२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचार खर्च अभावले छटपटाउँछन् विपन्न नागरिक

उपचार खर्च अभावले छटपटाउँछन् विपन्न नागरिक


जुम्ला – सामुदायिक तथा सरकारी अस्पतालमा राम्रो उपचार नपाइने मानिसको मस्तिष्कमा गढेर बसेको छ । हो पनि । सरकारी अस्पतालमा जागिर खाने चिकित्सकले प्राइभेट हस्पिटल क्लिनिक खोलेर बसेका छन् ।

पछिल्लो समयमा नेपालमा औषधि उपचार गर्ने अस्पताल निजिकरण तथा प्राइभेट बन्दै गएका छन् । विपन्न तथा गरिब नागरिकले बाच्नै मुस्किल भएको छ । औषधि उपचार गर्नका लागि मोटो रकम चाहिने भएकोले उपचार खर्च नपाएर विपन्न नागरिक छटपटाउने गरेका हुन् । विपन्न नागरिकहरू गरिबलाई सबै होस रोग नलागोस् भनेर भगवानसँग पुकार्ने गरेका छन् ।

यस्तै नियति भोग्नु परेको छ, कनकासुन्दरी गाउँपालिका – ५ लुड्कु गाउँकी १३ वर्षिया ममता बुढालाई । अहिले उनी उपचार खर्च अभावले छटपटाई रहेकी छन् ।

‘बायाँपट्टिको फोक्सो सुकिसकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टिको शरीर चल्न’ छोडेको लगायतका रोगबाट ममता ग्रसित छन् । चार दिनदेखि बाँकेको कोहलपुर मेडिकल कलेजको आइसियुमा उपचार भईरहेपनि अझै होस नखुलेको मामा नाता पर्ने सन्तोष बोहरा बताउँछन् ।

उनले भने, ”डाक्टरहरूको सल्लाहअनुसार भेन्टिलेटरमा लिनुको विकल्प छैन । चार दिन देखि होस बन्द छ । भेन्टिलेटरमा प्रतिदिन १४ हजार बढी खर्च लाग्ने देखिन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा भेन्टिलेटरमा लिने पैसा जोहो नहुँदा १३ वर्षीय ममताले मृत्यु कुरिरहेकी छन् ।” बुबा खुम बहादुर बुढा छोरी त्यो अवस्था देखेर पागल जस्तै भएका छन् । कालापहाड जाने र सामान्य व्यापार गरी परिवार चलाउँदै आएका खुमबहादुर छोरीको उपचार खर्च अभाव भएपछि सहयोगको खोजीमा भौँतारिएका छन् ।

गाउँले साथी भाइको सहयोगमा ४ दिनदेखि आइसियुमा उपचार भए पनि होस नखुलेपछि भेन्टिलेटरमा लिनै पर्ने बाध्यता छ । तर आर्थिक अभावले भेन्टिलेटरमा लिन नसकेर जिउँदो लास जस्तै बिरामी पल्टिरहेको हेर्नुपर्ने बाध्यता आइलागेको मामा बोहराले बताए ।

यस्तै चन्दननाथ नगरपालिका– ३ डाँडाकोटका २६ वर्षीय राजन नेपाली उपचार खर्चको अभावमा छन् । उनी विगत ७ वर्षदेखि उपचार खर्च अभावले छटपटाई रहेका छन् ।

आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गरे । पैसा खर्च हुँदै गयो । धन सम्पत्ति नासिँदै गयो । तर, उनलाई निको भएन । झन् कमजोर हुँदै गए । संविधानमा निःशुल्क स्वास्थ्य उपचारको कुरा पनि गरिएको छ । हरेक चुनावमा नेताहरूको चुनावी एजेन्डा निःशुल्क स्वास्थ्य शिक्षाको बन्छन् । तर राजन जस्ता धेरै नागरिकले उपचार खर्च नभएकै कारण मृत्यु कुरेर बस्नु परेको छ ।

अहिले उनी केही उपचार खर्च जोहो गरेर पाटन अस्पतालमा उपचार गराएर नेपालगन्जमा औषधि खाएर घरमा आराम गर्दै गरेका छन् । १ महिना र ३ महिनाको अन्तरालमा पुन परीक्षण गर्न चिकित्सकले सल्लाह दिएको उनका नातेदार रतन नेपालीले बताए । उनले भने अहिले केही सुधार भएको छ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार चन्दननाथ नगरपालिका भित्रका अति विपन्न नागरिकलाई स्वास्थ्य उपचार खर्च भनेर बढीमा २० हजारसम्म सहयोग उपलब्ध गराउने व्यवस्था छ । अघिल्ला आर्थिक वर्षहरूमा यो सेवा प्रदान गर्दै आएका थियौँ । चालु आर्थिक वर्षमा पनि यो कार्यक्रम रहेको छ । वडा पालिकाबाट अति विपन्नको सिफारिस ल्याएर आएको खण्डमा सहयोग गर्न सकिन्छ ।

अर्को अति विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि १/२ लाख स्वास्थ्य उपचार सहयोगका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, वीर र गंगालाल हृदयरोग अस्पताल काठमाडौँमा सिफारिस गर्ने गरेको जनस्वास्थ्य निरीक्षक महतले बताए  । उनले भने यो सुविधा सबै पालिकामा व्यवस्था गरिएको हुन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ