२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न डा. केसीको चेतावनी

चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न डा. केसीको चेतावनी


काठमाडौँ – डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलगायत सम्बन्धित सबै पक्षहरुलाई चेतावनी दिएका छन्।  सोमबार डा. केसीले विज्ञप्ति जारी गरी आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट अवरोध भइरहेको जनाउँदै हस्तक्षेप नगर्न चेतवानी दिएका हुन्।

आयोगको कार्य सम्पादनमा नाजायज मागसहित पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा अवरोध गर्नेमा विद्यार्थीहरुलाई नाम मात्रका कलेजहरुमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरु समेत संलग्न भएको उनको आरोप छ।

शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीन लगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्न आयोगलाई दिएको सुन्नमा आएको खबर कानुनी रुपमा अवैध तथा व्यवहारिक रुपमा असम्भव भएको डा.  केसीले बताए।

यसको साथै उनले यसअघि भएका सरकारसँगको सम्झौता कार्यान्वयन गर्न विज्ञप्तिमार्फत भनेका छन्।

प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट भइरहहेको हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसबीच शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीन लगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्नका लागि चिकित्सा शिक्षा आयोगलाई लेखी पठाएको कुरा हाम्रो जानकारीमा आएको छ ।

त्यस्तो व्यवस्था कानुनी रुपमा अवैध तथा व्यवहारिक रुपमा असम्भव भएको कुरा हामी नेपाल सरकार लगायत सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छौं । चिकित्सा शिक्षा ऐन जारी भइ एकीकृत प्रवेश परीक्षा लागू भइसकेको अवस्थामा त्यो प्रक्रियाबाहिरबाट आउने कुनै पनि विद्यार्थीले नेपालभित्र कुनै पनि चरणको पठनपाठनमा संलग्न हुने कानुनी बाटो रहँदैन । त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरुलाई संलग्न हुन लगाएर योग्यताक्रमअनुसार फेरि पढाइ शुरु गर्न लगाउने हो । नेपालबाहिरका शिक्षण संस्थाहरुमा पढाइ शुरु गर्ने विद्यार्थीहरुसामु इन्टर्नशीपसहित पूरा पढाइ तिनै संस्थामा सकेर फर्कनुको विकल्प छैन । यसबीच यसै विषयमा नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने कामहरु भइरहेका छन् ।

त्यस्तो काममा विद्यार्थीहरुलाई नाम मात्रका कलेजहरुमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरु समेत संलग्न भएको बुझिन्छ । त्यस्तो तस्करीमा संलग्न हुनेहरु चिकित्सा शिक्षाका नियामक निकायका जिम्मेवार पदमा नियुक्त भएकाले पनि राज्यको नीति निर्माण तहसम्मै उनीहरुको पहुँच पुगेको छ । पहुँच र दबाब हुने हो भने जस्तो सुकै अवैध काम पनि गनै सकिन्छ भन्ने विश्वासका कारण अहिले उनीहरुले चिकित्सा शिक्षा आयोगलाई निशाना बनाइरहेका छन् । त्यसैले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षहरुलाई चेतावनी दिन चाहन्छौं ।

साथै चीन लगायतका देशहरुमा आवश्यक शिक्षण र सिकाइविनै डिग्री बेच्ने कलेजहरुमा विद्यार्थी पढ्न पठाउन तत्काल रोक लगाउँदै विद्यार्थी तस्करीको व्यवसाय गर्नेहरुलाई कुनै पनि नियामक निकायहरुमा निय्क्त नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं । अन्तमा, हामीसँग यस अगाडि भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा हामीले पछिल्लोपल्ट राखेका मागहरु पूरा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गर्दर्छौं ।

डा गोविन्द केसी

२०७८.१०.५ काठमाडौं


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ