२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीको मृत्युपछि अस्पताल तोडफोड

बिरामीको मृत्युपछि अस्पताल तोडफोड

आरोपमा सात जना पक्राउ


विराटनगर- विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि आएका एक जना बिरामीको मृत्यु भएपछि अस्पतालम तोडफोड भएको छ । पिलोको शल्यक्रिया गरिएको विरामी मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित भएका बिरामीका आफन्तले सोमबार राती अस्पताल तोडफोड गरिदिएका हुन् ।

मलद्धारमा रहेको पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्त राति १०ः१५ बजेतिर तोडफोडमा उत्रिएको अस्पतालले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको हो ।

अस्पताल र चिकित्सकले लापरवाही पूर्ण तरिकाले उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल तोडफोड गरिदिएका हुन् । उनीहरूले लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग राख्दै गएराती नाराबाजी गरेका थिए ।

हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमबार साँझ शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेको कारणले अस्पतालले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्य अवस्था थप खराब बनेर हुसेनको भेन्टिलेटरमै राति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

बचाउन सक्दो प्रयास गर्दा गर्दै पनि सकिएन : अस्पताल
भर्ना हुँदा बिरामीको अवस्था गम्भीर भएकोले चिकित्सकले बचाउन कोशिश गर्दा गर्दै पनि बचाउन नसकिएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बताए । उनका अनुसार शरीरका धेरै अंगले काम गर्न छाडिसकेका कारण भर्ना गर्दा नै बिरामीको अवस्था गम्भीर थियो ।

‘मृगौला र मुटुले काम गर्न छाडिसकेको थियो । न्यून रक्तचाप र मधुमेहको पुरानै समस्या पनि रहेछ,’ अस्पतालका प्रशासकीय अधिकृत मेहताले भने, ‘त्यहाँमाथि मलद्धारमा पिलो आएको रहेछ । त्यही घाउका कारण संक्रमण फैलिएर शरीरका अरु अंगले काम गर्न छाडेको जानकारी चिकित्सकले दिएका छन् ।’

उनका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएका बिरामीको शरीरका अरु अंगमा फैलँदै गएको संक्रमण रोक्न पनि घाउ (पिलो) को शल्यक्रिया गर्नैपर्ने थियो । ‘शल्यक्रिया गरेर बचाउन धेरै प्रयास गरिएको भए पनि सम्भव भएन,’ अस्पतालका प्रशासकीय अधिकृत मेहताले भने, ‘मलद्धारको घाउका कारण बढ्दो संक्रमणले ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु नै भयो ।’

बिरामीको मृत्युपछि अस्पताल तोडफोड
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतक परिवारका सदस्य र आफन्तले अस्पताल तोडफोड गरिदिएका छन् । २५/३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउण्टरको दुईवटा झ्यालमा क्षति पुगेको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिए ।

तोडफोडबाट अस्पतालको काउण्टरको झ्यालका सिसा फुटेको उनले बताए । उनकाअनुसार आक्रोशित भिड कर्मचारी र सुरक्षागार्डलाई समेत कुटपिट गर्दै तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था निक्कै बेर तनावग्रस्त बन्यो ।

अस्पताल तोडफोड गरेको आरोपमा सात पक्राउ
अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ । तोडफोड र कुटपिटमा संलग्न भएका आरोपमा सात जनालाई सोमबार राति प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेर रहेको छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अस्पताल, #गोल्डेन अस्पताल, #तोडफोड, #मृत्यु, #विरामी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ