कोरोना भाइरसको महामारीले पूरा विश्वकै अर्थव्यवस्थामा नराम्री असर पुर्याएको छ। कयौंले आफ्नो प्रियजन गुमाए। कयौं अझै महामारीसँग अस्पतालमा लडिरहेका छन्।
यस्तै, एक भावुक बनाउने केस उत्तर-पश्चिम ब्रिटेनको मुख्य शहर ग्रेटर म्यानचेस्टरमा देखिएको छ। जहाँ एक विवाहित वृद्ध दम्पतीले कोरोना महामारीको कारण एकवर्षपछि भेटेका छन्।
८३ वर्षीय स्टेनले हार्बर र उनकी ८१ वर्षीया श्रीमती मेभिस हार्बरले पछिल्लोपटक २०२०मा ग्रेटर म्यानचेस्टरको बोल्टनमा हिल केयर ग्रुपको लिभर एज केयर होममा एक-अर्कालाई देखेका थिए। त्यो भेट कोरोना महामारीभन्दा अघि एकसाथ समय बिताउने अन्तिम अवसर थियो भन्ने कुराबाट त्यससमय उनीहरु अनजान थिए। स्टेनले सेप्टेम्बर २०१९मा आफ्नो मानसिकस्थिति खराब भएकोले आफ्नो घर फर्किनु पर्ने भयो।
यता, कोभिड-१९को प्रतिबन्धको कारण केयर होममा रहेकी मेभिस एकवर्षसम्म आफ्नो श्रीमानलाई भेट्न जान पाइनन्। सोहि क्रममा वृद्ध दम्पतीले आफुहरु एक-अर्का विना अधुरो भएको महसुस गरे। तर, २०२१ को सुरुवातमा मेभिसले आफ्ना प्यारो श्रीमानको स्वास्थ्यको चिन्ताको कारण केयर होममा एक रेजिडेन्टका रूपमा समावेश गराउने फैसाला गरिन। र, उनको श्रीमानले १४ दिनको क्वारेन्टाइनको अवधि पूरा गरेपछि वृद्ध दम्पतीले पुनर्मिलनको आनन्द उठाएका छन्। यस भावुक पललाई हेर्ने केयर होमको कर्मचारीहरु सबैको आखाँ रसायो।
स्टेनले आफ्नो श्रीमतीलाई फुलको बुकी दिए र भने , ‘मैले मेभिसलाई भेटे, मलाई विश्वास नै भैरहेको छैन। यो एउटा सपना जस्तै लागिरहेको छ।’ यता, मेभिसले भनिन्, ‘मैले उनलाई यति याद गरे कि उसलाई देख्दा म स्तब्ध भए र मेरो आखाँबाट आशु खसे। म अब कहिल्यै उनीबाट टाढा हुन चाहन्न।’
‘हामी स्टेन र मेभिसको पुनर्मिलनबाट निकै खुसी छौँ। यहाँ बस्ने सबै व्यक्तिको आखाँ रसायो।, ‘केयर होमकी प्रबन्धक लीसा मार्टिनले भनिन्।
-एजेन्सी