२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए

विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए

७ दिने सूचना निकालेर एकै व्यक्तिका कम्पनीबीच प्रतिस्पर्धा गराएर खरिद गरिएको आरोप


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अर्को बदमासी सत्तहमा आएको छ । कोभिड—१९ का बेला उनले ७ दिने सूचना निकालेर करोडौं मुल्यमा भेन्टिलेटर किनेर गोदाममा थन्काएको पाइएको छ ।

एचडियु संचालनका लागि आकस्मिक खरिद भन्दैं ५० लाख रुपैयाँका दरले २० थान भेन्टिलेटर खरिद गरिएको थियो । तर, ती भेन्टिलेटर कोभिड—१९ महामारी सकिएपछि अर्थात ३१ भदौं २०७९ स्टोरमा आइपुगेका थिए । रोचक त के भने मिलेमतोको आशंका हुने गरी खरिद गरिएका उक्त भेन्टिलेटरहरु जडान गर्नका लागि ८ साउन २०८० मा मेडिकल स्टोर प्रमुख संजीवकुमार कर्णले अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई पत्र लेखेका छन् ।

अर्को रमाइलो त के छ भने कोभिड—१९ को समयमा विपीले पटक—पटक खरिद गरिएका भेन्टिलेटर मूल्य फरक—फरक रहेको छ । ५० लाख रुपैयाँका दरले किनिएका २० वटा भेन्टिलेटरभन्दा ठिकअघि किनिएका २० वटा भेन्टिलेटरसहितका वेड २१ लाख रुपैयाँमा खरिद गरिएको थियो । त्यसपछि पनि २० वटा ३१ लाखका दरमा खरिद गरिएको थियो ।

५० लाख रुपैयाँ प्रति गोटाका भेन्टिलेटर ७ दिने सूचना निकालेर खरिद प्रक्रिया अगाडि बढाइएकोमा त्यसको टेण्डर भने पाँच महिनापछि मात्रै अगाडि बढाइएको थियो । टेण्डर प्रक्रियामा पनि एउटै व्यक्तिका दुई वटा कम्पनीले शंकास्पद रुपमा प्रतिस्पर्धा गरेको भन्दैं अख्तियारमा उजुरीसमेत परेको छ । एमबीएम सर्जिकल एण्ड डेन्टल हाउस प्रा.लि. र एमबी मेडी टेक प्रा.लि. दुवैका मालिक सन्दीप राउत हुन् । उनको एमबीएम सर्जिकलले उक्त खरिद ठेक्का पाएको थियो ।

सबै सामान जोडिसकेपछि मात्रै भुक्तानी दिने भनिएपनि ८० प्रतिशत रकम विपीका पदाधिकारीहरुले पहिले नै भुक्तानी दिएका छन् । एमबीएमलाई १५ मंसिर २०७९ मा सनराइज बैंकका तीन वटा चेकमार्फत ८ करोड ४० लाख रुपैयाँ भुक्तानी दिइएको थियो । तर, सबै सामान जोडिसकेपछि मात्रै भुक्तानी गर्ने भन्ने सम्झौता विपरित आएको सामानको प्याक समेत नखोली भुक्तानी दिइएको विपी स्रोतले जानकारी दिएको छ ।

सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अहिले यो विषयमाथि छानविन गरिरहेको छ । अख्तियारका इटहरीका प्रमुख तीर्थराज चिलुवालले यस विषयमा अदालतमा पनि मुद्धा परेको बताए । ‘यस विषयमा अदालतमा मुद्धा पनि परेको रहेछ,’ उनले भने, ‘अदालतमा मुद्धा चलिरहेको विषयमा हामीले बोल्न हुँदैन । हाम्रोमा पनि उजुरी परेको हुँदा आन्तरिक रुपमा छानविन भइरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ