२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओली सरकारले ९७ लाख खोप मात्रै ल्याएको हो, अहिलेको सरकारले ७५ लाख मगाएको छ : स्वास्थ्य राज्यमन्त्री

ओली सरकारले ९७ लाख खोप मात्रै ल्याएको हो, अहिलेको सरकारले ७५ लाख मगाएको छ : स्वास्थ्य राज्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पूर्ववर्ती नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ९७ लाख खोप मात्रै ल्याएको बताएका छन् । बिहीबार संसदमा बोल्दैं राज्यमन्त्री श्रेष्ठले अहिलेको सरकारले ९७ लाख खोप मगाएको बताए ।

‘पूर्ववर्ती सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको हो । १८ महिनामा असार मसान्तसम्म ४२ लाख जनतालाई मात्र उपलब्ध गराइएको थियो,’ उनले भने, ‘नयाँ सरकार आएपछि ७५ लाख खोप मगाइएको छ । वर्तमान सरकारले खोपलाई एउटा अभियानका रुपमा अगाडि बढाउँदैं एक दिनमा १ लाख ५० हजारदेखि २ लाख लगाउने अभियान थालनी गरेको छ ।’

खोप आयात, भण्डारण र वितरण गरी नेपाली जनताको जीवन रक्षालाई राष्ट्रिय अभियानका रुपमा बढाएको बताउँदैं उनले कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने जानकारी सदनलाई गराएका छन् ।

राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको बचाए । जुन ३३ प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप लगाउने कार्यक्रम प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

स्वास्थ्य राज्यको दायित्व भएको उल्लेख गर्दै उनले यसमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदैं अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने बताए ।

आर्थिक गतिविधी र जनघनत्व भएका स्थानमा खोप छुट्टै व्यवस्थापन गरिने उनले जानकारी दिए । बढी संक्रमित भएका १५—१६ जिल्लामा खोपलाई विशेष प्राथमिकता दिइने उनको भनाइ थियो ।

लामो समयदेखि रोकिएको पठनपाठन कार्यलाई अगाडि बढाउन किशोर—किशोरी लक्षित फाइजर—मोर्डनाको खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको श्रेष्ठले बताए ।

उनले हालसम्म खोप १ करोड ८ लाख ६० हजार १ सय ७० डोज खोप प्राप्त भएको जानकारी दिए । यस्तै, हालसम्म निश्चित भएको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५० डोज रहेको बताए । माघसम्म ३ करोड २३ लाख डोज थप खोप प्राप्त हुने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #राज्यमन्त्री उमेश श्रेष्ठ, #स्वास्थ्य तथा जनसंख्या


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ