२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपेशागत समावेसी समूहको अवधारणापत्रः सबै डाक्टर, एक पटक सरकारी डाक्टर

पेशागत समावेसी समूहको अवधारणापत्रः सबै डाक्टर, एक पटक सरकारी डाक्टर


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएएम)को आसन्न निर्वाचनका लागि पेशागत समावेसी समूहले अवधारणापत्र सार्वजनिक गर्दै सबै डाक्टर, एक पटक सरकारी डाक्टरको अवधारणा अगाडि सारेको छ । मंगलबार पेशागत समावेसी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका डा. सन्तोष पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममाझ सार्वजनिक गरेको अवधारणापत्रमा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त गरिसकेका चिकित्सकलाई एक पटक सरकारी सेवामा अवसर दिनुपर्ने बताए ।

उनले एकातिर नेपाल सरकारको दरबन्दी कम भएका कारण अहिले पनि धेरै ठाउँमा चिकित्सक नभएको अवस्था र अर्कोतिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नु परिरहेको अवस्थामा यो अवधारणा लागु गर्दा वैज्ञानिक हुने बताए । ‘नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकले सरकारले तोकेको ठाउँमा गएर सेवा गर्छु भन्छ भने कम्तिमा एक वर्षलाई भएपनि त्यो अवसर दिनुपर्छ,’ उनले भने, ‘यसले चिकित्सकलाई देश बुझ्ने अवसर पनि हुन्छ । यो अवधारणा लागु गर्न हामी सम्बन्धित निकायमा जोडदार रुपमा कुरा राख्नेछौं ।’

डा. पौडेलले ५०० शैय्याका ७ वटा संघीय अस्पताल, २०० शैय्याका ७ वटा प्रादेशिक अस्पताल, ५० शैय्याका ७७ (जिल्लाका) प्रादेशिक अस्पताल र ७५३ स्थानीय तहका आधारभूत अस्पताल र अन्य सरकारी अस्पताल तथा प्रतिष्ठानमा सरकारको नयाँ ओएनएमअनुसार १० हजारभन्दा बढी चिकित्सकलाई सरकारी रोजगारीमा लगाउन सकिने बताए । नेपाल चिकित्सक संघ स्वास्थ्य मन्त्रालयको नीतिगत सल्लाहकार रहँदा पनि काम गर्न नसकेको भन्दैं अहिलेको नेतृत्वबाट संघका परिवर्तन असम्भव रहेको धारणा राखे ।

उनले ७ एजेण्डा समेटिएको अवधारणापत्रमा चिकित्सक एक भूमिका अनेक हुने भएकाले विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सा सेवा ऐन ल्याउन पहल गर्ने, पढाइमा सधैं अब्बल रहेका चिकित्सकलाई कमाइमा सबल बनाउन भूमिका खेल्ने, सबै चिकित्सकलाई रोजगारीः १० वर्षमा घर गाडी, वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ, एक स्वास्थ्य संस्था, एक चिकित्सक, चिकित्सा शिक्षा : सुधार र रोजगारीको अवसर र संघीयता कार्यन्वयनको आधारः एनएमएमा संगठनात्मक सुधारलाई प्राथमिकतामा साथ अगाडि सारिएको छ ।

अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले ७२ वर्षदेखि क्रियाशील संस्था भएपनि एनएमएको नेतृत्व डा. गोविन्द केसी आन्दोलन गर्दा मात्रै ब्युझ्ने नत्र सुत्ने गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दैं एमाले निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष प्रा.डा. जागेश्वर गौतमले डा. पौडेल नेतृत्वको टिम युवा र समावेसी भएकाले जिताउन आग्रह गरे । ‘यो टिम युवा जोशले भरिएको र समावेसी छ,’ उनले भने, ‘अब एनएमजस्तो पुरानो पेशागत संगठनमा पनि क्रान्तिकारी परिवर्तन जरुरी छ । जो यो टिमबाट मात्रै सम्भव छ ।’

पेशागत समावेसी समूहको निर्वाच परिचालन कमिटीका संयोजक डा. कालुसिंह खत्रीले एनएमएमा सुधार र परिवर्तनका लािग डा. पौडेल नेतृत्वको प्यानलको विकल्प नरहेको बताए । ‘एनएमPमा परिवर्तन र रुपान्तरणका लागि डा. सन्तोष पौडेल नेतृत्वको टिमको विकल्प छैन,’ उनले भने, ‘यो टिम नीतिगत तहमा चिकित्सकको हकहितका लागि काम गर्न लागि रहनेछ ।’ उनले आफूहरु एनएमएको नेतृत्वमा रहँदा जुनसुकै पार्टीले सरकार बनाउँदा पनि चिकित्सकका सवालमा आवाज उठाइरहने बताए ।

डा. पौडेल अध्यक्ष रहेको पेशागत समावेसी मधेश प्रदेशको उपाध्यक्ष डा. महेश महासेठ, वागमती प्रदेश उपाध्यक्षमा डा. सन्जय ठाकुर, गण्डकी प्रदेश उपाध्यक्षमा डा. विकास गौचन र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्यालले उम्मेदवार छन् । यसैगरी, संघको प्रभावशाली पद मानिने महासचिवमा डा. रक्षा श्रेष्ठ उम्मेदवार छन् । त्यसैगरी, संघको ६ जना सदस्यहरुका लागि डा. स्मृति महत, डा. अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ र डा. सुरेन्द्र यादव उम्मेदवार छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ