२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अस्मिता श्रेष्ठको सल्लाहः पाठेघर बाहिर बच्चा किन बस्छ? कसरी थाहा हुन्छ?

डा. अस्मिता श्रेष्ठको सल्लाहः पाठेघर बाहिर बच्चा किन बस्छ? कसरी थाहा हुन्छ?


मेडिकल भाषामा पाठेघर बाहिर बच्चा बस्नुलाई एक्टोपिक प्रेग्नेन्सी (Ectopic Pregnancy) भनिन्छ। शाब्दिक अर्थमा, एक्टोपिक मतलब सामान्यभन्दा अलग (भिन्न) ठाउँमा र प्रेग्नेन्सी मतलब गर्भधारण भन्ने बुझिन्छ। प्राय, सबै महिलामा शुक्रकिट र डिम्बको भेट डिम्ब नली (फ्यालोपियन ट्युब)को एम्पुला (Ampulla)मा हुन्छ, र पछि पाठेघरमा आएर बच्चा हुर्किन्छ। तर, कहिलेकाहीँ पाठेघरभन्दा बाहिर वा पाठेघरभित्रै तर हुनुपर्नेभन्दा अलग ठाउँमा बच्चा बस्नुलाई नै एक्टोपिक प्रेग्नेन्सी भनिन्छ।

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले “तपाईंको बच्चा ठाउँमा बसेको छैन भन्ने गर्छन्। यो आमा र बच्चा दुवैको लागि जोखिमपूर्ण हुने भएकाले तुरुन्त शल्यक्रिया गरेर बच्चा फाल्ने सल्लाह दिन्छन्। महिलाको शरीरमा पाठेघरसँग दुईटा डिम्ब नली (फ्यालोपियन ट्युब), दुईटा डिम्बाशय (ओभरी) हुन्छ । धेरैजसो अवस्थामा पाठेघर बाहिर बस्ने बच्चा यही नलीमा बस्ने गर्छ।

यसबाहेक कहिलेकहीँ डिम्बाशय, ग्रीवा, पेटमा पनि बस्न सक्छ। तथ्यांक हेर्दा ९७% डिम्ब नली, ०.५% डिम्बाशय, १% पेटमा र बाँकी १.५% पाठेघरको अरू ठाउँमा बस्ने गर्छ। डिम्ब नलीमा बच्चा बस्यो भने, हुर्किँदै जाँदा नली फुट्दछ। पेटमा बस्यो भने बच्चा ठुलो हुन त पाउँछ, परन्तु, स्वस्थ बच्चा जन्माउन सकिने सम्भावना ज्यादै न्यून हुन्छ। एकपटक एक्टोपिक भएपछि पुन: हुने सम्भावना बढ्दछ। तर यसको मतलब बच्चा पाउनै सकिन्न भन्ने हुँदैन।

लक्षण

गर्भावस्थामा जस्तै महिनावारी रोकिनु,
तल्लो पेट दुख्नु,
रगत बग्नु,
धेरै वाकवाकी लाग्नु,
बच्चा बसेर पनि फुटिसकेको रहेछ भने बेहोस हुने,
चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, धेरै रगत बग्ने, मृत्युसमेत हुन सक्छ।

कारण:

१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको भए,
२. ट्युबको पहिला शल्यक्रिया भएको भए,
३. बाँझोपनको उपचारबाट गर्भ रहेको भए,
४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए,
५. आई. यू. सि. डी. फेलर,
६. जन्मजात पाठेघर र ट्युबमा समस्या।

कसरी?

डिम्ब र शुक्रकिटको मिलन डिम्ब नलीमा भएपछि, माथि उल्लेखित कुनै कारणबाट पाठेघरमा जान नसकेर बच्चा बस्न सक्छ। यो बाहेक, गर्भाधान (Fertilization) पछि, पेटमा गएर बस्ने वा पेटमै गर्भाधान भएर पनि बस्न सक्छ।

कसरी थाहा हुन्छ?

महिनावारी रोकिएपछि सुरुमा नै अल्ट्रासाउन्ड गरेर बच्चा पाठेघरमा बसेको छ कि छैन पत्ता लगाउन सकिन्छ।
गर्भ रहेको थाहा भएपछि बिटा एच्. सि. जी. जाँच गराउन सकिन्छ। एक्टोपिक भएको छ भने बिटा एच्. सि. जी. (ß hCG) गर्भवती हुँदाको भन्दा कम बढ्छ। केही लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराएर पत्ता लगाउन सकिन्छ।

उपचार:

अवस्था अनुसार औषधीले सुकाएर, मेडिकल उपचार वा शल्यक्रिया गरेर उपचार गरिन्छ।  फुटेको छ भने तुरुन्तै शल्यक्रिया गर्नुपर्छ। यस्तो अवस्थामा फुटेको डिम्ब नली बचाउन सकिँदैन।

पाठेघरसँगै दुईटा डिम्ब नली हुने हुँदा एउटा मात्रै डिम्ब नली बचाउन सक्दा पनि भविष्यमा पुन: गर्भाधारणको सम्भावना रहिरहन्छ। शल्यक्रिया पेट चिरेर वा पेटमा सानो प्वाल पारेर दुरबीन(ल्याप्रोस्कोपी)बाट गर्न सकिन्छ। शल्यक्रिया गर्दा सकेसम्म डिम्ब नलीलाई बचाइन्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ