२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्ला जिल्ला अस्पतालमा तीन महिनादेखि औषधी अभाव

हुम्ला जिल्ला अस्पतालमा तीन महिनादेखि औषधी अभाव


जुम्ला – तीन महिनादेखि जिल्ला अस्पताल हुम्लामा औषधीको चरम अभाव भएको छ । १५ शय्या रहेको एक मात्रै जिल्ला अस्पतालमा माघ महिनाको पहिलो सातादेखि ओैषधीको चरम अभाव देखिएको हो । आधारभूत औषधीसम्म नहुँदा गाउँपालिका र गैरसरकारी संस्थासँग सापट मागेर काम चलाउँदै आएका छन् ।

चैत ११ गते सिमकोट गाउँपालिका–१ ठेहे गाउँका २६ वर्षीय विर भण्डारी विष सेवन गरेपछि सोही दिन जिल्ला अस्पतालमा ल्याएको आफन्त विजय भण्डारीले बताए । अस्पतालमा उपचार गर्ने ओैषधी नहुँदा सिमकोट गाउँपालिका–७ स्थित डाँडाफयाँ स्वास्थ्य चौकीबाट औषधी सापट मागेर उपचार गरेको आफन्त भण्डारीले बताए ।

अस्पतालमा पर्याप्त औषधी नभएकै कारण बिरामी भण्डारीलाई चैत १२ गते जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको छ । त्यस्तै खार्पुनाथ गाउँपालिका–४ का ८ वर्षीय सञ्जीव रावलको हातको हड्डी भाँचिएर जिल्ला अस्पताल पुराउँदा समेत अस्पतालमा औषधी नभएपछि बजारमा रहेका मेडिकलहरूबाट औषधी किन्नु परेको बिरामीका बाजे प्रजित रोकायाले गुनासो गरे ।

औषधी छैन बाहिर निजी मेडिकलबाट महंगो मूल्यमा किनेर ल्याएर उपचार गर्नु परेको रोकायाले बताए । श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल पुगेका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की औषधी नभएर निजी मेडिकलबाट किन्न बाध्य भएको गुनासो गर्नु भएको छ ।
जिल्ला अस्पतालमा तीन महिनादेखि औषधिको अभाव भएको जिल्ला अस्पताल हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताइन् ।

संघबाट बजेट आउँदा औषधीको समस्या थिएन तर प्रदेश मातहतबाट औषधी आउने भएपछि समस्या देखिएको निमित्त कार्यालय प्रमुख बोहराको भनाई छ । माग फार्म पेस गर्दा समेत सम्बन्धित निकायले चिन्ता चासो नदेखाएको बोहराले बताइन् ।

प्रदेशबाट दिएको १० लाख बजेटबाट खरिद गरेको औषधी दुई महिना मात्रै पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाको स्टोर किपर मनिकृष्ण जैसीले बताए । तर राज्यले पनि हुम्लालाई हेर्न दृष्टिकोण फरक  रहेको उनको भनाई छ  । जिल्ला अस्पताल हुम्लामा बजेट छैन ।

दैनिक ७० देखि ८५ जना बिरामीहरू उपचारका लागि आउने गरे पनि उनीहरूका लागि चाहिने सिटामोल सिरप, खोकीको सामान्य औषधी समेत अभाव देखिएको छ । आधारभूत औषधी नभएपछि इमर्जेन्सी, ओपिडी, ल्याब, फार्मेसी, एक्स(रेमा पनि समस्या देखिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ