२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा

कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा


काठमाडौं–कतार सरकारले नेपालमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिदिने अनौपचारिक प्रस्ताव गरेसँगै सरकारी अस्पताल र गैरसरकारी अस्पतालबीच कसले प्रोजेक्ट आफ्नो हातमा पार्ने भन्ने प्रतिस्पर्धा चलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न प्रस्ताव गरेका छन् ।

नेपालमा बाल स्वास्थ्यका लागि महत्वपूर्ण ठानिएको कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने दूरगामी महत्वको परियोजना हो । त्यही कारण स्वास्थ्यका अधिकारीहरुले कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने परियोजनामा कतारको साथ खोजेका हुन् ।

सरकारी अधिकारीहरुले सरकारी स्वामित्वको कान्तिमा कतारी सहयोग जुटाउने प्रयास गरिरहेका बेला भर्खरै बन्दैं गरेको मुटु रोग विशेषज्ञ डा भगवान कोइराला नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले व्यक्तिगत तवरमा उक्त प्रस्ताव आफ्नो पक्षमा पार्ने कसरत गरिरहेको छ ।

आगामी २५ अप्रिलमा कतारी राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने कार्यतालिका छ । जसका लागि विभिन्न मन्त्रालयहरुले कतार सरकारसँग सहकार्यका लागि विभिन्न परियोजनाका प्रस्ताव तयार पारिरहेका छन् । तर, सुविधासम्पन्न बाल अस्पताल बनाइदिने प्रस्ताव भने कतार सरकारकै तर्फबाट आएको हो ।

कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष असर पर्ने र देखिने परियोजना प्रस्ताव गर्न स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पटक–पटक अनौपचारिक छलफलसमेत गरिसकेका छन् । सो छलफलमा स्वास्थ्य मन्त्रालयका तर्फबाट कान्ति अस्पताललाई सुपरस्पेसियालिटी सेवा प्रदान गर्न सरकारले तयार पारेको परियोजनालाई नै सहयोग गर्न प्रस्ताव गरिएको छ । सो परियोजनाको लागत मुल्य ६ देखि ८ अर्ब लाग्ने अनुमान गरिएको छ । स्रोतकाअनुसार कतार सरकारले पनि १० अर्बसम्मको अस्पताल बनाउने परियोजना अपेक्षा गरेको छ ।

सो प्रस्तावपछि कतार च्यारिटी, कतारबाटै आएका कतारी सरकारका उच्च अधिकारीहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र कान्ति बाल अस्पतालका निर्देशक बसेर सो विषयमा वृहत छलफल गरेका थिए । मन्त्रालय स्रोतकाअनुसार पटक–पटकको छलफलपछि कतारी अधिकारी,  च्यारिटीका व्यक्तिहरु कान्ति अस्पतालको स्थलगत भ्रमणमा पनि गएका थिए ।

तर, अचम्म त के छ भने कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई हेल्थआवाजले यस विषयमा जानकारी माग्दा विषयमा आफूलाई थाहा नै नभएको बताए । जबकी उनी निर्देशक भएपछिको पहिलो काम नै मन्त्रालयमा उनले कतारी अधिकारीहरुलाई डिपीआरको विषयमा प्रस्तुती दिएका थिए ।

‘ऐतिहासिकतासँग जोडिएको, बाल स्वास्थ्य, जनतामा प्रभाव पर्ने र सहयोग गरेको देखिने खालको परियोजना प्रस्ताव गर्न अनौपचारिक प्रस्ताव मन्त्रालयलाई आएको थियो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयमा प्रस्ताव आएअनुसार सबै मिल्ने र डिपीआर पनि तयार भइसकेको कान्ति बाल अस्पताल प्रस्ताव गरिएको हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कतारका राष्ट्र प्रमुख आउँदा हुन सक्ने सम्झौताहरुको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाइकिएको बताए । उनले बाल स्वास्थ्यका विषयमा पनि केही प्रस्ताव गएको जानकारी दिए । ‘कतारका प्रमुख आउँदा गरिने प्रस्ताव धेरै अघि क्याबिनेट पठाइ सकिएको छ,’ उनले भने, ‘अब के–के सम्झौता हुन्छ त्यो त सरकार–सरकार बीचको कुरा हो ।’

स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको विस्तृत परियोजना प्रस्ताव गरेर पठाएको थियो । तर, डा. कोइरालाले सरकारी स्रोतबाट नै कतार सरकारलाई पठाइएको प्रस्तावमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पनि राख्न सफल भएका छन् । पछिल्लो समय कोइराला अस्पताल निर्माणकै लागि भनेर सरकारी तथा निजी संस्थाहरुबाट पनि तीब्र रुपमा आर्थिक सहयोग जुटाइरहेका छन् ।

तर, डा. कोइरालाको ठूलो प्रोजेक्ट भएका कारण आवश्यक पर्ने लगानी भने जुटाउन सकिरहेका छैनन् । किओचको काठमाडौं प्रोजेक्टमा मात्रै २ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसबाहेक उसले दमकमा पनि बाल अस्पताल बनाउँदैंछ । किओचको वेवसाइटमा उल्लेख भएअनुसार हालसम्म ५८ करोड ५३ लाख रुपैयाँ संस्थालाई सहयोग दिने प्रतिवद्धता आएको छ, जसमध्ये ३८ करोड ९९ लाख रूपैयाँ मात्रै उसले सहायता प्राप्त गरेको छ । लागतअनुसारको रकम जुट्न नसक्ने अवस्था देखेपछि डा. कोइराला पनि कतार सरकारको प्रस्तावित प्रोजेक्ट किओचमा लैजान कसरत गरिरहेका छन् ।

बाल अस्पताल सम्बन्धी परियोजनाका लागि समन्वय गरिरहेको एक संस्थाका प्रतिनिधीले दुवै संस्थाको परियोजना प्रस्ताव पठाइएको तर अहिलेसम्म जवाफ नआएको हेल्थआवाजलाई बताए । ‘कतार सरकारले चाहे बमोजिमको परियोजनाका लागि दुई संस्था देखिए र दुवैको प्रस्ताव गरिएको छ,’ ती प्रतिनिधीले भने, ‘एकैपटक दुवै संस्थाको परियोजना अगाडि बढ्दैन्, पहिले एउटाको हुन्छ ।’

कतार सरकारले बाल अस्पताल परियोजनामा ठूलो सहयोग गर्ने मनसाय देखाएसँगै किओचका अधिकारीहरु अर्थ, परराष्ट्र मन्त्रालयका साथै उच्च राजनीतिक नेतृत्वलाई भेटेर सरकारी अस्पतालले धान्न नसक्ने भन्दै परियोजनाको पक्षमा लबिइङ गरिदिन आग्रह गरिरहेका छन् ।स्रोतकाअनुसार किओचका कतिपय पदाधिकारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीहरुलाई भेटेर स्वास्थ्य, अर्थ, परराष्ट्रमा लबिइङ गरिदिन अनुरोध गरिरहेका छन् । यस विषयमा डा. कोइरालाको प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ