२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल अर्थोपेडिक्स अस्पताल र सिविनबीच मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धि सम्झौता

नेपाल अर्थोपेडिक्स अस्पताल र सिविनबीच मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धि सम्झौता


काठमाडौं—जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताल र बालबालिकाका क्षेत्रमा काम गरिरहेको सिविन नेपालबीच शारीरिक अशक्तता भएका बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ । सोमबार नेपाल अर्थोपेडिक्स अस्पतालका मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारी र सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिविनले बालबालिकाको वार्डमा बिरामी बालबालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउनेछ । यस्तै, कमजोर समुदायबाट अस्पतालमा भर्ना भएका बालबालिकाका लागि खानेकुरा, यातायात र चिकित्सकीय सहयोगजस्ता आपत्तकालीन सहयोगका लागि सिविनले १०९८ हेल्पलाइन उपलब्ध गराउनेछ ।

यसैगरी, सिविनले अस्पतालमा रहेका डक्टर र नर्स र विशेष गरी वार्डमा खटिएका नर्सहरुलाई मानव संसाधनको विकासका लागि मनोवैज्ञानिक परामर्श अभिमुखीकरण र तालिम उपलब्ध गराउनेछ । साथै, सिविनले अभिमुखीकरणमार्फत अस्पतालका अन्य कर्मचारीहरुलाई पनि बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा सचेतना गराउने सम्झौतामा छ ।

यस्तै, सिविनले अर्थोपेडिकसँग सम्बन्धित रोगका बारेमा अस्पतालमा सिफारिस गर्नेछ । अस्पतालले बालबालिका र किशोर—किशोरीको मानसिक स्वास्थ्य समस्याका बारेमा अभिमुखीकरण र तालिम कार्यक्रमका लागि आवश्यक व्यवस्थापन गर्ने सम्झौतामा छ ।

अस्पतालले मुलुकका विभिन्न स्थानमा गरिने घुम्ती शिविरका क्रममा सिविनलाई आवश्यक सूचना उपलब्ध गराउने छ जसले गर्दा सिविनले बालबालिका र समुदायलाई शिविरबाट लिन सकिने फाइदा र आफ्नो कार्यक्षेत्रबारे उत्साह जगाउन सहयोग पुग्नेछ ।

शारीरिक अशक्तता भएका बालबालिकाका लागि कुनै अवसर भएको अवस्थामा अस्पतालले सिविनलाई जानकारी गराउनेछ । दुवै संस्थाले साझेदारीमा भएका प्रगतिका बारेमा अद्यावधिक गर्न आवधिक बैठक सञ्चालन गर्ने र थप सहकार्यका सम्भावना उजागर खोज्ने सहमति पनि भएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ