२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररवि लामिछानेका गाडी चालक दिलबहादुरको उपचारका क्रममा मृत्यु

रवि लामिछानेका गाडी चालक दिलबहादुरको उपचारका क्रममा मृत्यु


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछोनका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को उपचार क्रममा निधन भएको छ । मंगलबार दिउँसो १ः३५ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा ३९ वर्षीय थापाको निधन भएको हो ।

‘उहाँको उपचारका क्रममा आज १ः३५ बजे निधन भएको हो,’ अस्पतालकी संचार संयोजक मनिता पोखरेलले भनिन् ।

४ बैशाखको विहान ४ बजे थापा लामिछानेको चितवनस्थित घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । लगतै उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार सुरु गरिएको थियो । त्यहाँ झण्डै ३६ घण्टा सघन उपचार कक्षमा राखेर उपचार गरेपछि थप उपचारका ५ बैशाखमा उनलाई नेपाली सेनाको हेलिकप्टरबाट मेडिसिटी अस्पताल ल्याइएको थियो ।

नेपाल मेडिसिटी अस्पतालका स्नायु तथा नसा शल्यचिकित्सा विभागका प्रमुख डा. गोपालरमण शर्माकाअनुसार थापालाई अस्पताल ल्याउँदा अति नै जटिल किसिमको चोट दिमागमा लागि रगत जताततै छरिएको अवस्था थियो । थप परीक्षणका क्रममा उनको मिर्गौला, मुटु तथा शरीरका अन्य भागमा असर परिसकेको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ ।

गम्भीर अवस्थामा नेपाल मेडिसिटी पु¥याइएका उनलाई चिकित्सकहरुले बचाउन हरसम्भव प्रयास गरेका थिए । तर, चिकित्सकहरुको प्रयास सफल हुन सकेन । उनी सिन्धुपाल्चोकको बाह्रबिसे—३ का स्थायी वासिन्दा हुन् ।

थापा कसरी छतबाट खसे भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ