२०८३ भदौ २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग


काठमाडौं – नेपाल मेडिकल कलेज र वीरगञ्जको नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट र धादिङका बाढी पीडित परिवारका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेपाल र नेशनल मेडिकल कलेजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।

सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीको नेतृत्वमा गएको टोलीले अर्थ मन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेको हो ।

रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुवै मेडिकल कलेजका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँ जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताइन ।

‘यो विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ । देशको जुनसुकै क्षेत्रमा जनता पीडामा छटपटाइरहेका छन् भने हामीले पनि आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्रो सोच हो । राज्यलाई गर्नुपर्ने जुनसुकै प्रकारको सहयोग गर्न हामी तत्पर छौँ,’ नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. यासमिनले भनिन् ।

राहत रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्‍याएको योगदानको प्रशंसा गरे । देश संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सकेको योगदान गर्नुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रले देखाएको उदारता र सहकार्यप्रति कृतज्ञ रहने बताए ।

स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ यी कलेजले संस्थागत सहयोग गरेका हुन् । विपद्को समयमा आर्थिक सहयोग मात्र नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य र ऐक्यबद्धता पनि महत्वपूर्ण हुने भन्दै दुवै मेडिकल कलेजले मानवीय सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

दुई स्वास्थ्य संस्थाको यो संयुक्त पहलले विपद्को घडीमा निजी स्वास्थ्य क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ । प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यका प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यो योगदानले ‘विपद्मा सबैको साथ’ भन्ने मानवीय भावनालाई थप बलियो बनाएको छ ।

नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ