२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इनरुवा अस्पताल विवादः मेसुका कारण असुरक्षित भएको भन्दैं ८ मेडिकल अधिकृतको राजीनामा

इनरुवा अस्पताल विवादः मेसुका कारण असुरक्षित भएको भन्दैं ८ मेडिकल अधिकृतको राजीनामा


इटहरी—सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र मेडिकल अधिकृतहरुबीच विवाद देखिएको छ । बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं शुक्रबार ८ जना मेडिकल अधिकृतले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

मेडिकल अधिकृतहरु डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डलले सामूहिक राजीनामा दिएका हुन् ।

‘आजको दिनमा अस्पताललाई यो अवस्थामा पु¥याउन दिन रात खटिरहेका हामी विरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारवाजी भएको देख्दा हामी मानसिक तनावमा छौ र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको जानकारी गराउँदछौं,’ मेडिकल अधिकृतहरुले अस्पताल व्यवस्थापनलाई लेखेको सामूहिक राजीनामा पत्रमा छ ।

अस्पतालमा २६ माघमा ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धम्काउने, आक्रमण गर्ने व्यक्तिलाई समेत मेसुले मौन समर्थन गरेको भन्दैं यसले आफूहरुलाई दुःखी बनाएको उल्लेख गरेका छन् । तर, अस्पतालका मेसु डा. घिमिरेले भने मेडिकल अधिकृत ड्युटीमा नभेटिएपछि बिरामीका आफन्तले डाक्टरहरुको खोजी गर्दा सामान्य विवाद भएको बताए ।

‘त्यो सामान्य विवाद हो । मैले आएर विवाद मिलादिइको हुँ,’ उनले भने, ‘समाधान भइसकेको विषयलाई अहिले इस्यु बनाएर उचालिएको छ । डाक्टर र बिरामीबीच विवाद पर्छ, छलफल मै नबस्ने भन्ने हुन्छ ।’ उनले विहान पनि आफूले छलफलका लागि अग्रसरता लिँदा मेडिकल अधिकृतहरुले राजीनामा बुझाएर आफूलाई अनेकन आरोप समेत लगाएको गुनासो पोखे ।

मेडिकल अधिकृतहरुको सामूहिक राजीनामा पत्रमा मेसुले बदनियत ढंगले आफूहरुलाई निच देखाउने कार्य लामो समयदेखि गरेको, गाली गलौज र धम्की दिएको समेत उल्लेख छ । उनीहरुले मेडिकल मेसुको यो व्यवहारको विषयमा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यलय र नेपाल मेडिकल एशोसिएसनलाई समेत जारी दिइसकेको बताएका छन् । यसअघि मेसुले एक जना मेडिकल अधिकृतलाई निकालेका उनले अहिले पनि दुई जना मेडिकल अधिकृतलाई व्यक्तिगत रिसइबीका कारण निकाल्न प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।

तर, मेसु डा. घिमिरेले भने आफू अस्पतालमा आएपछि अस्पतालको चौतर्फी सुधार गरेका कारण आक्रमणको केन्द्र बनाइएको बताए । ‘यो डाक्टर नै नबस्ने अस्पताल हो । म आएपछि अस्पतालका सबै पक्षहरुमा सुधार गरेको छु,’ उनले भने, ‘मैले मेडिकल अधिकृतहरुको सरुवा गर्ने होइन् । प्रदेश मन्त्रालयले ताप्लेजुङमा चिकित्सक नभएपछि उहाँहरुको सरुवा गरेको हो । तर, यो कुरा उहाँहरुले मलाई घेराउ गर्ने रणनीतिका साथ उचालिरहनुभएको छ ।’ उनले आफूले छात्रवृत्ति करारका चिकित्सकको सरुवा गर्न नसक्ने उल्लेख गर्दै अस्पताल सुधारका कामहरुमा आफूलाई सहयोग नभएको गुनासो समेत पोखे ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ