२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएस इन्ट्रान्स टपर आशिक, जो कक्षा १ देखि नै सरकारी स्कुल पढे

एमबीबीएस इन्ट्रान्स टपर आशिक, जो कक्षा १ देखि नै सरकारी स्कुल पढे

जसको स्नायुरोग विशेषज्ञ बन्ने धोको छ


११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही-१० का आशिक झा । २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी ।

बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने । सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए ।

आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’ त्यही कुरा बुवाले पनि उनलाई भने ।

धनुषा सबैला सामान्य परिवारमा वि.सं. २०६० जन्मिएका हुन्, आशिक । उनका बुवा पवननारायण झा सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । आमा घरव्यवहारमा तल्लीन थिइन् । किसान परिवारमा जन्मेका उनको घरबाट जनकपुर पुग्न झण्डै ५० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ ।

तीन वर्षको हुँदा पहिलो पटक उनी धनुषाको आफू जन्मिएको गाउँबाट जनकपुर आए । जनकपुरमै उनको प्रारम्भिक अध्ययन अगाडि बढ्यो । पछि उनका बुवा जागिरको क्रममा उदयपुर गए । उनी बुवासँगै त्यही गए । त्यहाँको पन्चावती माविमा कक्षा ७ सम्म अध्ययन गरे । त्यसपछि पुनः जनकपुर फर्किए । जनकपुरको श्री माविबाट आशिकले वि.सं. २०७४ सालमा एसईई उत्तीर्ण गरे । ‘एसएलसीमा ३.७ जिपीई ल्याए,’ उनले भने ।

त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । आर्थिक रुपमा पारिवारिक पृष्ठभूमी कमजोर थियो । ‘मैले सेन्ट जेभियर्समा पनि नाम निकालेको थिएँ,’ उनले सुनाए, ‘तर, महंगो भएपछि म विश्व निकेतनमा भर्ना भए ।’ सामुदायिक विद्यालयहरुमाझ फरक छवि र उत्कृष्ट मावि हो विश्व निकेतन । ११ र १२ कक्षाको अध्ययन उनले जम्मा २८ हजार रुपैयाँमै सके । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७३ जीपीई ल्याएका छन् ।

१० कक्षाबाटै चिकित्सक बन्ने सपना

कक्षा १० मा पढ्ने बेलादेखि नै आशिकले चिकित्सक बन्ने सपना बुन्न थालेका थिए । ‘मैले एमबीबीएस पढ्छु भनेर संकल्प लिएको १० कक्षा पढ्दै गर्दा हो,’ शुक्रबार मध्यान्ह हेल्थआवाजसँग उनले भने, ‘त्यसबेला मेरो दाइ एमबीबीएस इन्ट्रासको तयारी गर्दै हुनहुन्थ्यो । उहाँ अहिले आयुर्वेद शिक्षा पढिरहनु भएको छ ।’

११ र १२ कक्षाको पढाइ नसक्दैं उनले चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेका हुन् । ‘स्कुलले पनि मलाई कक्षा ११/१२ को पुस्तक सित्तैमा प्रदान गर्नुभयो । सरहरुले पनि गाइड गर्नु भयो,’ उनले आफ्नो सफलताको रहस्य खोले, ‘मैले त्यसरी पढे । भन्छन नि ‘क्वान्टिटी डज नट म्याटर्स, क्वालिटी म्याटर्स’ । एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन नपढ्को उनी सुनाउँछन् ।

‘धेरै दिन त मैले १ घण्टा पनि पढिन होला । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर मैले पढेको हुँ । नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी इन्ट्रान्स टप गर्ने आफ्नो फर्मुला सुनाउँछन्, ‘आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केहि पनि होइन ।’

न्युरोमा विशेषज्ञता हासिल गर्ने धोको

आशिकको टार्गेट एमबीबीएसको २ सय पूर्णांक नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार पारे । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिए,’ उनले भने, ‘त्यसमा सफल पनि भएँ ।’ अब उनी धेरैजसो एक्सीलेन्स चिकित्सक जन्माउने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछन् ।

एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । ‘किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले तर्क गरे, ‘मैले त्यहाँ अवसर बढी पाउछुजस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’ उनी एमबीबीएसपछि कम्तिमा पनि आफू ४ वटा जति विशेषज्ञता लिने दावी गर्छन् ।

‘एउटा मात्र विशेषज्ञता लिन्नँ । चिकित्सा व्यवस्थामामा परिवर्तन ल्याउनको लागि कम्तिमा पनि ३—४ वटामा विशेषज्ञता हासिल गर्छ,’ उनले भने, ‘सबैभन्दा पहिले म न्युरोलोजीमा विशेषज्ञता लिन्छु । यसले मानिसको दिमागलाई बुझ्न सिकाउँछ । ३३ प्रतिशतभन्दा बढी व्यक्तिलाई मानसिक रोग हुन्छ । यस्ता कुराहरुलाई अनुसन्धान गरेर समाधान गर्न सकियो भने त्योभन्दा ठूलो उपलब्धि केही हुँदैन् ।’

भविष्यमा अध्ययनबाहेक विदेश नजाने दृढ संकल्प आशिकमा मा छ । भन्छन्, ‘म अवसर आएपनि नेपाल छाडेर जान्न । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’

विश्व निकेतन माध्यमिक विद्यालयका प्राधानाध्यापक

विश्व निकेतनका प्राधानाध्यापक हेरम्बराज कँडेल वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण माविले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको पहिलो एकीकृत प्रवेश परीक्षामै सार्वजनिक स्कुलका विद्यार्थीले टप गरे,’ उनले भने, ‘यसले सरकारी र सामुदायिक स्कुललाई गौरव गर्ने अवसर दिएको छ ।’ कँडेलले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण आशिकले इन्ट्रान्स टप गरेको बताए ।

 

 

यो पनि हेर्नुहोस

एमबीबीएस इन्ट्रान्स टपरसँग भिडियो वार्ताः म कहिल्यै पनि ५ घण्टाभन्दा बढी पढिन


क्याटेगोरी : समाचार
ट्याग : #आशिक झा, #इन्ट्रान्स टपर, #एमबीबीएस, #विश्व निकेतन माध्यमिक विधालय, #हेरम्बराज कँडेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ