२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको लापरवाहीः मुटुकाे नली बन्द भएका पाइलटलाई उडान भर्न सक्षमताको सिफारिस

चिकित्सकको लापरवाहीः मुटुकाे नली बन्द भएका पाइलटलाई उडान भर्न सक्षमताको सिफारिस


काठमाडौं—९ मंसिर साँझ ८ बजे । नेपाल वायुसेवा निगमको ९ एन एकेडब्लु एयरबस मलेसियाको क्वालालम्पुर उडान भर्ने तरखरमा थियो । उडान समय १० बजे थियो । सो उडानको मुख्य क्याप्टेन राकेशजंगबहादुर राणा थिए । कोभिड-१९ को कारण काठमाडौंबाट ३० यात्रु बोकेर उडान भर्ने तयारीमा थियो ।

क्याप्टेन राणालाई लिन गाडी उनको घरमा गएको थियो । तर, गाडी घरमा पुग्दा राणाको छातीमा अत्याधिक दुखाइ भएपछि उनलाई परिवारले अस्पताल लगिसकेका थिए । उनलाई लिन गएको गाडी रितै एयरपोर्ट फर्कियो । त्यसदिन राणा बिरामी भएर जान नसकेपछि मलेसिया उडान आधा घण्टा ढिलो भएको थियो । प्लेन मलेसियाका लागि उड्यो तर भोलिपल्ट अर्थात १० मंसिरमा अस्पतालले राणाको हृदयघातका कारण मृत्यु भएको घोषणा ग¥यो ।

राणाका हृदयघातका कारण मृत्यु हुनु दुखद् कुरा हो नै । उनको मृत्युले चिकित्सकको लापरवाहीका कारण एक वर्षसम्म नेपाल वायु सेवा निगमका एयरबसमा सवार सयौं यात्रुहरुको जोखिमपूर्ण यात्रा गरेको रहस्योद्घाटन भएको छ । हृदयघातका कारण मृत्यु भएका राणाको मुटु सम्बन्धि परीक्षण गर्दा एक वर्ष अगाडिदेखि नै गम्भीर समस्या रहेको पाइएको हो ।

तर, सो सम्बन्धि गरिएको परीक्षणमा रिपोर्ट सामान्य भनेर वीरेन्द्र सैनिक अस्पताल छाउनीका मुटुरोग विशेषज्ञ डा. ऋषि खत्रीले प्रमाणित गरिदिएपछि उनले एक वर्षसम्म नेपाल वायुसेवा निगमको सयौं यात्रु बोकेर एयरबस विभिन्न अन्तर्राष्ट्रिय उडान नियमित गरेका थिए । जबकी, अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियममा पाइलटहरुको प्रत्येक ६/६ महिना स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने नियम छ । उक्त स्वास्थ्य परीक्षणका मुटु र दिमाग सम्बन्धि समस्या देखिएमा उनीहरुको पूर्ण उपचार नगरी उडानमा सामेल गराउन पाइदैंन् ।

क्याप्टेन राणाको मुटु सम्बन्धि परीक्षण गर्दा एक वर्षअघि नै रिपोर्टमा टिएमटी (मुटुको नलीमा बन्द भएको छ/छैन भन्ने हेर्ने) पोजेटिभ देखिएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानका कार्डियोथोरासिक सर्जन डा. अनिल भट्टराई टिएमटी पोजेटिभ देखिएका बिरामीको तत्कालै एन्जिओग्राम गर्नुपर्ने बताउँछन् । ‘टिएमटी पोजेटिभ देखिएमा भल्ब खोल्नका लागि तत्कालै एनजिओग्राम गर्नुपर्छ,’ डा. भट्टराई भन्छन् । तर, डा. खत्रीले क्याप्टेन राणाको उपचार प्रक्रियामा जानुको साटो टिएमटीमा कुनै समस्या नभएको भन्दैं रिपोर्ट दिएका थिए ।

तर, चिकित्सकको चरम लापरवाहीका कारण क्याप्टेन राणाले एक वर्षसम्म नियमित उडान भरेका थिए । ९ मंसिरमा एयरबस लिएर मलेसिया उडान भर्ने तयारीमा रहेका राणालाई एक्कासी छाती दुखेपछि सो उडान आधा घण्टा ढिलो गरी अर्का पाइलोटले लिएर गएका थिए । र, राणालाई उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा लगिएको थियो । राणाको १० मंसिरमा हृद्धयघातका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

क्याप्टेन राणाको परीक्षण सम्बन्धि सबै कागजात हेर्दा गम्भीर चिकित्सकीय त्रुटि पाइएको मेडिकल काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. कृष्ण अधिकारीले जानकारी दिए । चिकित्सकीय त्रुटि भएकै एक वर्षसम्म डा. खत्रीले मुटु सम्बन्धि रोगको उपचारमा संलग्न हुन नपाउने र एक वर्षपछि पनि उनी काममा फर्किनका लागि विज्ञ कार्डियोलोजिष्ट मातहतमा काम गरेको प्रमाण काउन्सिलमा पेश गर्नुपर्नेछ ।

घटना  के हो ?
क्याप्टेन राणाको मृत्यु हुनु एक वर्षअघि नेपाल एयरलाइन्सले पाइलटहरुको स्वास्थ्य परीक्षण गराएको थियो । त्यसबेला एयरलाइन्सले डा. राजीव देवको नेतृत्वमा मेडिकल टिम नियुक्त गरेको थियो । डा. देवको टिमले डा. ऋषि खत्रीले राणाको स्वास्थ्य परीक्षण गरी दिएको रिपोर्टलाई सदर गरी ‘फिट टु फ्लाइट’ सिफारिस गरेको थियो ।

सोही रिपोर्ट लिएर राणाले एक वर्षसम्म नियमित उडान गरिरहे । जब प्लेन लिएर क्वालालाम्पुर जानु दुइ घण्टा अघि हृदयघात भएर अस्पताल पु¥याएको भोलिपल्टै मृत्यु भयो । त्यसको एक हप्ता पछाडि अंग्रेजी दैनिक द हिमालय टाइम्सले ९ फ्रेबुअरी २०२१ मा ‘पाइलट्स डेथ फ्लाइज इन द फेस अफ नेपाल एभिएसन सेफ्टी क्लेमस’ शीर्षकमा समाचार प्रकाशित ग¥यो ।

सो समाचार प्रकाशित भएपछि क्याप्टेन राणाको परिवारले नेपाल मेडिकल काउन्सिलमा छानविनका उजुरी हाल्यो । उक्त उजुरीमाथि नेपाल मेडिकल काउन्सिलले राणाको परीक्षण रिपोर्ट मगाएर पाँच जना नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञहरुलाई अध्ययन गर्न दियो ।

पाँचै जना विज्ञ मुटुरोग विशेषज्ञहरुले क्याप्टेन राणाको टिएमटी (मुटुको नलीमा बन्द भएको छ÷छैन भन्ने हेर्ने) परीक्षण पोजेटिभ देखिएको जवाफ दिएका थिए । उनीहरुलाई टिएमटी रिपोर्टमा देखिएको पोजेटिभिटीका आधारमा कुनै पनि पाइलट, बन्जी जम्पर वा स्काई ड्राइभिङ गर्न मिल्ने कि नमिल्ने भनेर सोधिएको थियो । पाँचै जना विज्ञले रिपोर्टमा देखिएको समस्याअनुसार त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई सम्बन्धित काम गर्नबाट तत्कालै रोक्नुपर्छ भनेर रिपोर्ट लेखेका थिए ।

विज्ञहरुको रिपोर्टका आधारमा राणाको मुटु सम्बन्धि समस्याको परीक्षण रिपोर्ट दिने डा. खत्रीलाई काउन्सिलले गम्भीर त्रुटि के कारणले भएको हो भनेर काउन्सिलमा नै बोलाएर बयान लिएको थियो । तर, उनले डा. खत्रीले लेखेको रिपोर्टमा त्रुटि नहुने नेगेटिभ लेखेपछि नेगेटिभ नै हुने र पोजेटिभ हुनै नसक्ने दावी गरेका थिए ।

काउन्सिलको उनले दिएको जवाफ चित्तबुझ्दो नभएपछि एक वर्षसम्म मुटु सम्बन्धि रोगको उपचारमा संलग्न हुन नपाउने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ