काठमाडौं—नेपाल डेन्टल एशोसिएसनले नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमात्रै दन्त चिकित्सकहरु कार्यरत रहेको जनाएको छ । शुक्रबार विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा एशोसिएसनका महासचिव डा. प्रदीप भण्डारीले जारी गरेको विज्ञप्तीमा चार दर्जन हाराहारीमा मात्रै सरकारी दरबन्दीमा दन्त चिकित्सकहरु कार्यरत रहेको जनाइएको छ ।
दन्त चिकित्सकको सरकारी दरबन्दी न्यून भएकाले तत्काल दन्त चिकित्सकको दरबन्दी बताउन पनि एशोसिएनले माग गरेको छ । ‘अहिले मुलुकमा चार दर्जनको हाराहारीमा मात्र सरकारी दरबन्दीमा दन्त चिकित्सकहरु कार्यरत छन् । दन्त चिकित्सकहरुको सरकारी दरबन्दी न्यून भएकाले तत्काल दन्त चिकित्सकको दरबन्दी बढाउनुपर्ने आवश्यकता छ,’ डा. भण्डारीले भने । उनले देशभर रहेका प्रत्येक पालिकास्थित १५ शय्याका अस्पतालहरुमा कम्तिमा २ जना दन्त चिकित्सक र केही दन्त सहायकको दरबन्दी आवश्यक रहेको उल्लेख गरे ।
एशोसिएसनका अध्यक्ष डा. अजयकुमार शाहले दन्त उपचारका लागि नेपालका दन्त चिकित्सकहरु पूर्ण रुपमा योग्य रहेको बताउँदैं उपचारका लागि विदेश जान आवश्यक नरहेको बताए ।
अन्तर्राष्ट्रियस्तरमा ४ हजार जनसंख्या बराबर १ जना दन्त चिकित्सकलाई प्रभावकारी मानिन्छ । तर, नेपालमा कम जनशक्तिका कारण मुख तथा दन्त उपचारमा १ जना चिकित्सकको भागमा ३० हजार जनसंख्या पर्छ । हाल नेपाल मेडिकल काउन्सिलमा करिब ७ हजार दन्त चिकित्सक दर्ता छन् ।
मुलुकमा ७ वटा डेन्टल कलेज सञ्चालनमा छन् भने वर्षेनी स्वदेश तथा विदेशमा गरी १२ सय हाराहारीमा दन्त चिकित्सक उत्पादन हुने गरेका छन् ।
संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा एक पटक दाँच किराले खाने, गिँजाको समस्या र मुखको क्यान्सरको समस्याबाट पीडित हुन सक्ने वरल्ड डेन्टल फेडरेसन (एफडिआई)को तथ्यांकमा उल्लेख छ । मुखको क्यान्सर सूर्ति तथा सूर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरु उच्च जोखिममा रहेको देखाएको छ । उसले हरेक ६—६ महिनामा दन्त परीक्षण गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
एशोसिएसनले विकसित मुलुकमा मुख तथा दन्त स्वास्थ्यमा कुल बजेटको ५—१० प्रतिशतसम्म छुट्याउने गरेतापनि नेपालमा दन्त उपचारमा न्यून बजेट रहेको भन्दैं ध्यानाकर्षण समेत गराएको छ ।
२० मार्चलाई संसारभर विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाइने गरेको छ । यस वर्ष ‘ह्याप्पी माउण्थ इज …अ ह्याप्पी लाइफ’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस मनाइदैंछ ।