२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिकले ६ अर्ब लगानी थप्दै, २ हजारले रोजगारी पाउने

नर्भिकले ६ अर्ब लगानी थप्दै, २ हजारले रोजगारी पाउने

काठमाडौंमा सुपरस्पेशियालिटी हस्पिटल, भैरहवा र दुहबीमा दुई अस्पताल


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् ।

उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाबारे जानकारी दिइन् ।
सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिनेछ । सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ ।

यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैय्या तथा सुनसरीको दुहबीमा पनि १०० शैय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ ।

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने, ‘सम्भवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ,’ उनले थपे, ‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए ।

सो अवसरमा नर्भिकको नयाँ संचालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #६ अर्ब लगानी, #नर्भिक इन्टरनेशनल हस्पिटल, #मेघा चौधरी, #राजेन्द्रबहादुर सिंह, #सुपर स्पेसियालिटी अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ