२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिलामा हुने प्रमुख स्वास्थ्य समस्या के हुन्, कसरी जोगिने ?

महिलामा हुने प्रमुख स्वास्थ्य समस्या के हुन्, कसरी जोगिने ?


महिला र पुरुषमा फरक प्रजनन अंग हुन्छ । यसले नै महिलालाई विशिष्ट बनाउँछ । कतिपय रोग यस्ता छन्, जुन रोग पुरुषलाई लाग्छ । तर, महिलालाई लाग्दैन ।
पाठेघर, डिम्बासय, जेनिटेलिया र यौनांग महिलाका यस्ता अंग हुन्, जसको विकास पेटमा भएदेखि नै हुन्छ । यसैले महिलालाई लाग्ने रोगहरू पेटमा भ्रुण अवस्थाबाटै पनि लाग्न सक्छ । तर, यो भनेको एकदमै कम हुने कुरा हो ।

जब छोरी जन्मिन्छ त्यसपछि शरीरको विकासक्रममा केही असर देखिन सक्छ । ५ लाख महिलामा १ जनाको पाठेघरको विकास भएको हुँदैन । ५० हजारमा १ जनाको योनीकै विकास भएको हुँदैन । यो समस्या कुरा हो ।

सेतो पानी बग्ने

सेतो पानी बग्ने समस्या पछिल्लो समयमा धेरै नेपाली महिलामा देखिएको छ । यो समस्याका धेरै कारण छन् । स्वास्थ्य जाँचपछि मात्रै समस्याको कारण पहिल्याउन सकिन्छ । सेतो पानी बग्ने प्रमुख कारण योनी र पाठेघरमा हुने संक्रमण नै हो । एकभन्दा बढी व्यक्तिसँग असुरक्षित शारीरिक सम्बन्ध राख्ने महिलामा यो समस्या बढी देखिन्छ । यौनांग सरसफाइमा ध्यान नदिँदा पनि संक्रमणको खतरा रहन्छ । मधुमेह रोग लागेका महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । पाठेघरमा क्यान्सर भएको छ भने पनि यस्तो समस्या हुन्छ ।

पिल्स खाने महिलामा र गर्भावस्थामा सेतो पानी बग्नु भने सामान्य अवस्था हो । यो अवस्थामा उपचारको आवश्यकता पर्दैन । गर्भवती महिलामा इस्ट्रोजन हर्मोन बढी हुने भएकाले सेतो पानी बग्छ । तर, गन्हाउने र यौनांग चिलाउने भयो भने उपचार गराउनुपर्छ ।

यौनांग चिलाउने

योनीमा हुने इन्फेक्सनका कारण चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको मुखमा क्यान्सर भयो भने पनि योनी चिलाउँछ । पाठेघरभित्र र योनी बाहिर क्यान्सर भयो भने योनी चिलाउँछ । असुरक्षित यौनसम्पर्क पनि यो समस्याको एक प्रमुख कारण हो ।

महिनावारी गडबडी

स्वास्थ्यमा कुनै समस्या नहुँदा पनि कहिलेकाहीँ महिनावारीमा गडबडी हुन्छ । महिनावारी गडबडी विशेषगरी १९ देखि ४९ वर्ष उमेरका महिलामा देखा पर्छ । यो उमेरमा बढी रगत जाने, महिनावारी एक्कासी बन्द हुने समस्या देखा पर्छ । पाठेघरमा क्यान्सर हुँदा, अण्डासयमा ट्युमर हुँदा पनि धेरै रगत जाने र महिनावारी रोकिने हुन्छ । पाठेघरको मुखमा क्यान्सर भएका तथा थाइराइडले सताएका महिलामा पनि रगत बढी जाने हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाइदिने पनि गर्छ ।

१० देखि १८ वर्षको उमेरमा महिलामा धेरै समस्या आउन सक्छ । महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तश्राव बढी हुने र महिनावारी गडबढी हुने हो । यो कुराको जनचेतना निकै कम छ । यस्तो बेलामा दुई थरिका मान्छे भेटिन्छन् ।

एकथरिले सानो कुरा भयो भने चिकित्सक कहाँ आइहाल्ने अर्को धेरै ठूला–ठूला समस्या आउँदा पनि चिकित्सक कहाँ नआउने ।

अहिले ९ वर्षमै पनि महिनावारी हुन थालेको छ । योसँग सम्बन्धित समस्याहरू छन् । कसैको धेरै रगत जाने हुन्छ, जसले गर्दा रक्तअल्पता हुन्छ । यहीबेलामा बच्चाहरूले धेरै खाना नखाइदिने, स्कुलको समय नमिल्ने, आमाबाले दिएको खाना नखाइदिने र जंक फुड खाइदिने समस्या छ ।

पाठेघरको ट्युमर

शरीरमा हर्मोनको मात्रा बढी भयो भने पाठेघरमा ट्युमर हुन्छ । यो समस्या जेनेटिक पनि हुन्छ । आमाको पाठेघरमा ट्युमर छ भने छोरीलाई पनि हुने सम्भावना रहन्छ । परिवार नियोजनको साधन डिपो सुई लिने महिलाले यसमा विशेष ध्यान दिनुपर्छ ।

जब केटी मान्छेले शारीरिक सम्पर्क सुरू गर्छिन्, एचपिभी भन्ने भाइरसले गर्दा क्यान्सर रोग लाग्ने खतरा पनि बढ्दै जान्छ । अहिले एचपिभीको भ्याक्सिन पनि छ । सरकारले निःशुल्क दिने भनेको छ । तर, हरेकको पहुँचमा पुगिसकेको छैन ।

रोगबाट बच्नका लागि यो भ्यक्सिन लगाउनुपर्छ । पाठेघरको स्किन टेष्ट गर्दा पनि यो रोग पत्ता लाग्छ । सुरूमै उपचार भयो भने रोग निको हुन सक्छ जसले गर्दा पाठेघरको मुखको क्यान्सरबाट महिलाको मृत्यु हुँदैन । नेपालजस्ता देशहरूमा महिलाको मृत्युको प्रमुख कारण यो रोग हो । विकसित मुलुकमा महिलाहरूलाई लाग्ने सबभन्दा खतरनाक रोग स्तन क्यान्सर हो ।

पाठेघर तल झर्ने

पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु, सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदै आमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ । यस्तो बेला पाठेघरलाई सपोर्ट गर्ने लिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ ।

धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौं काम गर्दा, पाठेघरमा ट्युमर हुँदा पाठेघर झर्ने हुन्छ । पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ ।

अस्थायी साधनको गलत प्रयोग

परिवार नियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवापुस्ताले गर्भपतनका औषधिलाई परिवार नियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ । यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ । निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ ।

इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् । परिवार नियोजनका साधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने बिरामी धेरै छन् ।

महिलाको गर्भ हुन्छ, गर्भसँग सम्बन्धित विभिन्न जटिलताहरू छन् । त्यस्तै परिवार नियोजनको साधनको प्रयोग नगरदिने ठूलो समस्या छ । असुरक्षित यौन सम्पर्कको कारणले असुरक्षित गर्भपतन रोकिएको छैन । कानुनले गर्भपतन मान्यता दिइसकेको भएपनि गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा प्रयोग भइरहेको छ । औषधि पसलबाट सिधै गर्भपतका औषधि किनेर खाइदिने गरेका छन्, जसले गर्दा कतिले ज्यान पनि गुमाउन परेको छ । अर्कोतिर परिवार नियोजनको साधन प्रयोग नगर्ने समस्या आएको छ ।

अन्य समस्या र यसका रोकथाम

महिनावारी सुक्ने समयमा पनि स्वास्थ्यमा असर देखिन्छ । पाठेघरमा ट्युमर पलाउनेदेखि लिएर ओभरीको क्यान्सर सबैबाट बच्ने उपाय भनेको नियमित रूपमा स्वास्थ्य जाँच गराउनु हो ।

त्यसबारेमा जनचेतना हुनुपर्छ । सबै सुविधा सहर केन्द्रित भएका छन् । फोहोर वातावरण, खाना र पानीले महिला पुरुष सबैलाई असर गरेको छ । तर, पनि महिलाको पहुँचमा स्वास्थ्य सेवा कम छ ।

स्वास्थ्य सेवा पनि महँगो छ । हरेक स्वास्थ्य सेवा लिन कठिन छ । बिरामीको भीड अनुसारको चिकित्सक छैन । सुधार्नुपर्ने कुरा त हुन्छ तर व्यवहारमा लागू भएको छैन ।

चिकित्सकहरूले पनि बिरामीलाई राम्रो व्यवहार गर्दैनन् । यसमा चिकित्सकको मात्रै दोष पनि छैन । किनकी एउटा चिकित्सकले बिरामी जाँच्न भ्याएको छैन भने उसले कसरी रोकथाम र जोगिनका लागि काउन्सिलिङ गर्न सक्छ ?

यसलाई सम्बोधन गरेर जान सकियो भने महिलाको स्वास्थ्यमा सुधार आउन सक्छ । महिला स्वस्थ भयो, सुखी भयो भने विकसित देशका लागि आधार तयार हुन्छ । यस्तो भएमा महिलाबाट जन्मिने छोरी होस् या छोरा होस् स्वस्थ हुने थियो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ