२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ

रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ


व्यक्तिगत स्वास्थ्य गुणस्तर जीवनयापनको एक अभिन्न अंग हो । खानाबिना व्यक्ति बाँच्न सक्दैन भने सन्तुलन आहारको अभावमा व्यक्तिमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्दछ । तसर्थ, स्वस्थ जीवनशैलीका लागि पनि व्यक्तिलाई मौसम अनुरुपका भिन्न–भिन्न खानाको आवश्यकता पर्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा, हाल भर्खरै यहाँ वर्षायामको अन्त्यसँगै मौसम जाडोयाममा प्रवेश गर्ने तरखरमा छ । र, यसबीचै कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम पनि रोकिएको छैन । तसर्थ एकातिर मौसम परिवर्तन र अर्कातर्फ रोगको महामारीका बीच कस्तो खानाको सेवन गर्ने? भन्ने बीचको अन्योलताले पनि धेरैलाई सताएको देखिन्छ ।

मौसम परिवर्तनसँगै कोरोना संक्रमणको समेत भय रहँदा सर्वप्रथम हामीले शरीर प्रतिरोध क्षमता बढाउनका लागि स्वस्थकर खानेकुरामा बाहिर तयारी अवस्थामा पाइने खानाभन्दा घरमै पाइने स्वस्थ र ताजा खानालाई बढी प्राथमिकता दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई रोगले चाडै नै सताउने र निको भइसकेपछि पनि ती रोगहरुले कुनै न कुनै रुपमा व्यक्तिहरुलाई सताइ रहन्छ । यसका लागि पनि हामीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने मौसमी फलफूल र तरकारीको पनि उत्तिकै समान रुपमा उपयोग गर्नुपर्छ । तसर्थ, हामीले शरीरमा प्रतिरोध क्षमता वृद्धि गर्नका निम्ति निम्न खानाहरुमा विशेष जोड दिनुपर्छः

अनाज

चामल, कोदो, फाँपर, गहुँ, रायो, जौ र मकैजस्ता अनाज सेवनले शरीरलाई स्वस्थ र स्फूर्त राख्न मद्दत गर्छ । यस्ता खानाबाट मात्रै हामीले ३० प्रतिशत क्यालोरी प्राप्त गर्न सक्छौं । अन्नलाई प्रोटिन, मिनरल्स र भिटामिनको पनि उचित स्रोत समेत मानिन्छ । तसर्थ, यस्ता खानाको सेवनले शरीरमा प्रतिरोध क्षमताको वृद्धि गर्नुका साथै व्यक्तिलाई स्वस्थ रहन समेत महत्वपुर्ण भूमिका खेल्दछ ।

टुसा उम्रेको गेडागुडी
टुसा उम्रेको गेडागुडीलाई प्रतिरोध प्रणाली बुस्ट गर्ने उचित आहारको रुपमा लिइन्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न समेत मद्दत गर्ने यो स्वस्थ मुटुको निम्ति पनि निकै लाभदायक रहेको छ । तसर्थ, यस्ता समयमा व्यक्तिले आफ्नो खानामा सकेसम्म दिनहुँ वा हप्तामा कम्तिमा २ देखि ३ पटकसम्म यस्ता खानालाई आफ्नो आहारमा समावेस गर्नुपर्छ ।

सामान्य खाना
नेपाली भान्सामा दैनिक रुपमा प्रयोग गरिने दाल, भात, तरकारी र रोटीको सम्मिश्रण भएको खानालाई पनि स्वास्थ्यको दृष्टिकोणले उत्तिकै स्वस्थकर मानिन्छ । बाहिर बजारमा सजिलै उपलब्ध हुने खानाको तुलनामा यी खानाले शरीरलाई उचित रुपमा ऊर्जा प्रदान गर्छ भने अर्कातर्फ यस्ता खाना शरीरले सजिलै पचाउन सक्ने भएकाले पनि हामीले यस्ता खानाको प्रयोग गर्नु उपयुक्त रहन्छ ।

पानी र झोलिलो खानाको प्रशस्त सेवन
पानीले शरीरमा भएका विषाक्तलाई पसिना र पिसाबको माध्यमबाट बाहिर फाल्न मद्दत गर्छ । यसको अभावमा शरीर सुख्खा हुने, गल्ने, जाँगर नलाग्ने र विभिन्न अंगहरु सम्बन्धि अनेकौं समस्या देखिने सम्भावना रहन्छ । तसर्थ, हामीले पानीको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । यसका लागि हामीले कम्तिमा दैनिक ८ गिलास पानी अनिवार्य रुपमा पिउनु पर्छ भने कहिलेकाहीँ गेडागुडीको रस, दाल र अन्य झोलिलो खानाबाट पनि यसको पूरक प्राप्त गर्न सकिन्छ ।

भिटामिन सी र जिंकयुक्त खानाको सेवन
स्वास्थ्य शरीरका निम्ति भिटामिन–सी लाई अत्यन्त महत्वपूर्ण पोषक तत्वको रुपमा लिइन्छ । यसले व्यक्तिमा देखिने दीर्घ रोगको जोखिमलाई कम गराउनुका उच्च रक्तचाप, मुटु रोग तथा युरिक एसिडजस्ता आदि रोगबाट पनि टाढा राख्न उत्तिकै मद्दत गर्दछ । यस्तै, जिंकले पनि शरीरमा प्रतिरोध क्षमताको वृद्धि गर्दै मधुमेह रोकथामको निम्ति अहम् भूमिका निर्वाह गर्दछ । तसर्थ यी दुवै हाम्रो शरीरको निम्ति अत्यावश्यक खनिज तत्व हो । यसैगरी, यसको अभावमा पनि व्यक्तिमा कोरोना संक्रमणसंगै अन्य रोग देखिने सम्भावना पनि उच्च रहन्छ । यसका लागि पनि हामीले भिटामिन सी र जिंकयुक्त खाद्यान्नको प्रयोग गर्नुपर्छ । जसअन्र्तगत बन्दा, ब्रोकाउली, हरियो खुर्सानी, एभोकाडो, काजु, सुन्तला, गोलभेडा र गेडागुडी आदि पर्दछ ।

शारीरिक सक्रियता पनि उत्तिकै आवश्यक
शरीरको प्रतिरोधात्मक क्षमता बढाउनको निम्ति खानाको सेवन गरेर मात्रै हुँदैन । शरीरले ती खाना पचाउन पनि उत्तिकै जरुरी रहन्छ । अन्यथाः यसैका कारण शरीरमा ग्यास्ट्रिक, कब्जियत, मोटोपन र अपचका अन्य थप समस्याहरु देखिने सम्भावना पनि उत्तिकै रहन्छ । तसर्थ, यस्ता समस्या नदेखियोस् भन्नका लागि हामी शारीरिक रुपमा पनि उत्तिकै सक्रिय रहनुपर्छ । यसका लागि लामो समय एकै ठाउँमा नबसी कुनै न कुनै काममा संलग्न भएर शरीरलाई सक्रिय राख्नुपर्छ । यसका लागि नियमित शारीरिक व्यायाम, योगा, नृत्य, खेलकुद र साइकलिङजस्ता आदि क्रियाकलापको सहायता लिन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ