काठमाडौं—घाँस काट्ने मेसिनमा च्यापिएर दुई टुक्रा भएको हातलाई राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जोडिदिएका छन् । सेन्टरका प्लाष्टिक सर्जन प्रा.डा. पियुस दाहालको नेतृत्वतमा धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको छिनालिएको दायाँ हात जोडिएको हो ।
५ वर्षको बालकलाई बेहोस बनाएर १५ घण्टा बढी समय लगाएर दुर्लभ शल्यक्रियामार्फत हात जोडेको प्रा.डा. दाहालले जानकारी दिए ।
गत ९ फागुनमा तीन जना बालक खेल्दै गर्दा मण्डलको मेसिनमा परेर हात दुई टुक्रा भएको थियो । बालकका बुवा आमा दुवै दिल्लीमा रहेकाले उनका छिमेकीहरुले हात दुई टुक्रा भएलगतै प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए । त्यहाँ प्राथमिक उपचार गरी तत्कालै ट्रमा सेन्टर ल्याइएको थियो ।
समयमा नै अस्पताल ल्याएका कारण हात जोड्न सफल भएको प्रा.डा. दाहालले बताए । ‘समयमा नै यहाँ ल्याइ पु¥याउनुभएको हुँदा हात जोडिन सक्यो,’ उनले भने, ‘प्रादेशिक अस्पताल जनकपुरले पनि उचित प्राथमिक उपचार गरेको हुँदा हात बिग्रनबाट बच्यो ।’
दुई टुक्रा भएको हातको शल्याक्रिया गर्ने टिममा डा. महेश देवकोटा, डा. निरन महर्जन, डा. पशुपतिबाबु पोखरेल, डा. अपार लामिछाने, डा. रुपेश यादवलगायत चिकित्सकहरु थिए । १५ घण्टाभन्दा बढी समय लागेको यो शल्यक्रियमा २५ वटा विभिन्न नसा र हड्डीको संरचना जोडिएको उपचारमा संलग्न चिकित्सक डा. अपार लामिछानेले जानकारी दिए ।