२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा जथाभावी फोहर फ्याँक्नेलाई दण्ड जरिवाना

तिलोत्तमामा जथाभावी फोहर फ्याँक्नेलाई दण्ड जरिवाना


बुटवल – पोलिथिनजन्य फोहोर जथाभावी जलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने ठहर गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खुला पोलिथिन अभियान सञ्चालन गरेको छ। पोलिथिनजन्य फोहोरलाई तोकिएबमोजिम व्यवस्थापन गर्ने गरी नगरबासीमा चेतना बढाउँदै शुन्य खुला पोलिथिन अभियान चलाइएको हो । सिम नेपाल नामक संस्थासँगको सहकार्यमा चलाइएको अभियान अन्तर्गत् नगरका विभिन्न टोल, विद्यालय शुन्य खुला पोलिथिन क्षेत्र घोषणा भैरहेका छन् ।

यसैक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ लाई मंगलबार साँझ आयोजित एक कार्यक्रमबीच शुन्य खुला पोलिथिन क्षेत्र घोषणा गरिएको छ । यो शुन्य खुला पोलिथिन घोषणा हुने नगरको मात्र नभइ मुलुककैं पहिलो वडा भएको छ । घोषणाअघि नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।

उक्त ¥याली मंगलापुर चोकमा पुगेर घोषणासभामा परिणत भएको थियो । समारोहमा वडालाई शुन्य खुला पोलिथिन वडा घोषणा गर्दै नगरप्रमुख घिमिरेले वडाध्यक्ष नारायण न्यौपानेलाई प्रमाणपत्र प्रदान गरे । उनले अव छिटै नै सिंगो नगर शुन्य खुला पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै यो अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरे ।

वडा नम्बर ९ शुन्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेकोमा बधाई दिंदै उनले अव यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । शुन्य पोलिथिन घोषणा भएसँगै उक्त वडाले अव प्लाष्टिकजन्य फोहर सडक, सार्वजनिकस्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने नीति बनाएको छ । “घोषणा भएपछि अव हाम्रो जोड यसको प्रभावकारी कार्यान्वयनमा रहन्छ, अव सवारीसाधनबाट जथाभावी फोहर फयाँक्ने वा घर, पसल लगायतबाट प्लाष्टिकजन्य फोहर फ्याँक्ने जरिवानामा पर्छन्”–वडाध्यक्ष न्यौपानेले भने ।

स्वच्छ र सफा नगरले मात्रै नगरबासी स्वस्थ हुने र नगर पनि सुन्दर हुने भन्दै उनले अव सबै वडाबासी कार्यान्वयनमा जुट्ने बताए । वडामा क्रियाशिल विभिन्न टोल कमिटीलाई परिचालन गरी सिंगो वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको भन्दै उनले यसमा दिनरात खट्ने सिम नेपाल र सम्पूर्ण वडाबासीलाई धन्यवाद दिए ।

सिम नेपालले तिलोत्तमा नगरपालिकालाई यही माघ महिनाभित्रै शुन्य पोलिथिन घोषणा गर्ने गरी अभियान चलाइरहेको हो । यसको नेतृत्व वातावरणविद निपेश ढाकाले गरेका छन् । अव एकसाताभित्र नगरका सबै वडालाई खुला शुन्य पोलिथिन घोषणा गरिने अभियान्ता ढाकाले बताए । “अव हामी अन्तिम चरणमा आएका छौं, एकसाताभित्र नगरका सबै १७ वटै वडा शुन्य पोलिथिन घोषित हुन्छन्, त्यसपछि बृहत कार्यक्रमका बीच सिंगो नगरलाई शुन्य पोलिथिन घोषणा गर्छौं”–ढाकाले भने ।

नगरले यसअघि नै पोलिथिन झोला निषेध घोषणा गरेको थियो । प्लाष्टिक र पोलिथिन फरक प्रकृति भएको भन्दै सुरुआतमा पोलिथिन मुक्त घोषणा गरिंदैछ । पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउँदैछ ।

पोलिथिन भनेका चकलेट, बिस्कुट, चाउचाउका प्याकेट हुन् । जसको पुनःप्रयोग हुदैन । वातावरणलाई उच्च जोखिममा राख्छन् । प्लाष्टिक भनेका भाडा वर्तनसहित कुर्चीहरु हुन् । जसको पुनःप्रयोग गर्न सकिन्छ । यी दुई वस्तुलाई छुट्टयाएर नगरपालिकाले व्यवस्थापन गर्न लागेको हो ।

सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएपछि तिलोत्तमा नगरपालिकाले यो अभियान थालेको हो । यहाँ नगरपालिकाले हरेक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ