२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्यान्सर बिरामीले उपचारमा संलग्न डाक्टरसँग राख्नैपर्ने १२ जिज्ञासा

क्यान्सर बिरामीले उपचारमा संलग्न डाक्टरसँग राख्नैपर्ने १२ जिज्ञासा


‘तपाईंलाई क्यान्सर भएको छ’ आफ्ना चिकित्सकका मुखबाट हामीले कहिल्यै पनि सुन्नै नचाहने वाक्य हो यो । यी शब्दहरु सुन्न अधिकतम बिरामी तथा आफन्त तयार भएर बसेका हुँदैनन् । यी शब्दहरु कानमा पर्ने बित्तिकै बिरामी तथा परिवारजनका लागि एक असामान्य परिस्थिति सिर्जना हुन जान्छ । वर्तमान समयसम्म आइपुग्दा अधिकतम क्यान्सरहरुको सम्पूर्ण उपचार सम्भव भएतापनि लामो समयदेखि समाजमा क्यान्सरको निदानसँग जोडिएको त्रास तथा निदान पश्चात् आइपर्ने नयाँ मेडिकल टर्मिनोलोजीको बाढीले स्थितिलाई अझ प्रतिकूल बनाइदिन्छ ।

तत्पश्चात गर्नुपर्ने थप चिकित्सकीय प्रक्रिया, आफ्नो  रोगको उपचारका पद्धति र विकल्पहरु के–के हुन तथा आफ्ना लागि कुन चाहिँ सर्वोत्तम हो भन्ने निर्णय लिनुपर्ने दबाब सबैसामु आउन जान्छ । क्यान्सरको निदानपछि रोगलाई निर्मूल पार्ने प्रक्रियामा तपाईं–तपाईंका परिवारजन तथा चिकित्सक बीचको सम्बन्ध र सूचनाको आदान–प्रदान निकै महत्वपूर्ण हुन जान्छ ।

चिकित्सक पनि सामान्य मनुष्य भएकाले कतिपय अवस्थामा स—साना कारणहरु जस्तैः स्वास्थ्य संस्थामा बिरामीको भारी चाप, तपाईं–तपाईंका परिवारजनको भावनात्मक परिस्थिति, उपयुक्त वातावरणको अभावजस्ता कुराले गर्दा सबै कुरा खुलस्त भन्नमा बाधा पर्न सक्छ । तसर्थ, तपाईंका मनमा भएको कुनै पनि प्रश्न सानो वा तुच्छ नठानी चिकित्सक सामु राख्नु उपयुक्त हुन्छ ।

विभिन्न अध्ययनका अनुसार पनि क्यान्सरको उपचारमा रोग र उपचार प्रक्रियाका बारेमा असल जानकारी राख्ने बिरामीको उपचारमा आउने सकारात्मक प्रतिफलमा पनि वृद्धि हुन गएको पाइएको छ । यसर्थ, क्यान्सरको निदान भएपछि आफ्ना स्वास्थ्यकर्मी, चिकित्सकसँग आफ्नो रोग र उपचारबारे जान्न–बुझ्न निम्न बुँदाहरुले सहयोग गर्न सक्छन् ।

१. मलाई कस्तो खालको क्यान्सर भएको हो । वर्तमानमा यो कुन चरणमा (स्टेज र ग्रेड) छ र यो कतिको गम्भीर हो?

२. यसका सम्भावित कारणहरु के हुन सक्द्छन्?

३. मलाई देखा परेका लक्षणहरु र प्रारम्भिक जाँचहरुले कुनै अरु रोगतर्फ पनि इंङ्गित गर्छन् कि? साथै, उपचार सुरु गर्नुअघि थप अरु कुनै जाँच गर्न आवश्यक छ वा छैन?

४. मलाईं देखा परेको क्यान्सरको प्रकार र चरणको उपचार पद्धति र विकल्पहरु के–के हुन् ?

५. यसमा सम्मिलित हुने उपचार टोलीमा को–को चिकित्सक र अन्य स्वास्थ्यकर्मी छन् ? साथै यस रोगको उपचारमा उहाँहरु कतिको अनुभवी हुनुहुन्छ?

६. मेरा लागि तपाईंका हिसाबले सबैभन्दा उपयुक्त उपचार के हो?

७. मेरो उपचारको उद्देश्य के हो ? अपेक्षित उपचार अवधि कति हो र यसबाट मेरो स्वास्थ्यलाभको सम्भावना कति छ?

८. मेरो उपचारसँग जोडिएका तात्कालिक असर (साइड–इफेक्ट) र लामो अन्तरालमा देखिने असरहरु के के हुन् ? त्यस्ता असरहरुबाट बच्न वा न्यूनीकरण गर्न के गर्न सकिन्छ?

९. उपचारका क्रममा सकारात्मक प्रभाव पु¥याउन आफ्नो जीवनशैली र आहारमा के कस्तो विशेष ध्यान दिनपर्ने हुन्छ?

१०. अहिले निर्धारित उपचार सकिएपछि के, कसरी र कहिले–कहिले चिकित्सकसँग भेटनुपर्ने हुन्छ र के कस्ता जाँच कहिले–कहिले गर्नुपर्ने हुन्छ? साथै, क्यान्सर पुनः दोहोरिएमा कसरी सकेसम्म चाँडो पहिचान गर्न के–कस्ता कुरामा ध्यान दिनपर्ने हुन्छ?

११. उपचारका क्रममा के कस्ता आर्थिक, मानसिक तथा भौतिक सहयोग प्राप्त हुन सक्दछन् ?

१२. मेरा नजिकका नातेदारहरुमा पनि यो रोग देखिने सम्भावना के–कस्ता छन् र यसका लागि के मैले उनीहरुलाई सचेत गराउन जरुरी छ?

चिकित्सकसँगको पहिलो वा एकै भेटमा उपयुक्त सबै प्रश्नहरु बारे चर्चा गर्नु समयसीमाका तवरले साथै तपाईले सबै सम्झिने दृष्टिकोणले पनि उपयुक्त नहुन सक्छ । तसर्थ, आफ्नो उपचारका दौरान क्रमबद्ध रुपमा आफ्ना चिकित्सक र अन्य स्वस्थ्यकर्मीसँगको सम्बन्ध विकसित हुँदै गर्दा यी बुँदाहरुबारे चर्चा गर्न सक्नुहुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ