२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सा र मोडलिङमा डा. एरिका : भन्छिन्, ‘म दुवै गर्न सक्छु’

चिकित्सा र मोडलिङमा डा. एरिका : भन्छिन्, ‘म दुवै गर्न सक्छु’


डा. एरिका रानाभाट । मनमोहक पोखरामा जन्मिएकी र त्यही हुर्किएकी हुन् । पेशाले उनी डाक्टर हुन् तर मोडलिङमा पनि उनको उस्तै लगाव छ । राष्ट्रिय टिमका केही प्रतिष्ठित भलिबल खेलाडी उत्पादन गरेको पोखराको फिस्टेल एकेडेमीबाट एरिकाले एसएलसी उत्तीर्ण गरेकी हुन् । त्यहीबाट उनले साइन्समा प्लस टु गरिन् ।

पोखराको ड्यामसाइडमा जन्मिएकी एरिकाको जीवनकै पहिलो प्रायोरिटी डाक्टरी नै थियो । आखिर किन ? भन्छिन्, ‘सबैको सेवा गर्दा खुशी मिल्ने र हेल्प गर्न मन पर्ने बानीले गर्दा भविष्यमा असल डाक्टर बनेर देशको सेवा गर्छु भन्ने थियो । डाक्टरलाई मानिसहरुले भगवानको ठाउँमा राख्छन्, त्यो ठाउँमा बसेर बिरामीको सर्भ गर्न पाइने भएकाले नै डाक्टर बनेकी हुँ ।’ अरुलाई सहयोग गर्न पाउँदा उनलाई एकदमै आनन्द मिल्छ ।

त्यही कारण उनले सन् २०१४ मा एमबीबीएसको इन्ट्रान्स दिइन् । इन्ट्रान्स पास भएपछि काठमाडौं मेडिकल कलेज (केएमसी) मा एमबीबीएस पढ्न थालिन् । सन् २०१८ मा केएमसीबाट एरिकाले एमबीबीएस उत्तीर्ण गरेकी हुन् । एक वर्ष केएमसीमै इन्टर्न गरेपछि यी रजिष्टर्ड डाक्टर अहिले पिजीको तयारी गरिरहेकी छन् ।

डाक्टर बनेपछि कुनै ठूलो प्लाटफर्ममार्फत आफूले हासिल गरेको ज्ञान एक्स्पोलर गर्ने सानैदेखिको उनको हुटहुटी हो । त्यही कारण उनी पढाइसँगसँगै सौन्दर्य प्रतियोगिता र खेलकूदका प्रतिस्पर्धामा भाग लिइरहन्थिन् । सन् २००६ मा मिस लिटिल पोखराको उपाधि जितिन्, त्यही वर्ष मिस लिटिल क्वीन नेपाल फष्ट रनरअप भइन् । बीचमा पढाइलगायतका यावत कारणले उनी मोडलिङ र सौन्दर्य प्रतियोगितामा सक्रिय रहन पाइनन् ।

तर, अहिले पिजीकै तयारीमा व्यस्त रहेका बेला डा. एरिकालाई अलिकति फुर्सद भयो । त्यही मौकामा उनी यतिबेला मिस युनिभर्स नेपाल सौन्दर्य प्रतियोगितामा भाग लिइरहेकी छन् । सौन्दर्यको ठूलै प्लाटफर्म खोजिरहेकी उनका लागि मिस नेपाल पहिलो रोजाइमा हुन सक्थ्यो । त्यही कारण यस वर्षको मिस नेपालमा भर्चुअल अडिसनमा सहभागी भइन् । त्यसबाट टप २२ मा पर्न सफल भएर ओरेन्टेसनका लागि काठमाडौं आइन् । काठमाडौंमा उनको हाइल अलि कम भएपछि उनले त्यही दिन मिस युनिभर्स नेपालमा आवेदन दिइन् ।

‘मिस युनिभर्स नेपालमा एज, वेटजस्ता कुराहरुको बार रहेनछ,’ डा. एरिका सुनाउँछिन् ‘त्यही कारण यो प्लाटफर्म मेरो लागि उपयुक्त छ भन्ने लागेर सहभागी भएँ ।’ गोरो अनुहार र आकर्षक जिउडालकी धनी २४ वर्षीया युवा चिकित्सक एरिका ५ फिट ३.८ इन्च अग्ली छन् । आयोजक संस्थाले ५ सय आवेदकबाट ९९ जना छानेको त्यसमा सकारात्मक सोचाइकी धनी डा. एरिका पनि अटाइन् । अहिले उनी मिस युनिभर्स नेपालको टप ५० मा पुगिसकेकी छन् ।

नयाँ—नयाँ ठाउँ घुम्न र नयाँ मान्छेहरु भेट्न डा. एरिका मन पराउँछिन् । त्यसबाहेक उनको पेन्टिङमा पनि रुचि छ । भन्छिन्, ‘मलाई पेन्टिङ मेडिटेसनजस्तै लाग्छ ।’ खेलकूदमा पनि उतिकै रुचि भएकी उनलाई मनपर्ने खेल भलिबल र बाँस्केटल हुन् । उनी एथलेस्टिक पनि खेल्छिन् । विभिन्न नृत्य प्रतियोगितामा समेत भाग लिइसकेकी उनको नशामा नृत्य पनि उतिकै गडेर बसेको छ ।

दाल, भात र मासुकी पारखी उनी नयाँ स्वादहरु टेष्ट गर्न पनि मन पराउँछिन् । परिस्थिती हेरेर पहिरन छनोट गर्ने उनी जहाँ जस्तो सुट हुन्छ, त्यही पहिरन लगाउँछिन् । मेडिकल पर्सन भएकाले उनको धेरैजसो समय अध्ययनमै बित्छ । त्यसबाहेक बाँकी समय पेन्टिङ र घुमघामलाई दिन्छिन् ।

‘सेवा र सौन्दर्य’मा विशेष लगाव भएकी यी सुन्दरी चिकित्सकको नजरमा सुन्दरता के हो ? भन्छिन्, ‘मनको शुद्धतामा नै सौन्दर्य झल्किन्छन् । सकारात्मक सोचाइले सौन्दर्यलाई बढाउँछ ।’ र अन्त्यमा हामीले डा. एरिकालाई सोध्यौ—चिकित्सा र मोडलिङ एकसाथ सम्भव छ । उनले कन्फिडेन्ट जवाफ फर्काइन्, ‘आइ क्यान डु बोथ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ