२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसो मौसममा किन बढ्छ दम ? यसबाट बच्न के गर्ने ?

चिसो मौसममा किन बढ्छ दम ? यसबाट बच्न के गर्ने ?


यतिबेला नेपालमा चिसो मौसम छ । यो मौसममा दमका बिरामीलाई चिसोले बढी गाह्रो बनाउन सक्छ । विशेषगरी वृद्धवृद्धाहरुमा चिसो मौसममा दम बढेर अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आउँछ । आखिर चिसो मौसममा दम किन बढ्छ ? दमका रोगी वृद्धवृद्धालाई कसरी जोगाउन सकिन्छ ? भन्ने विषयमा स्टार अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा इन्डोक्राइनोलोजिष्ट डा. दीपेन्द्र कार्कीसँग हेल्थ आवाजले गरेको कुराकानीको अंश :

दम दुई तीन किसिमको हुन्छ । कुनै–कुनै एलर्जीको कारण दम हुन्छ । जसलाई चिकित्सा भाषामा ‘आस्थ्मा’ भनिन्छ । अर्को सामान्य एलर्जी भएर हुने दम हुन्छ । त्यसलाई हाइपर रिएक्टिभ एयर वे डिजिज भनिन्छ । यस्तै, वृद्धवृद्धा अथवा दिर्घरोगको रुपमा हुने दमलाई सीओपीडी भन्छौं । दम हुने कारण पनि रोगको नाम अनुसार फरक–फरक हुन्छ ।

विशेषगरी जाडोमा दमका बिरामीहरु बढिरहेका हुन्छन् । किनभने जाडो मौसममा धुलोका कण, केमिकल पोलुसनहरु वायुमण्डलको तल्लो तहमा बसेको हुन्छ । यस्तो बेला हिँडडुल गर्दा धुवाँ धुलो र केमिकलले आक्रमण गर्छ । त्यसपछि दम बढ्छ ।

दमका प्रकार

‘आस्थ्मा’

आस्थ्मा दम कुनै एलर्जीको कारणले हुन्छ । एलर्जी श्वासप्रश्वासको माध्यमबाट धुलो धुवाँको एलर्जी पनि हुन सक्छ अथवा कुनै केमिकल अथवा तनाव इमोसनले पनि दम सुरु गराउन सक्छ ।

हाइपर रिएक्टिभ एयर वे डिजिज

हाइपर रिएक्टिभ एयर वे डिजिज हल्का खालको दम हो । यसलाई आस्थ्माभन्दा हल्का रुपमा लिइन्छ । यो कुनै केमिकल अथवा चिसामा एक्स्पोज हुँदा फोक्सो अथवा श्वासप्रश्वासको नलीहरु एलर्जीसँग रिएक्सन गर्दा खुम्चिएर जान्छ । जसले गर्दा सास फेर्न गाह्रो हुन्छ ।

सीओपीडी

यो दम विशेषगरी वायुप्रदुषण अथवा धुम्रपान र केमिकलको कारणले हुन्छ । धुवाँ र केमिकलमा लामो समय काम गर्ने मानिसहरुमा फोक्सोको संरचना निस्क्रिय भएर जान्छ । साथै, दम देखिन्छ । जसलाई हामी सीओपीडी भन्छौं ।

दम हुने कारण

दमको प्रमुख कारण भनेको धुम्रपान हो । धुम्रपान गर्ने मानिसलाई पछि गएर दम हुने सम्भावना बढी हुन्छ । त्यसैले चुरोट, बिँडी सेवन गर्ने र दाउराको धुवाँमा लामोसमय काम गर्ने मानिस दमको उच्च जोखिममा हुन्छन् ।

दमको अर्को कारण भनेको बंशाणुगत पनि हो । यदि आमाबुबा कसैमा दम छ भने त्यो जीनको माध्यमबाट उनीहरुबाट जन्मिएका सन्तानमा आएको हुन्छ । त्यसैले त्यो जीन कुनैपनि केमिकल अथवा धुवाँधुलोसँग प्रत्यक्ष सम्पर्कमा रहँदा फोक्सोको नलीहरु त्यसलाई रोक्नका लागि खुम्चिन थाल्छ । त्यसको कारणले दम हुन थाल्छ ।

दमका लक्षण

– सास फेर्न गाह्रो हुने

– छाती कस्सिएको महशुस हुने

– सामान्य हिँडडुल गर्दा स्वाँस्वाँ बढ्ने

– अक्सिजनको मात्र कम हुने

– औंला, ओठ, जिब्रो र नाकको टुप्पा निलो भएर जाने

दमबाट बच्ने उपाय

– धुवाँ धुलोबाट टाढा रहने

– केमिकलजन्य पदार्थबाट टाढा रहने

– मास्कको प्रयोग गर्ने

– न्यानो भएर बस्ने


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ