जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीलाई काम गर्न रोक लगाएको विरुद्धमा प्रतिष्ठानका १ सय ६८ जना कर्मचारीले हस्ताक्षरसहित तत्काल निर्णय फिर्ता गर्न स्वास्थ्य मन्त्रीलाई माग गरेका छन् ।
बिहीबार कर्मचारीले स्वास्थ्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलयमार्फत ध्यानाकर्षण पत्र पठाउँदैं १ सय ६८ जनाले हस्ताक्षरसहितको पत्र मन्त्रालयमा पठाएका हुन् ।
ध्यानाकर्षण पत्रमा स्नातक तहका (एमबीबीएस, बिएनएस र बी फर्मा)लगायतका कार्यक्रमहरु सञ्चालन हुने अन्तिम अवस्थामा पुगेका बेला राज्यबाट भइरहेको हस्तक्षेपले प्रतिष्ठानको स्थिरतामा आशंका उत्पन्न गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी, उपकुलपतिको नियुक्ति प्रक्रियालाई लिएर न्यायालयमा विचाराधीन मुद्धालाई राजनीतिक रुप दिएर भइरहेको काम कारवाहीप्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन् । कर्मचारीहरुले मन्त्रालयले तत्काल सो निर्णय फिर्ता नलिए संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।
प्रतिष्ठानमा २ सय ५० जना कर्मचारी कार्यरत छन् ।
