२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीमा निर्माणाधीन प्रादेशिक आयुर्वेदिक अस्पतालको ७५ प्रतिशत प्रगति

धनगढीमा निर्माणाधीन प्रादेशिक आयुर्वेदिक अस्पतालको ७५ प्रतिशत प्रगति


काठमाडौं—सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निर्माणाधीन प्रादेशिक आयुर्वेदिक अस्पतालको प्रगति ७५ प्रतिशत पुगेको छ । २०७४ सालको फागुनबाट निर्माण थालिएको अस्पतालको ७५ प्रतिशत भौतिक प्रगति पुगेको हो । आउँदो आर्थिक वर्षदेखि सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण थालिएको ५० शैय्याको आयुर्वेदिक अस्पतालको संरचना निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

पञ्चकर्म योगासहितको ५० शैय्याको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासिन्दालाई सहज हुने विश्वास लिइएको छ । काममा कुनै अवरोध नभए निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न हुने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर रविन बस्नेतले बताए ।

सुरुमा जग्गा प्राप्तिका लागि विवाद भएपछि आयुर्वेदिक अस्पतालको निर्माण कार्यलाई गति दिन कठिनाइ भएपनि पछिल्लो समय निर्माण कार्यले गति लिएको छ । सो जग्गामा रहेका केही रुख काट्नुपर्ने अवस्था रहेकोले भोलीका दिनमा त्यसले समस्या निम्त्याउने सक्ने आशंका गरिएको छ ।

झण्डै १६ करोडको लगानीमा तीन वटा भवन निर्माणका लागि गौरी पार्वती एमके टिडिआर जेभीसँग ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएकोमा अहिले संरचना निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । विं.सं. २०७७ सालको असारसम्म निर्माण अवधि रहेकोमा त्यसअघि नै निर्माण सकिनेमा आयोजना कार्यालय र निर्माण कम्पनी पनि ढुक्क रहेको निर्माण व्यवसायी चन्द्र शाहले बताए ।

आयुर्वेद अस्पतालमार्फत विशेषज्ञ सेवा दिने उद्धेश्य राखिएको छ । निर्माण व्यवसायीको सक्रियताका कारण निर्माण कार्यले गति लिएको बताइएको छ । प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिनेछन् भने यसले सुदूरपश्चिम प्रदेशका बिरामीलाई आयुर्वेदिक चिकित्सामार्फत उपचार सेवा पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ