२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा ब्लड बैंक स्थापना गर्ने पहल

तिलोत्तमामा ब्लड बैंक स्थापना गर्ने पहल


– बीपी गौतम

तिलोत्तमा—रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना गर्ने पहल सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाले ब्लड बैंक स्थापनाको पहल गरेको हो । तिलोत्तमा नगरपालिकाले ब्लड बैंक स्थानपनाका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

जनघनत्वको वृद्धिसँगै स्वास्थ्य संस्था समेत वृद्धि हुँदै जाँदा यहाँ ब्लड बैंकको आवश्यकता महसुस भएको हो । तिलोत्तमामा एक सय शैंय्याको क्रिमसन अस्पताल सञ्चालनमा छ भने सरकारी स्तरको मेडिकल कलेज समेत निर्माण हुँदैछ । नगर प्रमुख वासुदेव घिमिरेले नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि आगामी वर्षमा बजेट विनियोजन गर्ने बताए ।

शनिबार मणिग्राममा आयोजित रेडक्रसको १४ औं उपशाखा सभामा नगर प्रमुख घिमिरेले रेडक्रसले माग गरेअनुसार रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि जग्गा व्यवस्था र भवन निर्माणका लागि आगामी वर्ष बजेट व्यवस्था गर्ने बताए ।

सो अवसरमा रेडक्रसले आफ्ना आजीवन सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आजीवन सदस्यहरु जेष्ठ नागरिक विजयप्रसाद धिताल, दिलबहादुर कार्की, प्रेमबहादुर भण्डारी, मुरारीप्रसाद अर्याल, गिरिराज पाठक र गिरिधारी वस्याललाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यसै अवसरमा संस्थाका निवर्तमान सभापति कृष्णप्रसाद गौतम, संस्थाका सल्लाहकार राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य गोपाल भट्टराई, ६३ औं पटक रक्तदान गर्ने संस्थाका आजीवन सदस्य पूर्णचन्द्र सुवेदीलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे, नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेकबहादुर थापा, रुपन्देही जिल्ला शाखा सभापति प्रेमलाल उदासले संयुक्त रुपमा कदर पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरे ।

मणिग्राम उपशाखाको कार्यक्षेत्र भित्र पर्ने ३३ विद्यालयका जुनियर÷युवा रेडक्रस सर्कल मध्ये उत्कृष्ट शान्ति नमुना माध्यमिक विद्यालय र उत्कृष्ट शिक्षक नायक तिलोत्तमा ११ स्थित विश्व एकता एकेडेमीका शिक्षक प्रदिप पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपशाखाका सभापति टेकबहादुर थापाले तिलोत्तमा नगरपालिका भित्र सहरीकरण बढ्नुकासाथै जनघनत्व पनि बढ्दै गएको र अस्पताल खोल्ने क्रम पनि बढेकाले रक्तसञ्चार सेवा केन्द्र सञ्चालन अपरिहार्य रहेको बताए । राष्ट्रिय सभाका नव—निर्वाचित सदस्य भट्टराईले तिलोत्तमामा एउटा रक्तसञ्चार सेवा केन्द्र आवश्यक रहेकाले नगरपालिकाले जग्गा व्यवस्थापन गर्न र त्यसका लागि आफ्नो स्थानबाट पनि प्रयास गर्ने बताए ।

रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले मणिग्राम शाखाको रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रस्ताव सरहानीय रहेको जनाए । हाल बुटवल रक्त सञ्चार सेवा केन्द्रबाट रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौंसम्मबाट माग हुने गरेकाले व्यवस्थापन गर्न कठिन हुने गरेको बताउँदै उनले तिलोत्तमामा बैंकको स्थापना हुन सक्यो भने रगतको व्यवस्थापनमा सहज हुने स्पष्ट पारे ।

रेडक्रस मणिग्राम उपशाखाका आजीवन सदस्य तथा शान्ति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले रक्तसञ्चार सेवा केन्द्र स्थापनाका लागि जग्गा व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गरे । संस्थाका सचिव अर्जुन उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ