२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’

स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको विवादास्पद अभिव्यक्तिले संसदमा प्रवेश पाएको छ । शुक्रबार संसदमा बोल्दैं नेकपा एमालेका सांसद ठाकुर गैरेले आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ भन्दैं प्रश्न गरेका छन् ।

सांसद गैरेले आत्महत्याको प्रवृति बढिरहेका बेला त्यसको समाधानको उपाय निकाल्नुपर्नेमा मन्त्रीले नै आत्महत्या दुत्साहन गर्ने अभिव्यक्ति दिएको बताए । ‘आत्महत्यालाई दुरुत्साहन गर्नुपर्ने, आत्महत्या गर्ने प्रवृति किन विकास भयो भन्ने कुरा खोज अनुसन्धान गरेर त्यसको समाधानको उपाय निकाल्नुपर्ने ठाउँमा सरकार स्वयंमले, मन्त्री स्वयंमले म कहाँ डोरी लिन आउनु, मेरो ढोका अगाडि आत्महत्या गर्नु भन्ने अभिव्यक्तिबाट के बुझ्ने सभामुख महोदय ?,’ उनले भने ।

गैरेले अगाडि थपे, ‘देशले के बुझ्ने, समाजले के बुझ्ने गम्भीर प्रश्न खडा भएको छ । यस्तो अभिव्यक्ति दिने छुट मन्त्रीहरुलाई हुन्छ कि हुँदैन । यस्तो अभिव्यक्ति गर्ने मान्छेहरु मन्त्री भइरहन मिल्छ कि मिल्दैन् ?’

केही दिनअघि स्वास्थ्यमन्त्री बस्नेतले सरुवा गरेको ठाउँमा जान नमानेर आत्महत्या गर्ने धम्की दिने कर्मचारीलाई आफूले डोरी दिने र आफ्नै गेटमा आएर आत्महत्या गर्नु भन्दिनु भनेर स्वास्थ्य सचिवलाई भनेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरेर कर्मचारीको मनोबल बढाउन उक्त अभिव्यक्ति दिएको प्रष्टीकरण दिएको थियो ।

सांसद ठाकुर गैरेले संसदमा के भने ?

केही दिन अगाडि ठीक यहिबेला अर्को एउटा आपत्तिजनक अभिव्यक्ति स्वासथ्यमन्त्रीज्यूबाट व्यक्त भएको छ । हामीले सदनमा भनिरहेका छौं किन निजामती कर्मचारी सम्बन्धित ऐन तत्काल संसदबाट पास गरेर कर्मचारीहरुका समस्या समाधान गर्नुपर्छ । कर्मचारीतन्त्रमार्फत देशले पाउनुपर्ने जुन भूमिका हो, त्यो प्रभावकारी नभएको प्रभावकारी बनोस भन्ने कुरा हामीले माग गरिरहेका छौं ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका केही कर्मचारीहरु स्वास्थ्य सचिव कहाँ जानुहुन्छ । अपायक सरुवाका कारणले अत्यन्त अप्ठ्यारो प¥यो । त्यो समाधान भएन भने त हामी आत्महत्या गर्न विवश हुनेछौं भन्ने दुःखेसो व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्रालयका सचिवले उक्त कुरा मन्त्रीलाई गएर बताउनुभयो । र, मन्त्रीले भनिदिनुभयो इच्छा लागेका व्यक्ति मसँग डोरी लिन आउनु, मेरो ढोका अगाडि आत्महत्या गर्नु । के अब सरकारले समस्याको समाधान आत्महत्यामार्फत गर्न खोजेको हो ?

कोभिड आयो त्यसको समाधान भ्याक्सिनले ग¥यो, लम्पी स्कीन छ, हामीले माग गरिरहेका छौं त्यसको समाधानका लागि भ्याक्सिन । देशमा अनेकन समस्या आउँछन्, त्यसको समाधान खोजिनुपर्छ । किशोर—किशोरीहरु राम्रो रिजल्ट नआएर आत्महत्या गरिरहेका छन् । ऋण तिर्न नसकेर मानिसहरु आत्मदाह गरिरहेका छन्, आत्महत्या गरिरहेका छन् समस्या समाधान गर्न नसकेर, सरकारले ध्यान नदिएर मान्छेहरु आत्महत्या गर्न विवश छन् । ठीक त्यही बेला आत्महत्यालाई दुरुत्साहन गर्नुपर्ने, आत्महत्या गर्ने प्रवृति किन विकास भयो भन्ने कुरा खोज अनुसन्धान गरेर त्यसको समाधानको उपाय निकाल्नुपर्ने ठाउँमा सरकार स्वयंमले, मन्त्री स्वयंमले म कहाँ डोरी लिन आउनु, मेरो ढोका अगाडि आत्महत्या गर्नु भन्ने अभिव्यक्तिबाट के बुझ्ने सभामुख महोदय ?

देशले के बुझ्ने, समाजले के बुझ्ने गम्भीर प्रश्न खडा भएको छ । यस्तो अभिव्यक्ति दिने छुट मन्त्रीहरुलाई हुन्छ कि हुँदैन । यस्तो अभिव्यक्ति गर्ने मान्छेहरु मन्त्री भइरहन मिल्छ कि मिल्दैन् ? हामीले देशका समस्याहरु समाधान गर्ने उपाय खोज्नका लागि सदनबाट निकास निकाल्नु, उपाय खोज्नु, आत्महत्यालाई निरुत्साहित गर्नु त्यसका लागि वातावरण बनाउनुको सट्टा आत्महत्यालाई प्रोत्साहन गर्ने तर्फ जाने तरिका अत्यन्त दुःखद् छ म सभामुखमार्फत सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ