२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालले शुल्क तोकेपछि निजी अस्पतालमा जान थाले बिरामी

सरकारी अस्पतालले शुल्क तोकेपछि निजी अस्पतालमा जान थाले बिरामी

कर्मचारीलाई तलब दिन समेत समस्या


चरिकोट—सरकारी अस्पतालले शुल्क निर्धारण गरेपछि बिरामीको संख्यामा कमी आएको छ । दोलखाको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा शुल्क तोकिएको छ ।

आर्थिक संकटको कारण गत १ माघदेखि सबै खालका बिरामीलाई अनिवार्य टिकटलगायत सम्पूर्ण सेवामा शुल्क निर्धारण गरेपछि अहिले बिरामी अन्यत्र जान थालेका हुन् ।

टिकटलगायतका अन्य सेवामा समेत निःशुल्क हुँदा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचार गर्न आउने गरेका थिए । अहिले शुल्क निर्धारणपछि दैनिक ८० जना लगभग आउने गरेका छन् ।

न्याय हेल्थ नामक गैरसरकारी संस्थाले यसअघि पशुपति चौलागाई स्मृति अस्पतालमा सबै खालको उपचार निःशुल्क गरेको थियो । औषधि उपचारलगायत बिरामी र कुरुवालाई समेत निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।

यसअवधिमा दोलखालगायत छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोकबाट समेत बिरामी आउने गरेका थिए । अहिले न्याय हेल्थ अस्पतालबाट बाहिरिएपछि कर्मचारीलाई तलब दिनसमेत धौ—धौ परेको अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष भरत प्रधानले जानकारी दिए ।

अस्पताल सञ्चालन र करारका कर्मचारीलाई तलब दिनको लागि सबै सेवामा शुल्क लिन थालिएको हो । १ माघ २०७९ देखि शुल्क लिने भनिएतापनि नागरिक समाजलगायतले विरोध जनाएपछि केही समय रोकिएको थियो । त्यसपछि शुल्क निर्धारणका लागि कार्यदल बनाइएको छ ।

सो कार्यदलको सिफारिसपछि २ चैत २०७९ देखि लागू हुने गरी पुनः शुल्कमा संशोधनसहित कार्यान्वयनमा ल्याइएको छ । हाल टिकट शुल्क ५० रुपैयाँ, इमर्जेन्सी टिकट १०० रुपैयाँ, जनरल वेड १०० रुपैयाँ र एचडियु वेड ३०० रुपैयाँ शुल्क तोकिएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

निःशुल्क हुँदा सामान्यदेखि जटिल अपरेशन पनि यस अस्पतालमै गर्दै आएका थिए । अहिले अस्पतालले शुल्क लिन थालेपछि बिरामीहरु नजिकैको निजी अस्पतालमा जान थालेका छन् ।

पशुपति चौलागाई स्मृति अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा नामाङ्कन गरेतापनि सरकारले सेवासुविधा दिन सकेको छैन । अस्पतालले पर्याप्त पूर्वाधार अभावका कारण डायलाइसिसको मेसिन त्यत्तिकै थन्केको मेडिकल सुपरिटेन्टडेन्ट डा. ज्ञानेश्वर श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ