२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशफागुन १ देखि दादुरा–रुबेला खोप अभियान, झण्डै ३० लाख बालवालिकालाई खोप दिइने

फागुन १ देखि दादुरा–रुबेला खोप अभियान, झण्डै ३० लाख बालवालिकालाई खोप दिइने


बुटवल—फागुन १ देखि दादुरा–रुबेला खोप अभियान सुरु हुँदैछ । राष्ट्रिय यो अभियान अन्तर्गत पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् । स्वास्थ्य कार्यालय, रुपन्देहीले जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रथम चरणमा बुटवल उप—महानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ । पहिलो चरणको अभियान फागुन १ देखि ९ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । यसपछि बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालवालिकालाई पोलियो थोपा समेत खुवाइने खोप अधिकृत शर्माले बताए । कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालवालिकाको हातमा चिन्ह समेत लगाइनेछ ।

यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालवालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालवालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालवालिका पूर्णतः खोपबाट वञ्चित छन् ।

यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् । रुपन्देहीको सन्दर्भमा १५ प्रतिशत बालवालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ । तिलोत्तमा नगरपालिका उप–प्रमुख जागेश्वरी चौधरीले यो अभियानमा लक्षित समूहका सबै बालवालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिने बताइन् । ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।

यो अभियान अन्तर्गत देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालवालिकालाई खोप दिइन लागिएको छ । नियमित खोप तथा अभियानहरुमा बालवालिकालाई दादुरा–रुबेला खोप दिइएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देशमा पूर्णरुपमा निवारण भैसकेको छैन । हाम्रै देशको केही ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहने भएकाले स्वास्थ्य मन्त्रालयले अभियान चलाउन थालेको हो ।

यो अभियानमा दिइने दादुरा–रुबेला खोपको पूरक (थप) मात्रा हो । यो अभियानमा खोप लगाएतापनि नियमित खोपमा उपलब्ध हुने दादुरा–रुबेला खोप लगायत ११ वटा रोग विरुद्धको खोपहरु १५ महिनासम्म तालिकाअनुसार अनिवार्य लगाउनै पर्दछ । केहि गरी नियमित खोप छुट्टी हाले पनि सकेसम्म छिटो (२४ महिना भित्र) पूरा गर्ने पर्छ ।

यो खोप लगाएपछि अन्य खोपहरुमा जस्तै हल्का ज्वरो आउन सक्ने (२४ घण्टासम्म), सुई लगाएको ठाउँमा केहि दुख्ने र सुन्निन सक्ने, खोप लगाएको केहि बालबालिकामा १ हप्तापछि दादुरा जस्तै बिमिरा देखा पर्न सक्ने सामान्य असरहरु हुने र आफै ठीक हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

के हो दादुरा–रुबेला ?

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल बताउँछन् । बालवालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ ।

रोगबाट बच्न नियमित खोपमार्फत बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

यदि सबै बालवालिका ९ र १५ महिना गरी दादुरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वाश नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ