना प्रमुख विशेषज्ञको दरबन्दीमध्ये एउटा दरबन्दी वीर अस्पतालमा पुल दरबन्दी बनाएर पठाएको हो । सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार यसअघि वीरमा रहेको ६८७ जनामा ८३१ जनाको पुल दरबन्दी थप गरेर १५१८ जना पु¥याइएको छ ।

१२ औं तहको प्रमुख विशेषज्ञको पुल दरबन्दी थपिएसँगै प्रशासनतर्फको पनि सहसचिवको दरबन्दी कायम गरिएको छ । यसअघि वीर अस्पताल प्रशासनतर्फका कर्मचारी नेतृत्व उपसचिव गर्दै आएका थिए । अब उपसचिवको ठाउँमा सहसचिवले वीर अस्पताल प्रशासनतर्फको नेतृत्व गर्नेछन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको यो प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदैं मन्त्रिपरिषद्को प्रशासन समितिबाट छलफल भएको थियो । त्यहाँबाट पास भएर मन्त्रिपरिषद्मा पुगेको उक्त प्रस्तावलाई २१ असारमा पास भएको हो ।

हाल स्वास्थ्य मन्त्रालयमा तीन जना प्रमुख विशेषज्ञ रहेका छन् । जसमध्ये एक जना स्वास्थ्य सेवा विभागको महानिर्देशक छन भने एक जना मन्त्रालयको नीति, योजना र गुणस्तर मापन हेर्दै आएका छन् । अर्का प्रमुख विशेषज्ञले जनसंख्या तथा समन्वय महाशाखाको नेतृत्व गरिरहेका छन् ।

मन्त्रिपरिषद्बाट पुल दरबन्दीमा एक जना प्रमुख विशेषज्ञको पद वीर अस्पताल गएसँगै एक जनाले मन्त्रालय, एक जना स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा रहनेछन् । अहिले मन्त्रालयमा प्रमुख तीन विशेषज्ञका रुपमा नीति, योजना र गुणस्तर महाशाखामा महेन्द्रप्रसाद श्रेष्ठ, जनसंख्या तथा समन्वय महाशाखामा डा. रोशन पोखरेल र विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह छन् ।


*यसअघि ८३१ पुल दरबन्दी थप हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ 


क्याटेगोरी : समाचार
ट्याग : #डा. दीपेन्द्ररमण सिंह, #डा. रोशन पोखरेल, #पुल दरबन्दी स्वीकृत, #प्रमुख विशेषज्ञ, #महेन्द्रप्रसाद श्रेष्ठ, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ