२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ सय ५० शैय्याको अस्पताल हाँक्नेछन् २८ वर्षीय युवा सिईओ डा. मुकुल

१ सय ५० शैय्याको अस्पताल हाँक्नेछन् २८ वर्षीय युवा सिईओ डा. मुकुल


डा. मुकुल ढकाल । उर्जावान युवा चिकित्सकमा पर्छन् । विकट कालिकोटमा हालै निर्माण सकिएको रास्कोट सामुदायिक अस्पताल निर्माणका मुख्य परिकल्पनाकार र संस्थापकका समेत हुन्, उनी । अहिले २८ वर्षकै उमेरमा तिनै डा. मुकुल ललितपुरको मेघा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका छन् । युवा उमेरमै अस्पताल व्यवस्थापनको उच्चतहको जिम्मेवारी पाएको भोलिपल्ट बिहीबार अपरान्ह उनी हेल्थआवाजसँग गफिन तयार भए ।

हेल्थआवाजसँगको बसाइँमा उनले आफ्नो पृष्ठभूमीदेखि, अत्याधुनिक रास्कोट सामुदायिक अस्पताल निर्माणको कथा हुँदै मेघा अस्पतालको सिइओ हुँदासम्मको वृतान्त सुनाए । डा. मुकुल वि.सं. २०५० सालमा पूर्वी नेपालको औधोगिक नगरी विराटनगरमा जन्मिएका हुन् । भोलानाथ ढकाल र जानुका ढकाल दुई सन्तानमध्ये उनी कान्छा हुन् । उनका एकजना दाजु अहिले अमेरिकामा छन् ।

राम्रै पारिवारिक विरासतमा जन्मिएका डा. मुकुलको प्रारम्भिक शिक्षादीक्षा विराटनगरमा भएको हो । त्यसपछि उनको पढाइ काठमाडौंमा भयो । सानैदेखि पढाइमा अब्बल डा. मुकुलले वि.सं. २०६५ सालमा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरेका हुन् । वि.सं. २०६७ सालमा उनले ह्वाइट हाउस कलेजबाट विज्ञानमा डिस्टिङसन ल्याएर प्लस टु उत्तीर्ण गरेका हुन् ।

एमबीबीएस इन्ट्रान्समा नाम निस्किएपछि उनी काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा एमबीबीएस अध्ययन गर्न थाले । सन् २०१७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस सकेपछि आस्क फाउन्डेसनमा मेडिकल कोअर्डिनेटरको रुपमा काम गर्न थाले । त्यही क्रममा उनले हस्पिटल म्यानेजमेन्टमा पोखरा युनिभर्सिटीबाट मास्टर्स गरे । ‘मैले पोखरा विश्वविद्यालयबाट हस्पिटल म्यानेजमेन्टमा माष्टर्स गरेको छु,’ उनले भने, ‘विभिन्न कामको व्यस्तताले थेसिस बुझाउने क्रममा नै छु ।’

डा. मुकुल त्यही क्रममा पिएचडी गर्न विदेश जाने योजनामा थिए । ‘मेरो योजना पीएचडी गर्न विदेश जाने थियो,’ उनले सुनाए, ‘आजभन्दा ४ वर्षअघि बाहिर जाने प्रक्रिया सुरु गरेको पनि थिएँ ।’ तर, बीचकै स्वास्थ्यमा समस्या देखिएकाले त्यो योजना स्थगन भयो ।

रास्कोट सामुदायिक अस्पतालका परिकल्पनाकारदेखि मेघाको सिइओसम्म

डा. मुकुल आफू काम गर्ने आस्क फाउण्डेसनकै एक कार्यक्रम क्रममा सन् २०१७ को नोभेम्बरमा जुम्ला पुगेका थिए । त्यहीबाट कालिकोट आए । ‘जुम्लामा आँखाको मोतिविन्दुको शिविरका लागि १४ जना डाक्टरको टोली लिएर गएको थिए,’ उनले भने, ‘शिविरपछि म कालिकोट गए । त्यहाँको टेलिमेडिसिन हेर्ने क्रममा मलाई रास्कोटका मेयरले टेलिमेडिसिन खोल्न प¥यो भन्ने कुरा गर्नुभयो ।’

रास्कोट वरपर ठूला गाउँ र नजिकै पनि बाक्लो बस्ती भएको ठाउँ थियो । तर, स्वास्थ्य सेवाका लागि सामान्य अस्पताल पनि थिएन । डा. मुकुलले मेयरलाई टेलिमेडिसिन सेन्टर होइन्, अस्पताल नै खोल्न सुझाव दिए । कालिकोटबाट फर्किएपछि उनलाई सन् २०१७ को डिसेम्बरमा थाइराइडको क्यान्सर देखियो । त्यससँगै सन् २०१८ को फागुनमा विदेश जाने गरी अगाडि बढाएको तयारी स्थगन गर्नुपर्ने भयो । ‘क्यान्सर लागेपछि मैले सबै कुरा छाडे,’ उनले भने, ‘मलाई त्यतिखेर पढाइ, करिअर केही पनि होइन्, अब बाँच्नुपर्छ भने लाग्यो ।’

क्यान्सर भएको थाहा पाएपछि उनले त्यसको उपचार सुरु गरे । सन् २०१८ को जनवरीको एकदिन । डा. मुकुल उपचारकै क्रममा थिए । उनी आफैले रास्कोटमा अस्पताल बनाउने स्वः घोषणा गरे । ‘उपचारकै क्रममा मैले त्यहाँ अस्पताल बनाउने स्वःघोषणा गरे,’ उनले भने, ‘मैले त्यसका तयारी पनि अगाडि बढाए ।’ रास्कोटका स्थानीयले रास्कोट सामुदायिक अस्पतालको दर्ता गरेछन् । समुदायले त्यस अस्पतालको पहल ग¥यो । ‘मैले अस्पताल बनाउने अभियानमा रहेको फेसबुक पेज बनाए,’ उनले भने, ‘मैले कसैसँग पैसा मागिन र मैले अभियानमा रहेको र यो मात्रै शेयर गर्दिन अनुरोध गरे ।’

अलिअलि गरेर त्यो पेजबाट कालिकोटको रास्कोटजस्तो विकट ठाउँमा हस्पिटल बनाउने कुरा सेयर हुँदै गयो । कालिकोटकै एकजना नर्स, जो हाल अष्ट्रेलिया छन्, उनले १ लाख दिइन् । सो रकम बोकेर डा. मुकुल सामुदायिक अस्पताल बनाउने परिकल्पना लिएर कालिकोट गए । नगरपालिकाले नै त्यसको लागि जग्गा उपलब्ध गरायो । २०७५ सालबाट चैतबाट सामुदायिक रास्कोट अस्पताल सञ्चालन ल्याए । उक्त अस्पतालमा निर्देशकका रुपमा दुई वर्ष काम गरे ।

त्यसबीचमा नयाँ अस्पताल निर्माणका लागि पहल अगाडि बढाए । काठमाडौं आएर पत्रकार रवि लामिछानेसँग २/३ पटक कुरा गरे । रवि पनि उनको अभियानमा साथ दिन तयार भए । ‘८— ९ करोडमा अस्पताल बन्ने र संचालनका लागि ३ करोड जति लाग्ने गरी प्रक्षेपणका साथ योजना अगाडि बढाइयो,’ उनले भने, ‘तर, विविध कारणले अस्पताल निर्माण र सञ्चालन गरी झण्डै १२ करोड बढी लागत पर्न जाने देखिएको छ ।’ अस्पताल निर्माण अवधिभर डा. मुकुल कहिले काठमाडौं र कहिले कालिकोटको रास्कोट धाइरहे । धेरै समय उनी अस्पताल निर्माणस्थलमै बसे । उनले यातायात खर्चबाहेक तलब लिएनन् । बरु, केही तालिम, गोष्ठी, सेमिनार र काठमाडौंमा रहेका बेला क्लिनिकमा काम गरेर आफ्नो खर्च जुटाए । ३ वर्ष केही नगरेर आफ्नो खर्च मात्रै जुटाएर उनी रास्कोट अस्पताल निर्माणमा फुलटाइम खटिए ।

०७६ माघबाट अस्पताल निर्माणको काम अगाडि बढाइयो । तर, कोभिड—१९ लगायत विविध कारणले अस्पतालको निर्माण कार्य तोकिएको समयमा पूरा भएन् । जसका कारण वि.सं. २०७७ चैतबाट सञ्चालनमा ल्याइएको अस्पताल ३१ चैत्रमा नगरपालिका हस्तान्तरण गरियो । अस्पतालमा १२ वटा भवनहरु छन् । इमर्जेन्सीमा ५ वटा बेड छन् । इमर्जेन्सीमा वार्डमा आइसोलेसन वार्ड पनि बनाइएको छ । ‘सबै मिलाएर २३ बेड क्षमताको अस्पताल छ,’ उनले भने, ‘त्यसमध्ये सबै बेडमा सञ्चालनमा आउन केही समय लाग्छ ।’ अस्पताल अहिले एक जना मेडिकल अधिकृतसहित १५ जना जनशक्ति कार्यरत छ । अस्पताललाई अहिले नगरपालिकाले नै हेरिरहेको छ । यसअघि भूकम्पका बेला यी मनकारी चिकित्सकले नुवाकोटमा दुई वटा स्कुल समेत आफ्नै पहलमा निर्माण गरेका थिए ।

रास्कोट सामुदायिक अस्पताल निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेपछि डा. मुकुल आफ्नो गृहनगर विराटनगर फर्किए । त्यही क्रममा कोभिड—१९ को दोस्रो लहर सुरु भयो । जसका कारण उनले केही महिना घरमै समय बिताए । त्यसपछि काठमाडौं फर्किएपछि यी उर्जाशील युवा चिकित्सकलाई मेघा अस्पतालमा काम गर्ने प्रस्ताव आयो ।

‘हस्पिटल म्यानेजमेन्ट पढेको हुँदा यता आउने वातावरण बन्यो,’ उनले भने, ‘हिजो (बुधबार)देखि मैले प्रमुख कार्यकारी अधिकृतका रुपमा मेघा अस्पताल ज्वाइन गरे ।’ मेघा अस्पताल १ सय ५० शैय्या स्वीकृत पाएको अस्पताल हो । अस्पतालमा अहिले शल्यक्रिया नियमित भइरहेको उनले बताए । ‘अस्पतालमा विशिष्ट र जनरल सेवाहरु छन्,’ उनले भने, ‘जिम्मेवारी आएको छ । अब यसलाई नयाँ उचाइमा लैजानका लागि लाग्छु ।’ क्यान्सरलाई जितेर पुनः काममा उर्जावान भएर सक्रिय भएका डा. मुकुलले मेघा अस्पताललाई फरक स्वरुपमा ढाल्ने योजनामा आफू रहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #कालिकोट, #डा. मुकुल ढकाल, #प्रमुख कार्यकारी अधिकृत, #मेघा अस्पताल, #रवि लामिछाने, #रास्कोट सामुदायिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)