२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश२४ वर्षपछि एक्सरे सेवा

२४ वर्षपछि एक्सरे सेवा


बुटवल—प्रदेश ५ को केन्द्रका रुपमा विकास भैरहेको रुपन्देहीको ग्रामीण क्षेत्रमा स्वास्थ्य उपकरण नहुँदा स्थानीयहरु आधारभूत स्वास्थ्य  सेवा लिनबाट बन्चित हुने गरेका छन् ।

विशेष गरी जिल्लाको दक्षिणी क्षेत्रमा स्वास्थय संस्थाहरुमा आवश्यक औषधीसँगै उपकरणहरु नहुँदा समस्या हुने गरेको छ । मधेशी समुदायको बाहुल्यता भएका स्थानहरुमा स्वास्थ्य संस्थाहरुमा उपकरण तथा स्वास्थ्यकर्मीहरु समेत नहुँदा उनीहरुलाई समस्या हुने गरेको छ ।

‘हामी कहाँ उपचार गर्नलाई राम्रो डाक्टर समेत छैनन् । औषधी पाउने कुरा त परैको हो,’ स्थानीय नरेश यादवले गुनासो गर्दै भन्छन्, ‘पैसा हुनेहरु बुटवल भैरहवा जान्छन् । नहुनेहरुका लागि त समस्या छ ।’

पछिल्लो समयमा ग्रामीण क्षेत्रहरुमा पनि स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने काम नभएको भने होइन् । काम भएपनि अति आवश्यकीय साधन समेत नहुँदा स्थानीय मर्कामा पर्ने गरेका हुन् ।

केहि दिनअघि मात्र रुपन्देहीको ग्रामीण क्षेत्र धकधईमा स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्ष पछि एक्सरे सेवा सुरु भयो । स्वास्थ्य सेवा विभागको सहयोगमा तीन वर्षअघि एक्सरे मेसिन आएको भएपनि पूर्वाधारको समस्याका कारण मेसिन संचालन हुन सकेको थिएन । जिल्लाको रोहिणी गाउँपालिका धकधईस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आफ्नै भवन बनेपछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएपछि स्थानीय खुसी भएका छन् ।

‘मेसिन त आयो त्यसलाई चलाउने मान्छे आउने हुन की होइनन्,’ स्थानीय सरस्वती लोद चिन्ता व्यक्त गर्छिन् । पूरानो एक्सरे मेसिन र यसवर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्स—रे मेसिन गाउँमा संचालनमा आएका छन् ।  स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्स—रे सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख सनोजकुमार यादव बताउँछन् ।

सेवा सञ्चालन सुरु भएसँगै रोहिणी र ओमसतिया गाउँपालिकाका बिरामीहरु भैरहवा र बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । एक्स—रे मेसिन नहँुदा मासिक करिब डेढ सय बिरामी यस क्षेत्रबाट बाहिर जानुपर्ने बाध्यता थियो । स्थानीय नागरिकको हितलाई ध्यानमा राखेर एक्स—रे सेवा सुरु गरिएको अध्यक्ष यादवले बताए । मेसिनको पूर्व राज्यमान्त्री अब्दुल रज्जाकले उद्घाटन गरेका थिए ।

अहिले प्रत्येक गाउँपालिकामा १५ शैय्यासहितको स्वास्थ्य संस्था हुनुपर्ने नेपाल सरकारको नीति रहेको भएपनि कार्यन्वयन भने भएको देखिदैन् । सेवा सुचारु गर्नुभन्दा पनि यसको निरन्तरता नै ठूलो हुनेमा स्थानीय अगुवाहरुको जोड छ ।

अहिले स्वास्थ्य केन्द्रले उपलब्ध जनशक्तिबाटै एक जनालाई तालिम दिई सेवा सुरु गरेको छ । सधै रेडियोलोजिस्ट नभएपनि हाललाई साताको एक दिन रेडियोलोजिस्टको व्यवस्था हुने गरी सेवा प्रदान गरिएको स्वास्थ्य केन्द्रका अध्यक्ष वीरबहादुर क्षेत्री बताउँछन् ।

२०५२ सालमा स्वास्थ्यचौकीको रूपमा स्थापना भएको दुई वर्षपछि २०५४ मा स्वास्थ्य केन्द्र भएको थियो । दैनिक गर्मी सिजनमा करिब एकसय जना र जाडो मौसममा करिब ५० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य केन्द्र्रका प्रमुख डाक्टर उमेश गुप्ताले बताए ।

अस्पतालले हाल इमर्जेन्सी सेवा, प्रसुती, ल्याब्रोटोरी, निःशुल्क औषधी फार्मेसी, मानसिक स्वास्थ्य, पोषणलगायतको सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ