२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरेडियसन थेरापीका लागि क्यान्सर अस्पताल खजुरामा २५ करोड पर्ने लिन्याक मेसिन जडान गरिदैं

रेडियसन थेरापीका लागि क्यान्सर अस्पताल खजुरामा २५ करोड पर्ने लिन्याक मेसिन जडान गरिदैं


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले रेडियसन थेरापी अर्थात सेकाइ प्रविधीबाट उपचार गर्नुपर्ने क्यान्सरका बिरामीका लागि लिन्याक मेसिन ल्याएको छ । लामो समयको प्रयासपछि क्यान्सर अस्पताल खजुरामा करिब २५ करोड मुल्य पर्ने लिन्याक मेसिन ल्याउन सकिएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताए ।

पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गर्न लिन्याक मेसिन आबश्यक पर्छ ।

क्यान्सर अस्पताल खजुरामा रिन्याक मेसिन नहुँदा बाहिरी सेकाइ प्रबिधीबाट उपचार गर्नुपर्ने ३० जनासम्म बिरामीहरु भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य थिए । बिरामीको अत्याधिक चाप हुँदा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल बाहिरी सेकाइका लागि बिरामीहरुले एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता थियो ।

नेपाल सरकारको बजेटबाटै लिन्याक मेसिन क्यान्सर अस्पताल खजुरामा ल्याइएको हो । लिन्याक मेसिन संचालन भएपछि क्यान्सर अस्पताल खजुरामै क्यान्सरको उपचारमा नयाँ फड्को मार्ने क्यान्सर अस्पताल खजुराका रेडियसन अंकोलोजिष्ट डा. मुकेश यादवले बताए ।

लिन्याक मेसिनलाई जडान गर्नका लागि बंकर निर्माण भइसकेको छ । प्राविधिकहरुले बंकरमा मेसिन जडानका लागि आवश्यक तयारीहरु सुरु गरेका छन् । लिन्याक मेसिनलाई जडान भई उपचार सेवा सुरु हुन करिब ३ महिना लाग्ने क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक भट्टराईले बताए । लिन्याक मेसिनलाई जडान हुन लागेको क्यान्सर अस्पताल खजुरा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै पहिलो सरकारी क्यान्सर अस्पताल हो ।

क्यान्सर अस्पतालमा लिन्याक मेसिन आउँदा निक्कै उत्साहित भएको आमाको क्यान्सर उपचार गराई रहेकी पुष्षा भाटले बताइन् । क्यान्सर अस्पतालले पछिल्ला ३ वर्षमा, सर्जरी, हिष्टोप्याथोलोजी ब्राकीथेरापी र कल्पोस्कोपी सेवा विस्तार गर्दै आएको छ ।

अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकसहित करिब १ सय २५ जनाको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ