२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले ल्याए ‘टन्सिलले बिगारेको मुटु’

मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले ल्याए ‘टन्सिलले बिगारेको मुटु’


काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले ‘टन्सिलले बिगारेको मुटु’ ल्याएका छन् । विश्व मुटु रोग दिवसको अवसर पारेर शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

‘टन्सिलले बिगारेको मुटु’ पुस्तकमार्फत डा. रेग्मीले समाजका अपहेलित र छायाँमा परेका विपन्न वर्गका बालबालिकाहरूको मुद्दालाई उठाउने प्रयास गरेका छन् । यस पुस्तकमा लेखकले बाथ–मुटु रोगीका विविध पक्षहरूलाई रसिलो र सरल भाषामा प्रस्तुत गरेका छन् । पुस्तकमा नेपाली समाजको चित्र र मुटु रोगका बिरामीहरुको वेदना समेटिएको छ । उनीहरुले गरेको सङ्घर्षको कथामा पनि पुस्तकमा समेटिएको छ ।

नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विकासको इतिहासलाई पुस्तकमा समेटिएको छ । यस भित्र नेपाल हार्ट फाउण्डेसनले बाथ–मुटुरोग रोकथामका लागि चलाएको अभियानको रोचक वर्णन गरिएको छ ।

केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुन पानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यहि गलत घरेलु उपचारशैलीका कारण अहिले लाखौं बालबालिका बाथ–मुटुरोग जस्तो भयंकर समस्याबाट पीडित हुन पुगेका छन् । यस पुस्तकका माध्यमबाट मामुलीजस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयंकर रूप धारण गर्न पुग्छ अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास डा. रेग्मीले गरेका छन् ।

पुस्तक विद्यार्थी, शिक्षक, आमाबुबा, स्वास्थ्यकर्मीलगायत संघ–संस्था, नीति निर्माता, सञ्चारकर्मी चिकित्सा क्षेत्रका विद्यार्थी सबैका लागि उपयोगी छ ।

बाथ–मुटुरोग रोगका कारण नेपालमा वर्षेनी १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यस्तै प्रकारले वार्षिक ८ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंगो र जटिल शल्यक्रिया भैराखेको छ । हजारौंको संख्यामा युवायुवतीहरू यस रोगबाट पीडित भएर अशक्त जीवन बिताइरहेका छन् । सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने यो बाथ–मुटुरोग बारे ९९ प्रतिशत जनतालाई जानकारी छैन । यो छायामा परेको मुटुरोग हो । बाथ—मुटु रोग रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौं बालबालिकाको ज्यान बचाउन सकिन्छ । यस्तै हजारौंको संख्यामा युवायुवतीलाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिन्छ ।

बाथ–मुटुरोगीको मुटुको भल्भ फेर्ने महंगो शल्यक्रिया नेपाल सरकारले निःशुल्क गरिदिएता पनि थोरै लगानीले पुग्ने रोकथामका लागि सरकारी स्तरबाट पहल भएको देखिदैन । यस पुस्तकको प्रकाशनबाट छायाँमा परेको यस मुटुरोगबारे व्यापक जनचेतना अभिबृद्धि हुने अपेक्षा गरिन्छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित यो पुस्तक ३०० पृष्टको र मुल्य ३५० रूपैयाँ रहेको छ । यस पुस्तकको बिक्रीबाट प्राप्त हुने सबै रकम बाथ–मुटुरोग रोकथामका लागि स्थापित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

विगत ३० वर्षदेखि मुटुरोगको रोकथाममा लागेका डा. रेग्मी कुशल चिकित्सकका साथै सामाजिक अभियन्ता र लेखक पनि हुन् । उनका अन्य एक दर्जन पुस्तकहरू प्रकाशित भएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ