२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअखाद्य मिठाइ बेच्ने टिपटपलाई २ लाख जरिवाना

अखाद्य मिठाइ बेच्ने टिपटपलाई २ लाख जरिवाना


काठमाडौं- काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई  २ लाख रुपैयाँ जरिवाना गरेको छ । सोमबार काठमाडौं-१७ नघलस्थित उक्त पसललाई तीजका दिन उपभोक्तालाई म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेचेको भन्दै जरिवाना गरिएको हो ।

खान नमिल्ने गरी बिग्रिएको दुधवरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो गरेका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार प्राप्त सूचनाका आधारमा उक्त पसल अनुगमन गरिएको थियो ।

पसल अनुगमनमा कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको टोली पुगेको थियो । अनुगमन टोलीले फाटेको दुधमा दुधवरी बनाइएको, पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार नभएको निरीक्षण अधिकृत डा. झाले बताए ।

उनले भने, ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’ झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैंलाई नष्ट गर्न लगाइएको थियो ।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गर्न, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ