२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयले विशेषज्ञ चिकित्सक पठाएपछि सुधार हुँदै डडेल्धुरा अस्पतालको सेवा

मन्त्रालयले विशेषज्ञ चिकित्सक पठाएपछि सुधार हुँदै डडेल्धुरा अस्पतालको सेवा


धनगढी—डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएपछि केहि राहत भएको छ । समायोजनसँगै चिकित्सकबिहिन जस्तै बनेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालको सेवा सुविधामा विस्तार भएको हो ।

अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङलगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ ।

सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कदैं गएका बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चार जना विशेषज्ञ चिकित्सक पठाएको छ ।
अस्पतालमा हाल ९ जना विशेषज्ञ चिकित्सक रहेका छन् । जसमा दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाडजोर्नी, एक जना जनरल फिजिसियन, एक जना दन्तरोग, एक जना एनेस्थेसिया, दुई जना बाल रोग र एक जना एमडीजीपीसहित ९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

विशेषज्ञ चिकित्सक आएसँगै हाड जोर्नी, बालरोग ,महिला तथा प्रसुती रोग, एन्डोस्कोपी सहित जनरल शल्यक्रिया सेवा सुचारु भइसकेको अस्पतालका निमित्त मेसु जगदीशचन्द्र विष्टले बताए । ‘उहाँहरु भर्खरै आएकाले अस्पतालका केही अन्य सेवा अवरुद्ध सेवापनि छिट्टै सुचारु हुन्छन्,’ उनले भने ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सबैभन्दा बढी समस्याका रुपमा रहेको हाडजोर्नीका लागि विशेषज्ञ चिकित्सक आइसकेकाले अबका केही दिनमै हाडजोर्नीको शल्यक्रिया सेवा पनि संचालनमा आउने समेत अस्पताल प्रशासनले जनाएको छ ।

मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ गतेको निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नती गर्ने निर्णय गरिएको थियो । हाल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्ससहित नेपाल सरकार तर्फबाट १ सय ९ जनाको दरबन्दी रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ