२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचन्दा मागेर जेनेभा जाँदै स्वास्थ्य मन्त्रालयका प्रतिनिधीहरु

चन्दा मागेर जेनेभा जाँदै स्वास्थ्य मन्त्रालयका प्रतिनिधीहरु

कोहीसँग मागे हवाईजहाज भाडा, कोहीसँग खाने बस्ने खर्च


काठमाडौं—देशमा आर्थिक संकट गहिरिदैं गएको भनेर अर्थ मन्त्रालयले बजेट भित्रको रकम निकासा गरिदिन आलटाल गरिरहेका बेला स्वास्थ्यका अधिकारीहरु विभिन्न दातृ निकायसँग चन्दा मागेर विदेश भ्रमणमा जाने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पचहत्तर औं महासभामा भाग लिन सो टोली शुक्रबार जेनेभा जान लागेको हो ।

संगठनले नेपालबाट मन्त्रीसहित ३ जना प्रतिनिधी माग गरेतापनि मन्त्री, सचिव, महानिर्देशक, मन्त्रालयका तीन महाशाखा प्रमुख र मन्त्रीको सचिवालय र प्रशासनतर्फका कर्मचारी गरी ९ जना विदेश उड्दैछन् ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले ९ प्रतिनिधीहरु सम्मेलनका लागि जेनेभा जाने स्वीकृती भएको जानकारी दिइन् । जेनेभा जानेमा मन्त्री खतिवडा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह मन्त्रिपरिषदबाट स्वीकृत गरी महासभामा जान लागेका हुन् । अन्य ७ जनालाई भने मन्त्रालयले नै स्वीकृती दिएको हो ।

मन्त्री, सचिव र महानिर्देशकलाई नेपाल सरकारको खर्चबाट महासभामा भाग लिन जानेगरी खर्च जोडजाम गरिएको छ । त्यसैगरी, समन्वय महाशाखाका प्रमुख डा. संगीता मिश्रालाई रिजनल कमिटीको इलेक्सन मेम्मवर तोकिएको हुँदा उनको खर्च पनि माग गरेर अर्थ मन्त्रालय पठाइएको छ ।

महासभामा भाग लिन प्रशासन शाखाका प्रमुख मदन भुजेल, गुणस्तर मापन महाशाखाका प्रमुख डा. मदन उपाध्याय, योजना महाशाखाका उपसचिव प्रकाश अधिकारी,  एनएसआईका कासीम साह, मन्त्रीका निजी सचिव मधु मिजार र स्वकीय सचिव सुरज थापा रहेका छन् ।

*यसअघि स्वास्थ्य प्रवक्ता डा. मिश्राले नेपाल मेडिकल एशोसिएसनकातर्फबाट डा. लोचन कार्की सहभागी हुने बताए पनि डा. कार्की भने जेनेभा नजाने भएकाले छन् । ‘हामी संस्थागत रुपमा यस्ता कार्यक्रममा सहभागी हुने गरेका छौं,’ कार्कीले भने, ‘तर, यस्ता कार्यक्रममा सहभागी हुँदा एनएमएले संस्थागत र व्यक्तिगत रुपमा आफै खर्च व्यहोर्दै आएको छ ।’ उनले यस पटक आफ्नो अर्कै कार्यक्रम परेकाले जेनेभा नजाने जानकारी दिए ।

भ्रमण दलका अन्य सदस्यहरुको लागि भने पुल फण्ड, एनएसआई, सेभ द चिल्ड्रेन, जिआईजेट, युनिसेफलगायतका संस्थासँग खर्च मागिएको छ । ती संस्थाहरुले कसैको प्लेन टिकट व्यवस्था गरिदिएका छन् भने कतिपयको जेनेभामा खाने बस्ने व्यवस्था गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रत्येक वर्ष हुने महासभामा भाग लिन नेपालबाट दाताहरुकै सहयोगमा जम्बो टोली जेनेभा जाने गरेको छ । दाताहरुले बेला–बेलामा विदेश धुमाइदिने हुँदा नेपालमा बन्ने स्वास्थ्यका नीति नियम र कानुन उनीहरुको इसारामा तय हुने गरेको आरोप लाग्ने गरेको छ ।

*सच्याइएको


क्याटेगोरी : समाचार
ट्याग : #डा. दीपेन्द्ररमण सिंह, #डा. मदन उपाध्याय, #डा. रोशन पोखरेल, #डा. संगीता मिश्रा, #विश्व स्वास्थ्य संगठन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ