२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यविराटनगर महानगरपालिकाको स्वास्थ्य योजना: अस्पताल सञ्चालनदेखि नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्म

विराटनगर महानगरपालिकाको स्वास्थ्य योजना: अस्पताल सञ्चालनदेखि नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्म


कोरोना संक्रमणको उच्च जोखिममा छ– विराटनगर महानगरपालिका । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको अवस्था छ । दिनहुँ एकसयभन्दा बढी संक्रमित थपिरहेका छन् । प्रदेश, संघिय सरकारसँग समन्वय र नीजि क्षेत्रसँग सहकार्य गरि कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली बताउँछन् ।

‘हामीले राहत वितरणदेखि क्वारेन्टाइन बनाउने, संक्रमितको उपचार गर्न आइसोलेसन बनाउने काम गरेका छौं,’ उनले भने, ‘विदेशबाट आएकाहरूलाई महानगरपालिकाले बनाएको क्वारेन्टिनमा राखेका छौं ।’

महानगरपालिकाले विराटनगर–१९ बैजनाथपुर स्वास्थ्य चौकी, काली सेवा सदन, मारवडी सेवा सदनलाई कोभिड आइसोलेसन बनाएको छ । गम्भिर अवस्थाका बिरामीलाई कोशी कोभिड अस्पताल पठाउने गरेको छ । प्रमुख पराजुली महानगरपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।

कोरोनासँगै महानगरपालिकाले अस्पताल सञ्चालन गर्ने देखि नगरबासी कोही बिरामी भएर रगतको आवश्यकता परेको अवस्थामा निःशुल्क उपलब्ध गराइरहेको उनको भनाई छ ।

विराटनगर–५ मा सर्पदंश उपचार केन्द्र संचालनको तयारी

विराटनगर महानगरपालिका वडा नम्बर ५ मा सर्पले टोकेका बिरामीको उपचारका लागि सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरिएको छ । यो आर्थिक वर्ष भित्र पूर्वाधार र प्राविधिकहरु तयार गरी आउँदो आर्थिक वर्षको सुरुबाट सर्पदंश सेवा संचालन गरिने महानगरपालिकाले जनाएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा हाल ७ जना एच.ए. र अनमी रहेका छन् । सर्पदंशको लागि छुट्टै प्राविधिक ल्याउने तयारी गरिएको विराटनगर–५ का वडाअध्यक्ष मीनकुमार आचार्यले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा वडाभित्र सर्पदंश उपचार सेवा सुरु गर्न प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट निकासा भएको छ । ‘मन्त्रालयबाट विनियोजित बजेटले २ कोठा भवन निर्माणको काम भइरहेको छ,’ वडा अध्यक्ष आचार्यले भने, ‘सर्पदंश उपचार सेवा सञ्चालन गर्न आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको छ । अब जनशक्तिको आवश्यकता छ ।’

यसको व्यवस्था विराटनगर महानगरपालिकाले गरिदिएपछि वडाभित्र सर्पदंश सेवा संचालनमा आउने उनको भनाई छ । अहिले सर्पले टोकेको बिरामीको उपचारका लागि यहाँका नागरिक कोशी अस्पताल जानुपर्ने बाध्यता छ । कोशीमा पनि भरपर्दा उपचार पद्धती नभएकोले यहाँ संचालन हुने सर्पदशंको उपचार भरपर्दा र गुणस्तरीय सेवा प्रदान हुने वडा अध्यक्ष आचार्यको दाबी छ । सुनसरीको तल्लो भेगको केही स्थान र विराटनगर महानगरपालिका भरीका बिरामीलाई सेवा पु¥याउने उद्देश्यले सर्पदंशको उपचार सेवा सुरु गर्न लागेको उनले बताए ।

यसैगरी विराटनगर महानगरपालिका वडा नम्बर १५ ले पन्ध्र शैय्याको अस्पताल सञ्चालनको तयारी गरेको छ । विपन्न सामुदायका नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउन बर्थिङ सेन्टर स्थापना गरि अस्पताल संचालनको तयारीमा रहेको विराटनगर–१५ वडा अध्यक्ष असलम आलमले जानकारी दिए ।

करिब चार कठ्ठा क्षेत्रफलमा बर्थिङ सेन्टर बन्न लागेको छ । ‘निर्माण पुरा हुन लागेको छ । अहिले ढलानको कामहरू भइरहेको छ,’ वडा अध्यक्ष आलमले भने, ‘बर्थिङ सेन्टर संचालनमा आएपछि यहाँका बासिन्दाले स्थानीय स्तरमा २४ सै घन्टा स्वास्थ्य सेवा पाउनेछन् ।’

विराटनगर १ मा १५ शैय्याको अस्पतालको तयारी

विराटनगर महानगरपालिका वडा नम्बर १ मा पनि १५ शैय्याको अस्पताल संचालन गर्ने तयारी भएको छ । उपचार नपाएर कसैको पनि ज्यान नजाहोस भन्ने उद्धेश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको वडा नम्बर १ का वडा अध्यक्ष उद्धव अर्यालले बताए । उक्त अस्पताल सञ्चालनमा आएपछि २४ सै घन्टा एमबीबीएस तहका चिकित्सकका साथै नर्सहरुले सेवा दिनेछन् ।

आफ्नै घर आँगनमा हस्पिटल हुुनुपर्छ भन्ने मान्यताले हस्पिटल संचालन गर्ने तयारी गरिएको आर्याल बताउँछन् । ‘फागुन महिनाभित्र १५ शैय्याको अस्पतालको लागि शिलान्यास हुन्छ,’ उनले भने, ‘भवन निर्माणका लागि पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट पनि विनियोजन भएको छ ।’ उक्त अस्पताल २ करोड लागतमा निर्माण हुन लागेको हो ।

विराटनगर– १६ दरैया बस्तीमा स्वास्थ्य चौकी

विराटनगर–१६ स्थित दरैयाबस्तीमा आधारभुत स्वास्थ्य चौकी स्थापना भएको छ । विराटनगर महानगरपालिकाले उक्त वडाका स्थानीयबासीमा स्वास्थ्य सेवा पहुँच बढाउने उद्देश्यका साथ केहीदिन अघि मात्र स्वास्थ्य चौकीको स्थापना भएको हो ।

१ जना डाक्टर र १ जना नर्स रहने गरी स्थापना गरिएको स्वास्थ्य चौकीबाट गर्भवती सेवा, परिवार नियोजन सेवा, खोप सेवा र क्षयरोग तथा कुष्ठरोगका निःशुल्क औषधीहरु लगायतका प्राथमिक स्वास्थ्य उपचारका सेवाहरु उपलब्ध हुने वडाअध्यक्ष मनोज सुब्बाले जानकारी दिए ।

नगरबासीलाई निःशुल्क रगत

विराटनगर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने जो कोही व्यक्तिलाई रगत आवश्यकता परेमा रगतको निःशुल्क रुपमा उपलब्ध हुनेछ । बिरामीलाई रगतको आवश्यकता परेमा निःशुल्क रूपमा क्षेत्रीय रक्तसंचार केन्द्र विराटनगरले उपलब्ध गराउन थालेको हो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार केन्द्रसँग विराटनगर महानगरपालिकाले आवश्यक पर्ने रकम दिने सम्झौता गरेपछि विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । रेडक्रसले रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत प्रति पिन्ट ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

महानगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक बजेट बिनियोजन गरेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालिएको हो । महानगरपालिकाले नगरबासीलाई जो कोही पनि बिरामी भई अस्पताल भर्ना भएर रगतको आवश्यकता परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने निर्णय भदौ १ को नगरसभाबाट गरेको हो । नगर कार्यपालिकाको निर्णयपछि स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन यो वर्ष पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

आवश्यकता अनुसार बजेट थप गर्दै जाने विराटनगर महानरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलिले जानकारी दिए । ‘निःशुल्क रुपमा रगत पाउनको लागी अस्पताल भर्ना भएका बिरामीलाई चिकित्सकको रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ,’ स्वास्थ्य निरीक्षक अलीले भने, ‘सिफारिस लिएर रक्तसंञ्चार केन्द्रमा गएपछि रगत उपलब्ध हुनेछ ।’


क्याटेगोरी : पालिका स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ