२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्क्रबको बढ्दो जोखिम : कोभिड–१९ भनेर नझुक्किनुस् स्क्रब टाइफस पनि हुन सक्छ

स्क्रबको बढ्दो जोखिम : कोभिड–१९ भनेर नझुक्किनुस् स्क्रब टाइफस पनि हुन सक्छ


स्क्रब टाइफस माइट भन्ने किराबाट मानिसमा सर्ने एक प्रकारको सरुवा रोग हो । तर, यो एक मानिसबाट अर्को मानिसमा भने सर्दैन । यो एक किसिमको ब्याक्टेरियल इन्फेक्सन भएर हुने रोग हो । यो रोग जुनसुकै उमेरवर्गलाई पनि देखिने गर्छ ।

‘ओरिन्सिया सुसुगामुसी’ जीवाणुले संक्रमित किराको टोकाइबाट सर्ने टाइफस रोग नेपालमा सन् २०१५ पछि मात्रै देखिन थालेको हो । सन् २०१७ सम्म आइपुग्दा १ हजार २ सय ३९ केसहरु पुष्टि भएको तथ्यांकले देखाउँछ ।

त्यसपछि २०७६ साउनदेखि कार्तिकसम्ममा ६३वटा जिल्ला यसको संक्रमण देखिएको थियो। त्यसपछि संक्रमितको संख्या १ हजार २ सय ७१ पुगेको छ  । दशैँ पश्चात टाइफसको मृत्युदरबारे तथ्यांक सार्वजनिक गर्ने तयारी रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जनचेतनाको अभावका कारण कतिपय व्यक्ति यो रोगबाट ग्रसित भएर समयमा रोगको पहिचान नभई सही उपचार नपाउँदा ज्यान समेत जाने गरेको पाइएको छ । तथ्यांक हेर्ने हो भने नेपालमा सन् २०१७ मा मात्रै ८ जना संक्रमितको मृत्युसमेत भैसकेको छ ।

करिब ४ साता अघि भारतको उत्तर प्रदेशमा अनौठो ज्वरो देखियो र मृत्युदर पनि बढ्यो भन्ने खबर थियो । त्यसलगत्तै यसको केस नेपाल पनि देखिएको छ ।

गत असार र साउनमा बाजुरा जिल्लामा २ सयभन्दा बढी स्क्रब टाइफसका केस देखिएको थियो । हालै पनि यसको संक्रमण बढ्दो देखिएको छ । अहिले पनि २ जना टाइफसका बिरामी निजामती अस्पतालको भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था आयो ।

स्क्रब टाइफसका सामान्य लक्षण

  • ज्वरो आउने
  • जीउ, हात खुट्टा दुख्ने
  • टाउको दुख्ने
  • शरीरको सबै भाग दुख्ने
  • आँखाका नानी दुख्ने आदि हुन् ।

गम्भीर लक्षण

  • शरीरका मुख्य अंगले काम गर्न विस्तारै छाड्नु,
  • किड्नी, फोक्सो, कलेजो र मस्तिष्क ड्यामेज गर्ने,
  • शरीरभित्र–भित्रै रक्तस्राव गराउने,

कोभिड–१९ र टाइफसको मिल्दोजुल्दो लक्षण

एकतर्फ कोभिड–१९ महामारीले विश्व आक्रान्त बनाइरहेको अवस्था छ भने अर्कोतर्फ स्क्रब टाइफसको संक्रमणका केसहरु पनि भेटिएका छन् । जसले मानिसलाई झनै अन्यौलमा पारेको छ । किनभने यी दुवैको लक्षण धेरै मिल्दो–जुल्दो छन् । जस्तै : दुवै संक्रमितमा टाउको दुख्ने, ज्वरो आउने, शरीर कमजोर हुने लक्षण देखिन्छ ।

जसकारण मानिसले ज्वरो आउँदा पिसिआर टेस्ट गराउने देखिएको छ । तर, विज्ञहरुले यदि कसैलाई सम्बन्धित लक्षणहरु देखिएमा स्क्रब टाइफसको परीक्षण गर्नुपर्ने सुझाएको छन् । किनकी दुवैबीच लक्षणहरू धेरै मिल्ने भएकाले परीक्षण नगरी रोगको पहिचान गर्न कठिन हुने गर्छ । कोभिड–१९ को पिसिआर परीक्षण जस्तै यसको पनि एन्टीबडी डिटेक्ट गर्ने र परीक्षण किटबाट परीक्षण हुने गर्छ ।

संक्रमण भएमा उपचार के त ?

यो रोग माइट किराले टोकेको १० दिनभित्रमा यसका लक्षणहरु देखा पर्छन् । संक्रमण पत्ता लाग्ने बितिकै समयमा नै उपचार भएमा यसबाट बच्न सकिन्छ ।

यसको ज्वरो आउने सुरुवाती लक्षण हो । ज्वरो आउने बित्तिकै पहिचान भै उपचारबाट रोग निर्मुल पार्न सकिन्छ । समयमा नै यो रोग पत्ता लागेन भने यसले किड्नी, फोक्सो, मस्तिष्क र कलेजोजस्ता शरीरका प्रमुख अंगहरुलाई असर गर्ने गर्दछ । यसको उपचारमा एन्टीबायोटिक औषधी र यसको सम्बन्धित लक्षणअनुसार औषधी बिरामीलाई दिइने गरिन्छ ।

यो रोग प्रायः दक्षिण एसियाली मुलुकका गाउँहरुमा बढी देखिएको छ । इन्डोनेशिया, जापान, चीन र उत्तरी अष्ट्रेलियाली मुलुकमा बढी पुष्टि भएको देखिन्छ  ।

कसरी बच्ने ?

  • बारी, खेतमा काम गर्न जाँदा शरीर ढाक्ने कपडा लगाउने
  • घर र आफू बस्ने ठाउँ वरपरको सरसफाइमा ध्यान दिने
  • घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने
  • वातावरण सफा राख्ने

केस वृद्धि हुनुमा सरकारको कमजोरी

यो रोगबारे जनमानसमा चेतनाको अभाव छ । जसले गर्दा मानिसहरुमा लक्षण देखिएपनि कोभिड होला भनेर आफै अनुमान गरी पहिचान गराउन नगइ मृत्युको जोखिम लिइरहेको अवस्था छ । यसमा सरकारको भूमिका पनि फितलो रहेको देखिन्छ । किनभने, वर्षेनी केसहरु देखिरहँदा पनि सरकारले यसबारे खासै चासो दिएको नदेखिएको अवस्था छ ।

सरकारले यो रोगबारे सचेतना दिन आमसंचार माध्यमबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने देखिन्छ । यसको साथसाथै स्थानीय तहमा पनि यस रोगबारे जनस्वास्थ्यविद्ले पनि आफ्नो जिल्लामा फैलिएको केस बारे जानकारी लिनेदेखि निर्मुल कसरी पार्ने भन्ने कुरामा ध्यान दिनु पर्ने देखिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ