२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ इन्ट्रान्स टपर भोजकुमारी (संगीता), २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्

नर्सिङ इन्ट्रान्स टपर भोजकुमारी (संगीता), २० वर्षको उमेरमै लोकसेवा पास गरेकी थिइन्


काठमाडौं–चिकित्सा शिक्षा आयोगले शनिबार राति नर्सिङ र फार्माको स्नातक तहको लागि लिएको एकीकृत प्रवेश परीक्षाको परिक्षाफल प्रकाशित ग¥यो । जसमा १३ सय ८० जना नर्सले व्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययनको लागि नाम निकाले । १३ सय ८० जनामध्ये पहिलो नम्बरमा नाम निस्कियो स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्माको । उनले २ सय पुर्णांकमा १ सय ५६ नम्बर ल्याइन् ।

हाल नेपाल सरकारअन्तर्गत नर्सिङ स्टाफको रुपमा काम गरिरहेकी भोजकुमारी शर्मा अर्थात संगीता काफ्लेलाई हेल्थ आवाजले आइतबार दिउँसो मोबाइल फोनमा सम्पर्क गर्दा उनी स्याङजाको वालिङमा रहेको गह्रौ प्राथमिक अस्पतालमा सर्वसाधारणलाई कोभिड–१९ विरुद्धको खोप लगाइरहेकी थिइन् । उनले तत्काल आफू कुराकानी गर्न नभ्याउने बताएपछि हेल्थ आवाजले ५ बजे पुनः सम्पर्क ग¥यो ।

आइतबारको खोप अभियानपछि गरिएको कुराको सुरुवातीमा नै आफूले पहिलो नम्बरमा निकाल्छु होला भन्ने कल्पना नै नगरेको बताइन् । ‘छात्रवृत्तिको लागि नाम निकाल्छु होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर पहिलो नम्बरमा नै नाम निक्लन्छ भन्ने सोचेको थिइन् ।’

उनको पहिलो नम्बरमा नाम निस्किएको काठमाडौंमा अध्ययन गरिरहेका भाइले उनलाई सुनाएका थिए । तर, उनी आफैलाई पत्यार लागेन । त्यसपछि भाइले स्क्रिनसट नै पठाएपछि उनलाई पत्यार लाग्यो । हुन त सानैदेखि पढाइमा अब्बल रहेकी संगीता मेहनत गरेमा सफल भइन्छ भन्ने मान्यता राख्छिन् । यस पटकको इन्ट्रान्समा पनि आफूले मेहनतकासाथ पढेका कारण पहिलो नम्बरमा नाम निस्किएको बताउँछिन् । ‘मेहनत गरेर अध्ययन गरेपछि नाम निकाल्न गाह्रो छैन्,’ उनी भन्छिन्, ‘परिश्रम गरेपछि फल आउँछ ।’

पिसिएल पनि छात्रवृत्तिमै

संगीताको जन्म वि.सं. २०५३ सालमा स्याङजाको अर्जुनपोखरीको सामान्य कृषक परिवारमा भएको हो । उनकी आमा जानुका काफ्ले र पिता खेमनारायण काफ्ले अहिले पनि सोही ठाउँमा खेतिपाती गरिरहेका छन् । एक बिहिनी र एक भाइकी जेठी दिदी संगीतका प्रारम्भिक शिक्षा स्थानीय सरस्वती आधारभूत विद्यालयबाट सुरु भएको हो । कक्षा ५ सम्म सोही विद्यालय पढेकी उनी कक्षा ६ अध्ययनका लागि छिमेकी जिल्ला पर्वतको जन विकास माविमा भर्ना भइन ।

४ वर्ष घरबाट ४५ मिनेट पैदल यात्रा गरी उनले वि.सं. २०६८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् र काठमाडौं आइन् । एसएलसी उतीर्ण गर्दासम्म उनलाई कुन विषय पढ्ने भन्ने निक्र्यौल थिएन ।

काठमाडौं आएकै बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसले नर्सिङ अध्यापन गर्न चाहनेको लागि आह्वान ग¥यो । भर्खरै प्रथम डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी संगीता काफ्ले अर्थात भोजकुमारी शर्मालाई पनि फारम भरिहालम न त भन्ने लाग्यो । फारम भरेर परीक्षा दिइन् । नाम निस्कियो त्यो पनि पूर्ण छात्रवृत्तिमा । त्यसपछिमा वि.सं. २०७२ सालसम्म उनले त्रिवि शिक्षण अस्पताल हातामा रहेको सोही क्याम्पसबाट नर्सिङको प्रवीणता प्रमाणपत्र तह (पिसिएल) पूरा गरिन ।

पहिलो ट्राइमै सरकारी जागिर

पिसिएल पूरा हुनासाथ उनले त्रिवि शिक्षण अस्पतालमा एक वर्ष करारमा जागिर गरिन । करारमा काम गरिरहेका बेला संगीताले लोकसेवा पनि तयारी गरिरहेकी थिइन् । संयोगबस लोकसेवा पनि खुल्यो । लोकसेवा खुलेसँगै उनले आवेदन दिइन । पढाइमा अब्बल उनले नाम ननिकाल्ने कुरै थिएन । २० वर्षको उमेरमै उनी सरकारी सेवामा प्रवेश गरिन । ‘पहिलो पटक लोकसेवा दिएकी थिएँ त्यही बेला नाम निस्कियो,’ उनी भन्छिन्, ‘मैले मेहनत पनि गरेकी थिएँ ।’

सरकारी जागिरको सुरुवात उनले राष्ट्रिय ट्रमा सेन्टरबाट गरिन । २ वर्ष त्यहाँ काम गरेपछि उनलाई आफ्नै गाउँमा गएर सेवा गर्न मन लाग्यो । तर, आफ्नो गाउँमा उनको दरवन्दी नभएको कारण मौका पाइनन् । आफ्नो गाउँसँगै जोडिएको छिमेकी जिल्लाको लुंखु प्राथमिक स्वास्थ्य चौकी पुगिन् । जहाँ उनले २ वर्ष काम गरिन ।

२ वर्ष काम गर्दा उनलाई त्यो ठाउँ छोड्न मनै लागेको थिएन । तर, स्वास्थ्यको कर्मचारी समायोजनका क्रममा उनले काम गर्ने स्थानमा अरु नै आएपछि उनले त्यो ठाउँ छोड्नुप¥यो । त्यहाँ छोडदा हाल कार्यरत स्याङजाको वालिङमा रहेको गह्रौ प्राथमिक अस्पताल कर्मथलो बन्न आइपुग्यो । जुन ठाउँ उनको घरबाट लुङ्खु गएभन्दा पनि टाढा पर्छ । ‘मलाई त लुङ्खु नै बस्न मन थियो, घरबाट नजिक पनि थियो,’ उनले भनिन्, ‘समायोजनपछि यहाँ आउनै प¥यो ।

विएन इन्ट्रान्स टपर

वि.सं. २०७२ सालमा पिसिएल नर्सिङ सकेकी संगीतालाई विएन सुरु गर्न सरकारी सेवाले ६ वर्ष रोक्यो । प्रतीक्षाको फल मिठो हुन्छ भने झै ६ वर्षपछि पढ्ने पालो आउँदा उनले पहिलो नम्बरमा नै नाम निकालेर मिठो फल पाएकी छन् ।

सरकारी जागिरे भएपछि सरकारका नियममा बाँधिनु सामान्य रहेको उनको बुझाइ छ । ‘सरकारी जागिर खाएपछि सरकारको नियम मान्नै पर्छ,’ संगीता भन्छिन्, ‘अध्ययन विदा मिलाउनका लागि केही समय कुर्नु प¥यो । तर, कुरेको समयले नतिजा सुखद पनि दियो ।’


क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सा शिक्षा आयोग, #त्रिभुवन विश्वविद्यालय, #नर्सिङ इन्ट्रान्स टपर, #भोजकुमारी, #लोकसेवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ