२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोभिड—१९ को उच्च जोखिममा मुख स्वास्थ्य उपचार

कोभिड—१९ को उच्च जोखिममा मुख स्वास्थ्य उपचार


ज्यान रहे सबैपछि गरौला भन्दै पर्ख र हेर को सिद्धान्तमा यो दन्त चिकित्सा सेवा र पेसा विश्व स्वास्थ्य संगठनले माघ १६ मा जनस्वास्थ्य संकटकाल लगाएको केही हप्तादेखि लगभग साढे ५ महिनादेखि बन्द नै रह्यो । मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरणहरुको प्रयोग गरिरहनुपर्ने भएकाले हावाका फोकाहरु निरन्तर उत्पादन हुने भएकाले नेपाल मात्र नभई युरोप,अमेरिका तथा अफ्रिकामा समेत नियमित दन्त सेवा लामो समय बन्द रहे ।

कोभिड—१९ सर्ने माध्यम नाक,आँखा र मुखबाट निस्कने स—साना पानीका फोका र ती रहेका सामानको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेको हावा हो । नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्द कोठामा उपचार हुने,बिरामीले मास्क लगाउन नमिल्ने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले उच्च जोखिममा मुख एवं दाँतको उपचार छ । त्यसैमा र्‍याल ग्रन्थी कोरोना भाइरसको भण्डारण हो ।

र्‍याल ग्रन्थीमा सुषुप्त अवस्थामा रहेका भाइरस फैलन नदिन उपचारमा संलग्न जनशक्तिबाट बेलैमा दाँत तथा मुखका रोगहरुको निदान र सुरक्षा सावधानीका साथ उपचार आवश्यक रहन्छ । हालै मात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा ३ हजार र हाँच्छयु गर्दा १० हजार पानीका फोकाहरु निस्कने तथ्यले झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हुन कि भन्ने त्रास बढेको छ ।

सामान्य उपचारका निम्ति फोन र सामाजिक सञ्जालमार्फत सल्लाह लिन सकिन्छ । आकस्मिकबाहेकका अन्य समस्याहरुको लागि अहिलेको समयमा अस्पताल जान जरुरी छैन । किनभने, अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो । अस्पताल तथा क्लिनिकले पनि सबै बिरामीलाई कोरोना संक्रमितको हुन सक्ने सम्झी पीपीई लगाएर मात्र उपचार गर्न जरुरी छ । किनभने, अझै पनि अत्याधिक लक्षणविहिन छन् ।

अपनाउनुपर्ने सावधानीहरु

१. फोन वा अन्य माध्यमबाट अस्पताल आउनुपर्ने वा नपर्नेबारे सम्पर्क गर्ने ।

२. अस्पताल जानुपर्ने भए उपचारका लागि निश्चित समय वा एपोइन्टमेन्ट लिने ।

३. घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने र निरन्तर साबुन पानीले हात धुने,अन्य समयमा स्यानेटाइजर बोकी हातमा दल्ने ।

४. सम्भव भए संक्रमणको जोखिम न्यूनीकरण गर्न साथीहरु नलगेर अस्पताल जाने ।

५. अस्पतालमा साबुन पानीले हात धुने र जथाभावी छुने,थुक्ने,बोल्ने नगरी २ मिटरको फरकमा बसी पालो कुर्ने ।

६. लक्षण तथा रोग,यात्राको इतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसारका सावधानी अपनाई उपचारकक्ष भित्र छिर्ने ।

७. उपचार कुर्सीमा बस्नु पहिले साबुन पानीले हात धुने,हेड र बुट कभर लाउने,०.२ प्रतिशत सिएचएक्स,पोभिडिन आयोडिन वा १ प्रतिशत हाईड्रोजन पेरोअक्साइडले मुख कुल्ला गर्ने ।

८. पैसा तिर्न अनलाइन माध्यमको प्रयोग गर्ने ।

९. उपचार कक्षमा अक्सिजनको उपलब्धता गर्ने । बिरामीमा अक्सिजन मात्रा ९३ प्रतिशत तल गए अक्सिजन थेरापी सुरु गर्ने ।

१०. कुनै जटिलता आइहाले प्राथमिक उपचार गर्न सक्ने व्यक्तिको पहिचान गरिराख्ने ।

११. सम्पर्कमा मेडिकल चिकित्सक,स्वास्थ्य संस्था र एम्बुलेन्सबीच सम्झौता गरिराख्ने । आवश्यक पर्दा समन्वय गर्ने ।

१२. बिरामीको अपोइन्टमेन्ट १५ मिनेट कम र २ बिरामीबीच ५ मिनेट खाली राख्ने ।

स्पष्ट बिरामी प्राथमिकता, संक्रमण नियन्त्रण,रोग सर्ने माध्यमको न्यूनीकरण र सेवा प्रदायक तथा सेवाग्राहीको सुरक्षा तथा क्रस संक्रमणको बन्देज आजको आवश्यकता भएकाले त्यसैलाई आत्मसात गर्नैपर्छ ।

रिओपन अमेरिका, डेन्टिष्ट्री भन्ने मुल मुद्धासहित विभिन्न देशहरुमा निर्देशिका बन्ने र समयक्रमसागै संशोधन भइरहेका छन् । कोरोना भाइरस महामारीका सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्त तथा मुख स्वास्थ्य सेवा हुँदाहुँदै पनि दैनिक तथा नियमित दन्तसेवाहरु लामो समय बन्द गरिंदा भोलिका दिनमा दाँतका समस्याले सामान्यबाट जटिल र जटिलबाट थप जटिलता निम्त्याउने र अंगभगंको सम्भावना रहन्छ ।

कोरोनाको महामारी पनि छिट्टै सकिने संकेत नदेखिएकाले कोरोनासँगसँगै आफ्नो जीवन तथा व्यवसायलाई चलायमान बनाउन जरुरी भएकाले कोभिड—१९ को महामारीमा दन्त चिकित्सा अन्तरिम निर्देशिका—२०७७ जारी भएको छ । नेपालले विश्व स्वास्थ्य संगठन, सीडिसी, एफडिए तथा विभिन्न देशका प्रोटोकल, निर्देशिकालाई आत्मसात गर्दे देशको स्रोत साधन, उपलब्धता,समाजको प्रकारलाई मध्यनजर गरी तयार पारिएको उक्त निर्देशिका—२०७७ साउन ९ गतेदेखि कार्यान्वयनमा छ । निर्देशिका गतिशील दस्तावेज भएकाले समयानुसार परिमार्जनका लागि सुझाव दिन सकिनेछ ।

अन्तमा, मबाहेक सबै अन्य संक्रमित हुनसक्छ भन्दै जनस्वास्थ्यका न्यूनतम सबै सुरक्षा मापदण्ड अपनाउनुपर्छ । सम्पर्क समय १५ मिनेट कम, अपोइन्टमेन्ट,बिलिङ,रिपोर्ट सम्भव भए डिजिटल अर्थात इलेक्ट्रोनिक गर्दे संक्रमणका स्रोतहरुलाई न्यूनीकरण गर्न जरुरी छ । परम्परागत विधि र उपायका वैकल्पिक उपाय अपनाउँदैं अन्तरव्यत्तिल दूरी २ मिटर, जहाँ र जतिबेला पनि मास्क लगाउने,नियमित साबुनपानी नभए स्यानीटाइजरको प्रयोग, हावा ओहर—दोहर गर्नसक्ने स्थानको छनौट, राम्रो भेन्टिलेसन र सार्वजनिक स्थानमा जहाँ पायो त्यहि नथुक्ने आदत बानी अपनाऔं ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ