२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यवर्ड फ्लू हुँदा देखिन्छन् यस्ता ८ लक्षण, कसरी बच्ने ?

वर्ड फ्लू हुँदा देखिन्छन् यस्ता ८ लक्षण, कसरी बच्ने ?


काठमाडौं—पूर्वी नेपालको मोरङमा केही ठाउँमा बर्ड फ्लू देखिएपछि सरकारले उक्त क्षेत्रलाई वर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिसकेको छ । काठमाडौं र चितवनमा पनि वर्ड फ्लू पुष्टि भएका खबरहरु आइरहेका छन् । उच्च घातक मानिने वर्ड फ्लूको संक्रमणबाट मानिसको ज्यान नै जान सक्ने भएकाले चिकित्सकहरुले यसमा सचेतता अपनाउन आग्रह गरेका छन् ।

टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनः कोभिड—१९ को महामारी जारी रहेका बेला यसका लक्षण पनि मिल्दा—जुल्दा हुने भएकाले थप सर्तकर्ता अपनाउन आवश्यक रहेको बताउँछन् । ‘अहिले कोभिड—१९ महामारी चलिरहेको छ । यस्तो बेलामा वर्ड फ्लू देखिदा अलमलमा पर्ने सम्भावना हुन्छ किनभने वर्ड फ्लूका लक्षणहरु पनि कोभिडसँग मिल्दाजुल्दा हुन्छन् ।’

उनकाअनुसार वर्ड फ्लू हुँदा फ्लूमा देखिने लक्षणजस्ता लक्षणहरु देखिन्छन् । वर्ड फ्लु संक्रमण हुँदा उच्च ज्वरो, खोकी लाग्नु, घाँटी दुख्नु, नाक थुनिनु, पानी बग्नु, जिउ दुख्ने, छाती दुख्ने र कहिलेकाही पखाला लाग्ने पनि हुन सक्छ । यसले तीब्र गतिमा श्वासप्रश्वासमा समस्या पनि सिर्जना गर्न सक्ने डा. पुनले बताए ।

नेपालमा बर्ड फ्लू देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सतकर्ता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वर्ड फ्लू हुँदा निम्न लक्षण देखिने उल्लेख गरेको छ ।
—ज्वरो आउनु
—श्वास फेर्न गाह्रो हुनु
—थकित महसुस हुनु
—घाँटी, पेट र मांसपेसी दुख्नु
—खोकी लाग्नु
—वान्ता हुनु
—पखाला लाग्नु
—निमोनिया हुनु

कसरी बच्ने ?

डा. पुनकाअनुसार वर्ड फ्लू मान्छेमा सरेको रियर केसहरु मात्रै छन् । त्यसकारण एचफाइभएनवान भाइरसबाट सर्ने यो रोग पंक्षीहरुबाट बढी सर्ने सम्भावना हुन्छ । जसका कारण कुखुरालगायतका पंक्षी पालक, उक्त पंक्षीहरु ढुवानीमा संलग्न व्यक्तिहरु, विक्री वितरण गर्नेहरु, वधशालामा काम गर्नेहरु बढी जोखिममा रहन्छन् । जसका कारण ती ठाउँमा काम गर्नेहरुले मास्क, पन्जा लगाउने र राम्रोसँग साबुन पानीले हात धुने काम गर्नुपर्ने उनी बताउँछन् ।

—पंक्षीजन्य काममा रहनेले जैविक सुरक्षा अपनाउने
—पंक्षीजन्य काम गर्दा हातमा पन्जा, मुखमा मास्क लगाउने र खुट्टामा बुट लगाउने
—साबुन पानीले राम्रोसँग हात धुने
—काग, परेवाजस्ता पंक्षीहरु मरेका छन् भने हातले नछुने सम्बन्धित निकायलाई खबर गर्ने
—मासु राम्रोसँग पकाएर खाने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ड फ्लू नियन्त्रण र रोकथामका लागि निम्न उपाय अपनाउन भनेको छ :

बर्ड फ्लूको शंका लागेमा नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा पुग्नुपर्छ । डा. पुनकाअनुसार वर्ड फ्लु भए नभएको पत्ता लगाउन पिसिआर परीक्षण गर्नुपर्छ । ‘वर्ड फ्लू भए नभएको थाहा पाउन पिसिआर परीक्षण गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, कोभिड—१९ को भन्दा यसको रिएजेन्ट अलि फरक हुन्छ ।’


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ