काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुगेका हुन् ।
भारत भ्रमणमा रहेका डा. टेड्रोस इन्डिगो एयरबाट दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका थिए । उनलाई स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विमानस्थलमा स्वागत गरेका थिए ।
महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आएका छन् ।
विमानस्थलबाट उनीहरु सिधैं मेरियट होटल गएका छन् । त्यहाँ लन्चपछि आजै तीन बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएर मन्त्री विरोध खतिवडासँग भेट्ने कार्यक्रम छ ।
नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गर्नेछन् ।
नेपालले कोभिड–१९ को नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै आएका टेड्रोस कोभिड विरुद्धको खोप अभियान पनि नेपालले सफल रुपमा सञ्चालन भन्दै सामाजिक संजालमा नै लेखेका थिए ।
डा। ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आएका हुन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए ।
डा. टेड्रोस १० गते फर्कने कार्यक्रम रहेको छ ।