२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमोतियाविन्दु र आँखाको सर्जरी

मोतियाविन्दु र आँखाको सर्जरी


डा.बेन लिम्बु
वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान

उमेर बढेसँगै धेरै मानिसहरुमा माोतिविन्दुको समस्या देखा पर्ने गर्छ । धेरै कारणहरुले आँखामा मोतिविन्दु हुने भए पनि प्रमुख कारण भनेको बुढ्यौली नै हो । ५० वर्ष माथिका मानिसहरुमा मोतिविन्दु देखिने बढी सम्भावना हुन्छ । आँखामा चोटपटक लाग्नु, स्टोरोइडको गलत प्रयोग गर्नुजस्ता कारणले पनि मोतिविन्दु हुन सक्छ । केही व्यक्तिहरुमा भने जन्मजात मोतिविन्दु भएको पाइन्छ । काठमाडौस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र वार्षिक सरदर १४ देखि १६ हजार मानिसको आँखाको अप्रेसन हुने गरेको छ, जसमा ६० प्रतिशत अप्रेसन मोतिविन्दुसँग सम्बन्धित छन् ।

लक्षण
मोतिविन्दु भएपछि आँखा दुख्ने, बिझाउने, चिलाउने, पोल्ने, आँखा स्पष्ट नदेख्ने हुन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यस्तो कुनै लक्षण देखिँदैन् । मोतिविन्दु भएको मानिसको आँखा विस्तारै धमिलो हुँदै जान्छ । यद्यपि सामान्यतया ४० वर्ष कटेपछि अधिकांश मानिसमा नजिकको वस्तु स्पष्ट नदेख्ने समस्या देखिन्छ । तर, यो मोतिविन्दु होइन् । मोतिविन्दु भएको व्यक्तिले धेरै नजिकको नभै केही टाढाको वस्तु बादल लागे अस्पष्ट देख्छन् । यसको समयमै उपचार भएन भने दृष्टि नै गुम्छ ।

कसरी रोकथाम गर्ने
प्रायः मोतिविन्दुलाई रोक्न सकिंदैन् । तर, केही कुराहरुमा ध्यान दिइयो भने यसलाई केही समय पर धकेल्न सकिन्छ । त्यसका लागि आँखामा चोट लाग्न दिनुहुन्न । सूर्यको किरणमा हुने ‘अल्ट्रा भ्वाइलेट विकिरण’बाट आँखालाई बचाउन कालो चस्मा लगाउनुपर्छ । त्यस्तै भिटामीनयुक्त सन्तुलित भोजनको प्रयोगले पनि मोतिविन्दु हुनबाट बचाउँछ ।

उपचार
मोतिविन्दुले बालबालिकाको दृष्टि विकासमा अवरोध गर्ने भएकाले जतिसक्दो छिटो यसको उपचार गर्नुपर्छ । तर, वृद्धवृद्धाको भने दृष्टि विकास भैसकेको हुने भएकाले उनीहरुको आवश्यकता अनुसार अप्रेसन गर्न सकिन्छ । धेरै मानिसहरुले आँखाको अप्रेसनलाई अन्य अप्रेसन जस्तै गरी बुझ्छन् । तर, आँखाको उपचार केही फरक छ ।

अप्रेसनअघि कस्ता कुरामा ध्यान दिनुपर्छ ?
—अप्रेसनपछि दुई हप्तादेखि एक महिनासम्म आँखाभित्र पानी पार्न नहुने भएकाले अप्रेसन गर्नु अघि राम्रोसँग नुहाउने ।
—मुटु रोगीहरुले तीन दिन अघिदेखि मुटु रोगको औषधि खान बन्द गर्ने ।
—कुनै औषधिको एलर्जी छ भने डाक्टरलाई जानकारी दिने ।

अप्रेसनपछि कस्ता कुरामा ध्यान दिनुपर्छ ?
—धुलो र चोटबाट बचाउन सुरक्षा कवच प्रयोग गर्नुपर्छ ।
—धेरै कडा कुरा चपाउँदा अप्रेसन गरिएको घाउ बल्झने हुँदा कडा कुरा चपाउनु हुँदैन् ।
—पहिलो एक महिनासम्म आँखामा पानी पार्नु हुँदैन् ।
—तातो पानीमा उमालिएको सफा कपासले आँखाको बाहिरी भाग सफा गर्नुपर्छ ।
—आवश्यकताअनुसार दिनको २–३ पटक धुनुपर्छ ।
—डाक्टरको सल्लाहअनुसार नियमित औषधि प्रयोग गर्नुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ