२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान

आर्थिक वर्ष ०७९/०८०मा ९९ लाख रुपैयाँको बेरुजु फर्स्योट नहुँदा ५० लाख रुपैयाँ रोकियो


काठमाडौं—सरकारले नेपाल चिकित्सक संघ (एनएमए)लाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन सम्बन्धी प्रशिक्षण संचालन गर्न भन्दै आगामी आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ अनुदान छुट्याइदिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि ७ वटै प्रदेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको प्रशिक्षण चलाउने र एनएमए जर्नल प्रकाशित गर्न भनेर सो रकम विनियोजन गरेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको अनुदान शीर्षकमा उल्लेखित सो रकम स्वास्थ्य मन्त्रालयबाट भन्दा पनि सिधैं अर्थ मन्त्रालयबाट परेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । एनएमएले वि.सं. २०७१ बाट भवन निर्माणका लागि भनेर नियमित अनुदान लग्दैं आएको थियो । भवन निर्माण गरिसक्दा १० करोड अनुदान पाएको एनएमएले ९९ लाख रुपैयाँ अनुदान भने फर्स्यौट नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

तर, एनएमएका अध्यक्ष डा. अनिलविक्रम कार्की कार्य सम्पन्न भएर भवन विभागले समेत सिफारिस गरिसकेको र सम्पूर्ण कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकिएको बताउँछन् । ‘हामीले सबै काम सकेर कागजात मन्त्रालयलाई बुझाइसकेका छौं,’ उनले भने, ‘भवनको पनि काम सम्पन्न भएको सिफारिस दिइसकेको छ । यो भवन नै विभाग आफैले बनाएको हो ।’

सो ९९ लाख रुपैयाँ फर्स्यौट नहुँदा आर्थिक वर्ष २०७९/०८० का लागि छुट्याएको एनएमए जर्नलको अनुदान २५ लाख रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी, एनएमए कन्फ्रेन्सका लागि माग भएको थप २५ लाख रुपैयाँ पनि निकासा हुन सकेन् । एनएमए स्रोतकाअनुसार सरकारी अनुदानमा बनेको एनएमएको ७ तले भवनबाट वर्षकै ७२ लाख रुपैयाँ भाडा उठ्ने गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा १७ वटा संस्थालाई २४ करोड ३५ लाख रुपैयाँ अनुदान छुट्याएको थियो । तर, महालेखा परीक्षकको कार्यालय र संसदको अर्थ समितिले मापदण्ड बिना अनुदान नबाँड्न निर्देशन दिएपछि सो रकम निकासा हुन रोकिएको थियो । अनुदान रकम वितरण नहुँदा झण्डै साढे २४ करोड रुपैयाँ राज्यको खातामा बचेको छ । प्रत्येक वर्ष पहुँचका आधारमा स्वास्थ्यको अनुदान एकै खाले संस्थालाई वितरण हुँदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ