२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा ६५०४ मेजरसहित ११११६ शल्यक्रिया

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा ६५०४ मेजरसहित ११११६ शल्यक्रिया

एक वर्षमा १ लाख ६७ हजार बिरामी बढे, दूरबिनबाट गरिने शल्यक्रियाका लागि २ महिना कुर्नुपर्ने


काठमाडौं—ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा ११ हजार १ सय १६ शल्यक्रिया गरेको छ । गत वर्ष पाटनले गरेका ११ हजार १ सय १६ शल्यक्रियामध्ये ६ हजार ५ सय ४ मेजर शल्यक्रिया रहेका छन् ।

महालेखापरीक्षकको ६० औं प्रतिवेदनअनुसार ६५० शैय्याको प्रतिष्ठान अस्पतालबाट वि.सं.२०७९ मा ३ लाख ८२ हजार ६६० जना बिरामीले सेवा लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १ लाख ६७ हजार ७ जना बढी हो । २०७८ मा अस्पतालबाट २ लाख १५ हजार ६५३ जना बिरामीले सेवा लिएका थिए ।

अस्पतालमा दैनिक औसत १ हजार ७०० सम्म बिरामीले सेवा लिने गरेका छन् । महालेखा प्रतिवेदनकाअनुसार दैनिक एक जना चिकित्सकले ४० देखि ५० जना बिरामी जाँच गर्नुपर्ने भएकाले ३—४ घण्टासम्म बिरामीले प्रतीक्षा गर्नुपर्ने अवस्था छ । अस्पतालमा दूरबिनबाट गरिने शल्यक्रियाका लागि २ महिना, इण्डोस्कोपी गर्न १ हप्ता, युरो सर्जरी गर्न ४ हप्ता, नाक, कान घाँटीको शल्यक्रिया गर्न १२ हप्ता, नयाँ हेमोडाईलासिस सेवाका लागि ४—५ महिना प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

मेसिनरी उपकरणको अभावमा अस्पतालले डेन्टल इम्प्लान्ट, थोरासिक उपचार, कार्डियाक भास्कुलर, आँखाको लेजर र रेटिना केयरलगायतका सेवा उपलब्ध गराउन नसकेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठानको गत वर्ष नेपाल सरकारबाट अनुदान स्वरुप २९ करोड २४ लाख रुपैयाँ र आन्तरिक स्रोततर्फ अनुसन्धान परियोजनासहित १ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ गरी जम्मा २ अर्ब १३ करोड ५६ लाख रुपैयाँ आय रहेको थियो । जसमध्ये २ अर्ब ६ करोड ४ लाख रुपैयाँ खर्च भएका महालेखा प्रतिवेदनमा छ ।

प्रतिष्ठानले विस्तारित सेवाबाट ९७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ । जसबाट चिकित्सक, प्राविधिक र अन्य कर्मचारीको पारिश्रमिकमा ६७ लाख १८ हजार खर्च भएको छ भने ३० लाख ७८ हजार नाफा भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ