२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु


काठमाडौं—राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । बिहीबारबाट सुरु भएको यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ का ३५ जिल्लामा चल्नेछ ।

ती ३५ जिल्लाका प्रदेशका १८ लाख बढी बालबालिकालाई उक्त खोप दिइनेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् । दादुरा—रुबेला खोपको दोस्रो चरण भने चैत महिनामा सुरु हुनेछ ।

यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालवालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सुरु भएको हो ।

बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालवालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालवालिका पूर्णतः खोपबाट वञ्चित छन् । यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् । ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।

रुपन्देहीमा तीन चरणमा अभियान सञ्चालन हुने

स्वास्थ्य कार्यालय, रुपन्देहीले जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । प्रथम चरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ । पहिलो चरणको अभियान फागुन १ देखि ९ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । यसपछि बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालवालिकालाई पोलियो थोपा समेत खुवाइने खोप अधिकृत शर्माले बताए । कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्ह समेत लगाइनेछ ।

रुपन्देहीमा १५ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए ।

के हो दादुरा–रुबेला ?

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल बताउँछन् ।

बालवालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ । रोगबाट बच्न नियमित खोपमार्फत बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । यदि सबै बालवालिका ९ र १५ महिना गरी दादुरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ ।

दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वाश नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ