२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन्

बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन्

भविष्यमा कार्डियोलोजिष्ट बन्ने सपना देखेका उनी भन्छन्, ‘पढाइको फर्मुला पढाइमात्रै हो’


काठमाडौं—चिकित्सा शिक्षा आयोगले लिएको ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस)को एकीकृत प्रवेश परीक्षामा २४६३ विद्यार्थीले नाम निकाले । जसमा पहिलो नम्बरमा छन्—जुम्लाका २० वर्षीय सुवास आचार्य । बिडिएसमा मात्रै होइन्—६६६९ विद्यार्थी उत्तीर्ण भएको एमबीबीएसको इन्ट्रान्समा पनि उनले नवौं नम्बरमा नाम निकालेका छन् । २०० पूर्णांकको बिडिएसको प्रवेश परीक्षामा १७२ अंकसहित पहिलो नम्बरमा नाम निकालेका उनले त्यति नै पूर्णांकको एमबीबीएसको प्रवेश परीक्षामा १६९.२५ अंकका साथ नवौं नम्बरमा नाम निकालेका छन् ।

बिडिएस इन्ट्रान्स टपर र एमबीबीएस इन्ट्रान्सको टपटेनमा परेका सुवासको रोजाइमा भने एमबीबीएस परेको छ । सुवास अब डाक्टरी सपना पूरा गर्न महाराजगन्ज मेडिकल क्याम्पसमा पढ्ने बताउँछन् । ‘सबै मेडिकल स्टुडेन्टहरुको ड्रिम कलेज भनेको महाराजगन्ज मेडिकल क्याम्पस हो,’ उनी भन्छन्, ‘भाग्य र मेहनतले त्यही कलेजमा पढ्ने अवसर पाएको छु, महाराजगन्ज मेडिकल क्याम्पसमै पढ्छु ।’ उनले भविष्यमा आफू कार्डियोलोजिष्ट बन्ने सपना रहेको उल्लेख गरे ।

कर्णाली प्रदेशको जुम्लाको विकट हिमा गाउँपालिका—१ मा वि.सं. २०५९ सालमा उनको जन्म भएको हो । शिवराम आचार्य र देवकी आचार्य चार सन्तानमध्ये उनी तेस्रो हुन् । उनका बुवा बाँके जिल्ला अदालतका सरकारी जागिरे हुन् भने आमा गृहणी ।

सामान्य परिवारमा जन्मिएका सुवास ४ वर्षसम्म जुम्लामै बसे । त्यसपछि उनी परिवारसँगै नेपालगन्ज झरे । नेपालगन्जको मुनतारा इंग्लिस मिडियन हाइस्कुलबाट उनको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढेको हो । त्यहाँबाट उनले कक्षा ४ सम्मको पढाइ पूरा गरे । त्यसपछि उनी नेपालगन्जकै आदर्श सेकेण्डरी स्कुलमा अध्ययन गर्न थाले ।

स्कुल जीवनदेखि नै पढाइमा पनि अब्बल सुवास सुरुवाती दिनमा साहित्य मन पराउथे । पछि विज्ञान र गणित उनका मनपर्ने विषय भए । ‘रट्नुपर्ने विषयभन्दा मलाई बुझ्ने खालका विषय मन पर्न थाले,’ उनी कारण खोल्दै भन्छन् । पढाइसँगसँगै खेलकूदमा पनि रुचि राख्ने उनी क्रिकेट खेलाडी पनि हुन् । सुवासले वि.सं. २०७५ सालमा आदर्श सेकेण्डरी स्कुल नेपालगन्जबाट ३.७ जिपीए (ए प्लस) ल्याएर एसएलसी उत्तीर्ण गरेका हुन् ।

त्यसपछि उनले छोरालाई डाक्टर बनाउने बुवाको सपना र आफ्नै पनि सपना पूरा गर्नका लागि साइन्स पढ्ने मनस्थिती बनाए । त्यसका लागि आफूले एसएलसी पढेको आदर्श सेकेण्डरी स्कुलमै साइन्स लिएर प्लस टु अध्ययन सुरु गरे । वि.सं. २०७७ सालमा उनले आफ्नो प्लस टु अध्ययन सके ।

‘वुवाले जुम्लाबाट एसएलसी दिनुभएको हो, एमबीबीएस पढ्ने भनेर भारत जानुभयो । त्यो बेला विविध कारणले पढ्न सक्नुभएन्,’ उनले आफ्नो एमबीबीएस एम्वीसनबारे सुनाए, ‘बुवाको सपना थियो आफू पढ्न नसकेपनि छोरालाई डाक्टरी पढाउँछु । ‘मैले गर्न सकिनँ तिमीहरुले डाक्टर बन्नुपर्छ’ भन्नुहुन्थ्यो । बुवाको त्यही बचनले एमबीबीएस पढ्ने प्रेरणा मिलेको हो ।’ अर्कोतर्फका उनका फुपुका छोरा (दाइ)ले पनि उनी १० कक्षामा पढ्दैं छात्रवृत्तिमा बिडिएसमा नाम निकालेर धरानमा अध्ययन सुरु गरे । ‘दाइले पनि एकदमै गाइड गर्नुहुन्थ्यो,’ उनले थपे, ‘बुवा र दाइले गर्दा नै एमबीबीएस पढ्ने प्रेरणा मिलेको हो ।’

स्कुल जीवनदेखि नै एमबीबीएसलाई आफ्नो लक्ष्य बनाएका उनी प्लस टु सकेपछि काठमाडौं आए । ‘नेपालगन्जमा काठमाडौंजस्तो न प्रि—मेडिकल क्लास हुन्छ न कुनै अन्य तयारी नै,’ सुवास भन्छन्, ‘तयारी मैले काठमाडौं गएपछि मात्रै सुरु गरेको हुँ ।’ उनले प्लस टु पढ्दैं दाइ सल्लाहअनुसार केही किताबहरु भने किनेर पढिरहेका हुन्थे । काठमाडौं आएर एमबीबीएसको तयारी अगाडि बढाए । पहिलो वर्ष उनले बिडिएसमा छात्रवृत्तिमा नाम निकाले । तर, एमबीबीएसमा छात्रवृत्तिमा नाम ननिस्किएपछि उनले त्यसलाई छोडिदिए । नयाँ शैक्षिक सत्रका लागि तयारी अगाडि बढाए ।

भनिन्छ, प्रयास गर्नेहरुले नै सफलता पाउँछन् । सुवासको जीवनमा पनि त्यही भो । यस पटक सुवासले एमबीबीएसको इन्ट्रान्समा ९ औं नम्बरमा नाम निकाले भने बिडिएसको इन्ट्रान्समा पहिलो नम्बरमा नाम निकालेर टप नै गरे । टप गर्ने फर्मुला के हुँदोरहेछ ? भन्छन्, ‘पढाइको कुनै फर्मुला हुँदैन्, पढाइ मात्रै हो ।’ उनी एमबीबीएस तयारी गर्दा ७० प्रतिशत कष्ठ गर्ने र ३० प्रतिशत बुझेर पढ्ने तरिका अपनाउनुपर्नेमा जोड दिन्छन् ।

एमबीबीएस तयारी गरिरहेका हजारौं विद्यार्थीलाई उनको सुझाव के छ त ? भन्छन्, ‘११ र १२ कक्षा पढ्ने भाइबहिनीहरुलाई अहिलेबाट नै राम्रो तयारी गर्न सल्लाह दिन्छु । मेरोजस्तो गर्नुभएन्, मैले ११ र १२ कक्षा पढ्दा राम्रो तयारी गर्न पाइन्, नेपालगन्जमा पढ्का लागि राम्रो इन्स्टिच्युट पनि छैन । त्यही कारण पहिलो प्रयासमा एमबीबीएसमा छात्रवृत्तिमा नाम निकाल्नबाट चुके । त्यही कारण भाइबहिनीहरुलाई ११, १२ कक्षादेखि नै तयारी गर्नुहोस् भन्न चाहन्छु ।’ एमबीबीएस तयारीमा रहँदाको अनुभव सुनाउँदैं उनी भन्छन्, ‘यो समयमा डर र एन्जाइटीले सताउँछ । तर, डराउनु भएन, सेल्फ कन्फिडेन्ट हुनुप¥यो । निरन्तर पढ्न र मेहनत गर्न छाड्नुभएन ।’


क्याटेगोरी : समाचार
ट्याग : #इन्ट्रान्स टपर, #चिकित्सा शिक्षा आयोग, #ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस), #सुवास आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ